पोखरा/ कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि दुव्र्यवहार नगरिएको प्रष्टिकरण दिएको छ । सामाजिक सञ्जालमा रविमाथि प्रहरीले अदालतमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएकोजस्ता सामग्री आएसँगै कास्की प्रहरीले सो प्रष्टिकरण दिएको हो ।
कास्की प्रहरीका सूचना अधिकारी एवं लामिछानेका अनुसन्धान अधिकृत डीएसपी वसन्तकुमार शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका विषयप्रति ध्यानाकर्षण भएको र ती सबै सूचना मिथ्या रहेको बताएको हो । प्रहरीले हुँदै नभएका झूटा समाचारबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने भन्दै मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचनाको सम्प्रेषण गर्न, गराउन पनि अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा गत कार्तिक ८ गते रविलाई म्याद थप्न अदालत लैजाँदा प्रहरी कर्मचारीले अभद्र व्यवहार गरेको बाहिर सम्प्रेषित भएको थियो ।
रविसहित सहकारी ठगीमा पक्राउ परेकालाई ८ गते ७ दिनका लागि म्याद थपिएको छ । रविमाथि सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि पक्राउ उर्जी जारी गरेको छ । प्रहरीले अनुसन्धानका लागि रविलाई रुपन्देही लैजाँदै छ ।





