मुस्ताङ / नेपाल-चीन उत्तरी कोरलानाकामा चीन पक्षले नेपाली पक्षका लागि टाइमकार्ड लगाएको छ। उपल्लो मुस्ताङस्थित २ गाउँपालिका तथा अन्यले चीनको तिब्बती भूमि लिग्जेमा जान चीन पक्षको समय कार्यतालिकाअनुसार चल्नुपर्ने बाध्यता छ।
गत कात्तिक २७ गते चीन पक्षले कोरलानाकाको तिब्बती भूमि लिग्जेमा नेपाल पक्षका प्रशासनिक तथा जनप्रतिनिधिहरूको उपस्थितिमा भव्यरूपमा तामझामका साथ कोरलानाका खुला गरिएको उद्घोष गरिएको थियो। नाकाको लिग्जेमा चीन पक्षले नेपाल पक्षका नागरिक तथा व्यापारीहरूलाई लक्षित गरी ब्यापारिक प्रतिष्ठानसमेत खडा गरेको छ। त्यहाँ पुगेर किनमेल गर्न नेपाल पक्षका नागरिकलाई सुरुवाती चरणबाटै चीन पक्षले टाइमकार्ड लगाउँदै आइरहेको छ।
चीनले लगाएको टाइमकार्डअनुसार प्रत्येक दिन विहान ९ बजेभित्र चीनको तिब्बती भूमि लिग्जेमा प्रवेश गरिसक्नुपर्छ। उक्त समयभित्र चीनको भूमिमा पसेका नेपाल पक्षका नागरिकहरू दिउँसो ३ बजेपछि मात्रै फर्किन पाउँछन्। जिल्ला प्रशासनले जारी गरेको सीमापार पासका आधारमा चीन पक्षले नाकामा प्रवेश अनुमति दिने गर्छ।
यसरी नाकाको गेटमा पास देखाएर प्रवेश गरेका नेपाल पक्षका नागरिकहरूलाई चिनियाँ अध्यागमनमा कडा चेकजाँच गरी प्रवेश गराइन्छ। बिहान ९ बजे चीनको भूमि लिग्जेमा छिरेका नेपाल पक्षका नागरिकहरू किनमेलको काम सकिए पनि करिव ६ घण्टा बढी त्यही रोकिएर बस्नुपर्ने अवस्था छ।
चीन पक्षले प्रत्येक दिन बिहान ९ बजेपछि नेपाल पक्षका नागरिकलाई जिल्ला प्रशासनले वितरण गरेको सीमापार देखाए जान दिँदैन। नाकाको चीनको भूमि लिग्जेमा तुरुन्तै सामान किनेर फर्किन चाहने नेपाल पक्षका नागरिकलाई यसप्रकारको टाइमकार्डले निकै असहज तुल्याएको छ।
कोरलानाकामा चीनको भूमि लिग्जेमा उपल्लो मुस्ताङ नागरिकहरूले पनि विहान ९ देखि ३ बजेसम्म ब्यापार व्यवसाय चलाएर बस्छन्। नाकाको नेपाली भूमि कोरलामा पनि एक दर्जन उपल्लो मुस्ताङीले त्रिपाल टाँगेर ब्यापार व्यवसाय चलाएका छन्। नाकामा सीमापारि पुगेर नेपाल पक्षका नागरिकले आफ्ना क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने गरेको पाइन्छ। नाका अवलोकन गर्ने आन्तरिक पर्यटकहरूले कोरलानाकामा चिनियाँ सामान किन्न पाइने सुविधा छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिब २ हजार ५ सय जना नागरिकलाई चीन जाने सीमापार पास वितरण गरिसकेको छ। तल्लो मुस्ताङका केहीले पनि स्थानीय तहका समन्वयमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले सीमापार पास वितरण गरेको छ।





