
पोखरा / गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ राख्ने कसम खाएर हिडेका गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले तिहार विदालाई पनि प्रदेशवासीको हितमा उपयोग गरेका छन् । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काममा जुटेका मन्त्री पाठकले आफ्नै प्रदेशको बलवुताबाट मात्रै समग्र गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारको काम गर्न नसकिने निश्कर्ष निकाले । सोही निश्कर्ष अनुसार तिहार विदालाई उपयोग गर्दै मन्त्री पाठकले प्रधानमन्त्रीसंग समय मागेरै भेटे र आफ्नो कामको समग्र खाका सुनाए । उसो त पाठक आफ्नो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रिय पात्र नै हुन् । पार्टी अध्यक्षकै निर्देशनमा गण्डकी प्रदेशको सभासद र मन्त्री बन्ने अवसर पाएका हुन् । उनले यो अवसरलाई परिणाममुखी कामबाट स्मरणीय बनाउन प्रतिवद्ध भएर लागेका छन् ।
दिपावलीको अवसर पारेर प्रधानमन्त्री भेट्न काठमाडौं पुगेका पाठकले भाईटीकाको भोलिपल्टै अर्थात सोमवार प्रधानमन्त्रीबाट २ घण्टा बढि समय पाए । तिहार विदामा काठमाडौं छिरेका मन्त्री पाठकले प्रधानमन्त्रीबाट पाएको समयलाई भरपुर सदपुयोग गर्ने अवसरको रुपमा आफुले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सुरु गरेको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ओजिलो रुपमा ‘ब्रिफिङ’ गरे ।
स्वास्थ्यमन्त्री पाठकले गण्डकीको स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले एक सय नीति बनाएर अघि बढेको र आवश्यक कामका लागि केन्द्र सरकारको सहयोग चाहिएको सुनाउदा नै खुशी बनेका प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयनका लागि संघ सरकारको आवश्यक सहयोग रहने आश्वासन दिए । त्यसो त आफ्ना प्रिय पात्रलाई मन्त्री बनाउन पाएकोमा सन्तुष्ठ प्रधानमन्त्रीले उनैको मुखबाट समग्र प्रदेशमा पहिलो पटक प्रदेश मन्त्रीले दिर्घकालिन योजनासहित काम थालेको जानकारी पाउँदा खुशी थिए । त्यसमाथी पाठकले लिखित रुपमा नै एक सय वुँदासहितको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन आयोजना प्रधानमन्त्रीलाई बुझाएपछि आफै अध्ययन गर्ने अवसर पाएका प्रधानमन्त्रीले मसिने रुपमा बुझेपछि त्यस कामलाई सहयोग गर्ने प्रतिवद्धता नै जनाए । मन्त्री पाठकले भने, ‘प्रधानमन्त्री ज्यूले मसिनो रुपमा मेरा योजना पढ्नु भयो र थप गर्नुपर्ने विषयमा समेत मलाई दिशानिर्देश गर्नुभयो ।’
‘मैले समग्र गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारको लागि गर्नुपर्ने कार्ययोजना टक्राए, मध्यकालिन र दिर्घकालिन नीतिमा संघ सरकारको सहयोगको अपेक्षा गरे,’ स्वास्थ्य मन्त्री पाठकले भने, ‘उहाँले नागरिकको सेवाका लागि गरिने सवै काममा संघ सरकारको सहयोग रहने बताउनु भयो, यसले मलाई काम गर्न थप हौसला मिलेको छ ।’
माग बझुाएपछि प्रधानमन्त्री केपी ओलीसंग फोटो खिच्दै स्वास्थ्यमन्त्री कृष्ण पाठक । तस्वीरः ढोरपाटन
मन्त्री पाठकले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा तत्काल गर्नुपर्ने महत्वपुर्ण काममा प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसंग बजेटको अभाव भएका कारण प्रदेश सरकारले मात्रै गर्न नसक्ने बिषयहरु बुँदागत रुपमा प्रधानमन्त्रीसमक्ष राखेका थिए । ‘प्रधानमन्त्री ओलीले गण्डकीको स्वास्थ्य क्षेत्रको विकासमा चासो दिनुभएको छ,’ पाठकले ढोरपाटनसंग भने, ‘उहाँले नीति र विधिभित्र रहेर काम गर्न निर्देश गर्दै संघ सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिलाउनुभएको छ ।’
स्वास्थ्य मन्त्री पाठकले १२ बुँदामा संघ सरकारको सहयोग खोजेका छन् । हाल सञ्चालनमा रहेका गण्डकी आयुर्वेद अस्पताल पोखरा र धौलागिरी आयुर्वेद अस्पताल बागलुङमा अन्तरङ्ग सेवा सहित २५ शैयाको अस्पतालको रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्रीसंग अनुरोध गरेका छन् ।
त्यस्तै, प्रदेश भित्र किड्नी ट्रान्सप्लान्ट सहितको मुटु, मृगौला, क्यान्सर र वालरोग सम्बन्धी एकिकृत सेवा सहितको विशिष्टीकृत अस्पताल निर्माणको लागि पोखरा महानगरपालिका वडा नं. १६, कास्की स्थित जौवारी सिचाई विभागको २ सय रोपनी जग्गा गण्डकी प्रदेश सरकारललाई उपलब्ध गराइदिन माग राखेका छन् ।
मन्त्री पाठकले स्याङ्जा अस्पताल, दमौली अस्पताल र लमजुङ अस्पतालको भवन निर्माण गर्नको लागि चालु आर्थिक बर्षमा विस्तृत सर्वेको काम सम्पन्न हुने भएकोले आगामी आर्थिक बर्षभित्रमा भवन निर्माणका काम सक्नेगरी आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।
नीतिगत सुधारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा र प्राज्ञिक परिषदमा गण्डकी प्रदेश सरकारको प्रतिनिधित्व हुने व्यवस्थाको लागि मन्त्री पाठकले प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।
हेर्नुहोस स्वास्थ्यमन्त्री पाठकले प्रधानमन्त्री ओलीसमक्ष राखेका १२ बुँदे मागः
(१) गण्डकी प्रदेश भित्र किड्नी ट्रान्सप्लान्ट सहितको मुटु, मृगौला, क्यान्सर र वालरोग सम्बन्धी एकिकृत सेवा सहितको विशिष्टीकृत अस्पताल निर्माणको लागि पोखरा महानगरपालिका वडा नं. १६, कास्की स्थित जौवारी सिचाई विभागको २०० रोपनी जग्गा गण्डकी प्रदेश सरकारललाई उपलब्ध गराइदिनु हुन आवश्यक सहजिकरण गरिदिनु हुन ।
(२) अन्तरङ्ग सेवा सहित २५ शैयाको रुपमा हाल सञ्चालनमा रहेका गण्डकी आयुर्वेद अस्पताल, कास्की र धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिदिनु हुन ।
(३) गण्डकी प्रदेश सरकार माताहत रहेका ५० शैयाको जिल्ला अस्पतालहरु तथा स्थानीयतह अन्तर्गत सञ्चालनमा रहेका ५, १० र १५ शैयाका अस्पतालहरुको स्तरोन्नतीका लागि आवश्यक दरबन्दी तेरिज र औजार तथा उपकरणको व्यवस्थापनको लागि संघीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत आवश्यक रकम उपलब्ध गराइदिनु हुन ।
(४) प्रत्येक प्रदेशमा १०० शैयाको प्रादेशिक आयुर्वेद अस्पताल निर्माण गर्ने संघ सरकारको नीति बमोजिम गण्डकी प्रदेशमा समेत उक्त अस्पताल निर्माण गर्नको लागि पोखरा महानगरपालिका वडा नं. २६, कास्की स्थित कालिका चोक नजिक रहेको २४ रोपनी जग्गा समेत प्राप्ती भैसकेको हुँदा आवश्यक भौतिक पूर्वाधार र अस्पताल भवन निर्माणका लागि बजेटको व्यवस्था गरिदिनु हुन ।
(५) संघीय सरकार मार्फत निर्माणाधिन अवस्थामा रहेको बेनी अस्पताल, म्याग्दीको भवन २०७६ सालमा सम्पन्न हुनु पर्नेमा हालसम्म पनि उक्त भवन सम्पन्न हुन नसकेकोले त्यस तर्फ संघीय सरकारको तर्फबाट आवश्यक सहजिरकण गरिदिनु हुन ।
(६) गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा अस्पताल, दमौली अस्पताल र लमजुङ अस्पताल भवन निर्माण गर्नको लागि चालु आ.व. २०८१/०८२ मा म्एच् सम्पन्न हुने हुँदा आगामी आ.व. २०८२/०८३ मा भवन निर्माणको लागि बजेटको व्यवस्था गरिदिनु हुन ।
(७) गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालित अस्पतालहरुका लागि तत्काललाई २ वटा MRI र ५ CT Scan वटा मेसिनहरुको व्यवस्थापन गरिदिनु हुन ।
(८) प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धती तथा मेडिकल विज्ञान (आयुर्वेद, पञ्चकर्म, योग, प्राकृतिक चिकित्सा, हेल्थ टुरीजम स्पोटर्स मेडिसिन) समेतका सेवाहरूलाई एकै ठाउँबाट प्रवाह गरिने उद्देश्यका साथ गण्डकी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न पोखरा रंगशाला परिसरमा राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं नाममा रहेको ५ रोपनी ७ आना जग्गा प्राप्तीको लागि गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट मिति २०८०/१२/२१ मा निर्णय समेत भैसकेकोले सो जग्गा प्राप्तीको लागि आवश्यक सहजीकरण गरिदिनु हुन ।
(९) नेपाल सरकार र विश्व बैंक बिच २०८०/११/०६ मा १०३.८४ मिलियन अमेरीकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्वन्धमा भएको निर्णय बमोजिम नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणली कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशले प्राप्त गर्नुपर्ने रकम प्राप्तीमा ढिलासुस्ती भएकोले सो सम्बन्धमा आवश्यक सहजीकरण गरिदिनु हुन ।
(१०) आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नागरिकहरुले निशुल्क प्राप्त गर्नु पर्ने औषधी प्राप्तीमा कठिनाई भएको साथै स्वास्थ्य संस्थाहरुले विमा वापत सरकारबाट पाउनु पर्ने भुक्तानी समयमै नपाएको गुनासाहरु नागरिक स्तरमा व्याप्त रहेकोले सो सम्बन्धमा नेपाल सरकारको तर्फबाट आवश्यक सहजिकरण गरिदिनु हुन ।
(११) नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८०/११/०६ गते भएको “स्थानीय तह मातहत रहेका आँपपिपल अस्पताल, गोरखा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बागलुङलाई ५० शैयाको अस्पतालमा स्तरोन्नती गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने । निर्णय बमोजिम आँपपिपल अस्पताल र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरोन्नती गरी ५० शैयाको लागि आवश्यक पर्ने जनशक्ति सहित गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आवश्यक सहजिकरण गरिदिनु हुन ।
(१२) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा र प्राज्ञिक परिषदमा गण्डकी प्रदेश सरकारको प्रतिनिधित्व हुने व्यवस्था गरिदिनु पर्ने ।





