पोखरा / उपल्लो मुस्ताङको लोमन्थाङस्थित कोरला नाकामा बुधबारदेखि अध्यागमन कार्यालय खुल्ने भएको छ । लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकामा स्थापित अध्यायगमन कार्यालयको कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने तय भएको मुस्ताङका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
‘अर्को निर्णय भएन भने कात्तिक १४ गते बुधबार बिहान कोरला नाकामा स्थापित अध्यागमन कार्यालयको गृहमन्त्रीज्यूबाट उद्घाटन गर्ने तयारी भइरहेको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘कोरला नाकालाई व्यवस्थित गर्न हाम्रै अवस्थाको अध्यागमन कार्यालय सञ्चालन हुँदैछ । यसबाट कोरला सुख्खा बन्दरगाहबाट हुने पारवहन सहज र व्यवस्थित हुनेछ ।’
कोरोला नाकामा निर्मित प्रिफ्याब प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोस्टसमेत स्थापना भएको छ । भवनमा दसैंअघि मात्र बिजुली र इन्टरनेट जोडिएको छ । भवन गण्डकी प्रदेश सरकारले निर्माण गरेको हो ।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले कोरला नाकामा दशगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डीपीआर) बनाएको थियो । र सोही डीपीआर कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा बिजुली र टेलिफोन तथा इन्टरनेट जोडिएको हो ।
नाकापारी चिनियाँ पक्षले भने दशगजा छोडेर आधुनिक सूचना प्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा प्रबन्धलगायतका पूर्वाधार खडा गरिसकेको छ ।
समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाका ०८० कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाकाको औपचारिक उद्घाटन गरेका थिए ।
नेपाल-चीनबीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार सुख्खा बन्दरगाहसम्म आवतजावत गर्ने खुला भए पनि कोरोला नाकामा अहिले सन् १९८१ को नेपाल–चीनबीचको व्यापार सम्झौताअनुसार मुस्ताङका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकावासीले मात्र सीमा वारपार गरी सामान किनबेच गर्दै आएका छन् । नेपाली अध्यागमन स्थापना भएपछि सबै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन् ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्डयोग्य सडक निर्माणमा ढिलाइ भइरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पिचसहित ११ मिटर चौडा स्तरमा निर्माण भइरहेको छ ।





