बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देश घुम्दै युवा, मुस्ताङमा एक महिनामै ६५ हजार बढी पुगे

देश घुम्दै युवा, मुस्ताङमा एक महिनामै ६५ हजार बढी पुगे


  • लालप्रसाद शर्मा
  • कार्तिक १७ २०८१, शनिबार

मुस्ताङ/ पोखरा महानगरपालिका–१ बगरका युवा बिशाल लामिछाने हालैमात्र मुक्तिनाथ मन्दिर परिसरमा भेटिए । मुक्तीनाथले उनलाई यति ‘मोहनी’ लगाएको रहेछकी यो उनको चौथो भ्रमण थियो । यसअघि एक्लै निस्किने लामिछानेले अहिले भने परिवारका सदस्यहरु पनि लिएर गएका थिए । ‘मुक्तिनाथ क्षेत्र भनेको भरपुर इन्जोय हुने ठाउँ भएकाले म जति पटक पनि आउन चाहन्छु’, पोखराकै एक माविमा आइटी शिक्षकसमेत रहेका लामिछानेले भने, ‘म धार्मिक मान्छे पनि हुँ, साथै घुमफीरमा रमाउने पनि ।’ उनले पहिला देश दर्शन अनिमात्रै विदेश जाने आफ्नो सोंच रहेको बताए ।

यतिबेला हिमालपारीको मुस्ताङको मुक्तिनाथ मन्दिर मात्र होइन, उपल्लो मुस्ताङको लोमन्थाङ, कोरला नाका, सदरमुकाम जोमसोम बजार, दुम्बा ताललगायत स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आन्तरिक पर्यटकहरुमा अधिकांश युवा रहेका छन । काठमाडौंबाट आएका अमित श्रेष्ठ चीनसंगको सीमाना कोरला नाकामा भेटिए । ‘देश दर्शन’ का लागि भन्दै उनी मुस्ताङ भ्रमणमा निस्किएका थिए । ‘हिमाली प्राकृतिक वातावरणले मोहित बनायो’ उनले भने, ‘सुनेको भन्दा देखेको राम्रो हुँदोरहेछ । घुम्ने बानीले देश चिन्ने मौका मिल्यो ।’

कुनै समय थियो, घरबाट बाहिर ननिस्कने र डुल्न पनि मन पराउदैनथे थुप्रै नेपाली । तर यतिबेला भने शहरीकरणमा बसेर अत्तालिएका युवापुस्ता गाउँठाउँ घुमेर रमाउन थालेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा पर्याप्त प्रचार, होटल संख्यामा बृद्धिसंगै स्वागतसत्कार, भौगोलिक अवस्था र गाउँको कला, संस्कृति बुझ्न नेपालीमा घु्म्ने बानीको बृद्धि हुन थालेको हो । बिदा तथा चाडबाडका बेला घरमा बसेर समय खेर फाल्नु भन्दा घुमफिरमा आकर्षित हुने गरेका हुन् उनीहरु । लामो समयपछि भेटभएका साथीभाई, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी पनि घुम्नेमा छन् । गर्मी घट्दै गएर चिसो बढ्न थाल्ने यो सयम घुमफीरका लागि उपयुक्त हुन्छ । आमा समुह, क्लब, सहकारी संस्थाका प्रतिनिधि पनि जम्बो टीमसहित मुस्ताङ घुम्न जाने गरेका छन् ।

जता हे¥यो उतै हिमश्रृंखला । नाङ्गा डाँडा भए पनि प्राकृतिक सौन्दर्यता उस्तै लोभलाग्दो । बालुवाको थुप्रो अर्थात् मरुभूमीजस्तो । ‘यो सौन्दर्यताले म निकै प्रभावित भए’, उपल्लो मुस्ताङ घुमेर फर्किने क्रममा सदरमुकाम जोमसोम बजारमा भेटिएकी पोखराकै रचना गुरुङले भनिन, ‘यति राम्रो ठाउँ अन्यत्र कतै छैन होला । जतिपटक आए पनि धित् नमर्ने रहेछ ।’ उनले आफ्नै देशभित्रको रमणीय स्थान घुम्न आफुजस्तै युवापुस्तालाई सल्लाह दिइन् ।

यतिबेला सार्वजनिक सवारी, मोटरसाइकल, जीप, भ्यान र बससमेत रिजर्भ गरी मुस्ताङ घुम्नेको लर्को नै लागेको छ । मुस्ताङमात्र नभई मनाङ, थोराङपास, तिलिचो ताल घुम्न जाने पनि उत्तिकै छन । हिमश्रृंखलादेखि नदीनाला, वनस्पति र दुर्लभ जीवहरुको विविधताले भरिएको पदयात्राका लागि विशेष गरी विदेशी पर्यटकको रोजाईमा पर्ने यी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको पनि रोजाईको गन्तव्यमा पर्न थालेका हुन् । ‘नघुमी देश चिनिदैन’, चितवनबाट आएका राजु सापकोटाले भने, ‘त्यही भएर मुस्ताङ घुम्न आएको ।’

नजिकै देखिने अन्नपूर्ण, धौलागिरी निलगिरी, हिमाल । कालीगण्डकी नदी, गर्ज (गल्छी) देखि हिन्दु र बौद्ध धर्मावलम्बीहरुको संगमस्थल मुक्तिनाथ, म्याग्दीको गलेश्वर मन्दिर, रुप्से छहरा, अजंगका पहराले मन पुलकिंत हुने घुमन्तेको भनाई छ । लोभलाग्दा स्याऊका बगैचा, तातोपानी कुण्डले पनि यात्रा रोमाञ्चकारी हुन्छ । बिश्वासै गर्न नसकिने भुदृश्यले स्वर्गै होकी भन्ने भान हुने सापकोटाको भनाई छ ।

यातायातको पहुँच, खान बस्नको सुविधा, कम खर्चिलो आदिले पनि यस क्षेत्रमा युवापुस्ता आकर्षित भएको हो । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले हिमाली क्षेत्रको प्राकृतिक सुन्दरता, हिमाली भुदृश्य, आफैले स्याउ टिपेर खान पाउने, सिमसार, धार्मिक क्षेत्रजस्ता कारणले आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको बताए । ‘उपल्ल्लो मुस्ताङ पुगेपछि अर्कै क्षेत्रमा पुगेजस्तो अनुभूति हुने भएकाले पनि नेपालीहरु आकर्षित भएका हुन्’ रेग्मीले भने, ‘यातायातमो सहज पहुँचका कारण चीन सिमाना (कोरला नाका) पुग्न पाउने भएकाले पनि आकर्षण बढेको हो । मुस्ताङ प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीका अनुसार असोज १७ देखि कात्तिक १६ गतेसम्मको एक महिनाको अवधिमा म्याग्दी सीमाको घासाबाट १५ हजार २ सय ६६ विभिन्न सवारी साधन मुस्ताङ भित्रिएका छन् । तिनमा ६५ हजार २ सय ६१ जना मुस्ताङ आएको उनले बताए ।

अन्नपुर्ण क्षेत्रमा सडक यातायातको पहुँचसंगै पदमार्ग खुम्चिएको छ । तर यातायात सेवाले आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ । काठमाण्डौ, पोखरा, चितवन, बुटवललगायत देशका विभिन्न क्षेत्रबाट उल्लेख्यमात्रामा आउने गरेका छन । अन्नपूर्ण क्षेत्रका घान्द्रुक, घोरेपानी, घलेगाउँ लगायत स्थानमा घुम्न जानेको संख्या पनि उल्लेख्य छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->