
मुस्ताङ / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै शुक्रवार मुस्ताङ पुगे । शुक्रवार जोमसोम पुगेका बालनले मुक्तिनाथ दर्शन गरेका छन् । शुक्रबार मुस्ताङ आईपुगेका मेयर शाहले शनिबार बिहान मुक्तिनाथ मन्दिर दर्शन गरेको मन्दिरका पुजारी कृष्ण प्रसाद सुवेदीले बताए ।
मेयर शाहले बिहान करिब १० बजेतिर मुक्तिनाथ दर्शन गरेको पुजारी सुवेदीले जानकारी दिए । ‘काठमान्डौं महानगरपालिकाका मेयर सा’प यहाँ आउनु भएको थियो । उहाँले १०८ धारामा स्नान गरी टीका र आशीर्वाद ग्रहण गर्नुभयो,’ मन्दिरका पुजारी सुवेदीले भने । मेयर शाह स्वकीय सचिवलाई साथमा लिएर काठमाडौंदेखि आफैं सवारी चलाएर अनौपचारिक भ्रमणमा मुस्ताङ आइपुगेका हुन् ।
मेयर शाहले मुक्तिनाथ मन्दिर दर्शन पछि वारागुङ मुक्तिक्षेत्र ४ स्थित प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनीधामसमेत अवलोकन गरे । छठ पर्व र शनिबारको बिदा पारेर मुक्तिनाथ आईपुगेका मेयर शाह घरपझोङ गाउँपालिकाको आयोजना गरेको संक्षिप्त स्वागत कार्यक्रममा सहभागी भए ।
मेयर शाहलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली लगायतले स्वागत गरेका थिए । स्वागत कार्यक्रम संक्षिप्त भएको र मेयर शाहको कार्यव्यवस्तताका कारण अन्य विषयमा छलफल गर्न नपाएको घरपझोङका अध्यक्ष मोहनसिंहले बताए ।





