आर्नो पूलेले हिन्द महासागरमा अवस्थित सानो टापु अगालेगा कहिल्यै छोड्न चाहँदैनथे । तर आफ्नो थलोमा सैनिकीकरण भएको ठान्दै उनी त्यहाँबाट बाहिरिए ।
केही अघिसम्म पनि अगालेगामा ३५० जनाको बसोबास थियो । उनीहरू त्यहाँ माछा मार्थे र नरिवलको खेती गर्थे । मरिशसको राजधानीबाट १,१०० किलोमिटर दक्षिणमा अवस्थित उक्त टापुमा अरू खाद्यपदार्थ वर्षमा चार पटक पानीजहाजबाट ढुवानी भएर आउँथ्यो ।
चिकित्सकीय आपत्कालीन अवस्थामा बाहेक टापुमा रहेको एउटा सानो विमानस्थल हतपत प्रयोग हुँदैनथ्यो ।
सन् २०१५ मा यो सानो टापु रहेको देश मरिशसले भारतलाई यहाँ तीन किलोमिटर लामो विशाल धावनमार्ग र एउटा ठूलो पानीजहाजमा चढ्न र ओर्लिन लागि प्रयोग हुने ‘जेटी’ निर्माण गर्न दिने सम्झौता ग¥यो । समुद्री सुरक्षामा दुई देशबीचको सहकार्य बढाउने नीतिअन्तर्गत उक्त सम्झौता भएको थियो । यद्यपि अगालेगाका केही बासिन्दाहरू यसबाट पूर्ण स्तरको सैन्य उपस्थिति बढ्ने चिन्तामा छन् ।
चवालीस वर्षीय पूलेले उक्त परियोजनाविरुद्ध अभियानको नेतृत्व गरे । उनी घर मर्मतको काम गर्छन् र रेगे शैलीको सङ्गीतकार पनि हुन् ।
“म आफ्नो टापुलाई माया गर्छु र यसले पनि मलाई माया गर्छ,” उनी भन्छन् । “तर त्यो अखडा बनेपछि मलाई लाग्यो अब म यहाँबाट हट्नुपर्छ ।”
दक्षिण–पश्चिम हिन्द महासागरमा २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अगालेगाका दुई वटा टापु समुद्री आवतजावत निगरानीका लागि भारतका निम्ति एक उपयुक्त स्थान हुन सक्छ । सन् २०१९ मा लिइएका भू उपग्रह तस्बिरहरू र यो वर्ष जुलाईमा लिइएका अरू तस्बिरहरूले यहाँ कति धेरै परिवर्तन भएको छ भन्ने देखाउँछन् ।
उत्तरमा ला फोर्च र दक्षिणमा भिङ्ट्–सिन्कबीचको मेरुदण्ड जस्तो ठाउँमा धावनमार्ग सुरु हुनुभन्दा अघि पामका रूखहरू कार्पेट बिछ्याए जसरी फैलिएका छन् ।
विमान अड्याउने स्थानतर्फको धावनमार्गमा दुई वटा ६० मिटर चौडा भवनहरू देखिन्छन् । अस्ट्रेलिअन न्याश्नल युनिभर्सिटीमा विद्यावारिधि गरिरहेका स्यामुएल ब्याशफिल्डका अनुसार त्यसमध्ये एक भारतीय जलसेनाको पी–८१ विमान राख्न सकिने ह्याङ्गर हुनसक्छ ।
अगालेगामा भयो यस्तो परिवर्तन
बोइङ ७३७ मोडलको विमानलाई परिमार्जन गरेर पनडुब्बीहरूको निगरानी गर्न र आवश्यक परे आक्रमण गर्न सक्ने गरी पी–८१ विमान बनाइएको हो साथै यसले समुद्रमा हुने सञ्चारसम्पर्कहरूको निगरानी पनि गर्न सक्छ । यो टापुका बासिन्दाहरूले विमानस्थलको धावनमार्गमा रहेका बेला उक्त विमानको तस्बिर खिचेका छन् ।
टापुको उत्तर–पश्चिमी क्षेत्रमा बनाइएको नयाँ जेट्टी समुद्रतर्फ निस्किएको छ । ब्याशफिल्ड समुद्रको सतहमा गस्ती गर्ने भारतीय जहाजहरू र अगालेगामा आपूर्ति गर्ने जहाजहरूले यसको प्रयोग गर्न सक्ने बताउँछन् ।
“नयाँ भूउपग्रह तस्बिरहरू उपलब्ध भएसँगै हामीले हिन्द महासागरको सञ्चारमा अगालेगाको भूमिका अझै राम्रोसँग बुझ्न सक्छौँ,” उनी भन्छन् ।
इन्टरन्यास्नल इन्स्टिट्यूट फर स्ट्राटेजिक स्टडीजले यसलाई ‘निगरानी स्टेसन’ को रूपमा उल्लेख गरेको छ । र यसमा पनि भारत–निर्मित र मरिससमा अन्यत्र रहेका जस्तै तटीय राडार निगरानी प्रणाली हुनसक्ने बताउँछन् ।
भारत सरकारले अगालेगाबारे बीबीसीको प्रश्नमा जवाफ दिन अस्वीकार गर्दै आफ्नो वेबसाइटमा यसअघि नै राखिएका विज्ञप्तिहरू हेर्न भनेको छ । त्यसमध्ये एउटामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्द महासागर क्षेत्रमा परम्परागत र गैर–परम्परागत चुनौतीहरू सामना गर्ने मामलामा भारत र मरिसस ‘प्राकृतिक साझेदारहरू’ रहेको बताएका छन् ।
यी दुई देशहरूबीच सन् १९७० देखि नै निकट रक्षा सम्बन्ध रहँदै आएको छ । यो देशका राष्ट्रिय सुरक्षा सल्लाहकार, यसको कोस्टगार्ड प्रमुख र प्रहरी हेलिकप्टर स्क्वाड्रनका प्रमुख सबै भारतीय नागरिक र क्रमशः भारतको बाह्य गुप्तचर एजेन्सी, नौसेना र वायु सेनाका अधिकारीहरू छन् ।
लन्डनस्थित किङ्स कलेजमा इन्डिया इन्स्टिट्यूटका प्रोफेसर हर्ष पन्त दुवै पक्षले यो सुविधालाई ‘सैन्य प्रयोजनको भन्दा क्षमता विकासका रूपमा बढी’ हेर्न चाहने बताउँछन् ।
यद्यपि भारत र उसका पश्चिमी सहयोगीहरू हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिको बारेमा चिन्तित रहेको कुरा कतै छिपेको छैन । ठूला देशका लागि आफ्नो सहयोगी सानो देशमा सैन्य चौकी राख्ने कुरा असाधारण नभए पनि अगालेगामा भएको निर्माण कार्यले यो टापुका केही बासिन्दाहरूलाई समस्यामा पारेको छ ।
टापुका केही पामको ओत भएका सेतो–बालुवाका तटहरू सहितका केही क्षेत्रहरूमा अहिले नै प्रवेशमा रोक लगाइएको यहाँका बासिन्दाहरू बताउँछन् । वरपर विस्तार भइरहेका भारतीय पूर्वाधारहरूले ला फोर्चलाई पनि ढाक्ने र यहाँ बस्दै आएका १० परिवार यहाँबाट जबर्जस्ती निकालिने हल्ला अहिले यो गाउँमा चलिरहेको छ ।
‘यो पूर्ण रूपमा भारतीयहरू बाहेकका लागि प्रतिबन्धित क्षेत्र बन्नेछ,’ असोसिएसन अफ फ्रेन्ड्स अफ अगालेगाका अध्यक्ष लभाल सुप्रमनियन भन्छन् ।
उनलाई ‘अगालेगा पनि चागोस टापुहरूको कथा जस्तै’ बन्ने डर छ । यही डर २६ वर्षका घर मर्मतको काम गर्ने बिली अन्रीले पनि सुनाए । उनका बुवा अगालेकाका हुन् र आमा चागोसबाट निकालिएकी महिला हुन् ।
‘मेरी आमाले आफ्नो टापु गुमाइन्,’ अन्री भन्छन् । ‘अब मेरा बुवाको पालो आउँदै छ ।’
अगालेगाका कैयौँ बासिन्दाहरू त्यहाँबाट २,००० किलोमिटर पर पूर्वमा रहेको चागोस टापुहरूबाट निष्कासनमा परेका परिवारहरूका हुन् । यी टापुहरूलाई सन् १९६५ मा यूके सरकारले ब्रिटिश भूभाग भएको घोषणा गर्दै त्यहाँको सबैभन्दा ठूलो टापु डिएगो गार्सिआमा अमेरिकालाई सञ्चार स्टेसन निर्माण गर्न अनुमति दिएपछि उनीहरू विस्थापित भएका थिए । यो बिस्तारै पूर्ण सैन्य अखडामा परिणत भयो ।
अगालेगाको सबै जग्गाको स्वामित्व आफूसँगै राखेको र यहाँ एक मात्र रोजगारदाता रहेको मरिसस सरकारले यहाँको अवस्था निकै दयनीय बनाएर सबैलाई छोडेर जान बाध्य बनाउने हो कि भन्ने चिन्ता बिली अन्रीलाई छ ।
स्वास्थ्य सेवा र शिक्षाको समस्या, स्थानीय अर्थतन्त्रमा सीमित लगानी, रोजगारीका अवसरको अभाव र स्थानीय जनतालाई आफ्नै व्यवसाय खोल्न लगाइएको प्रतिबन्धका समस्या औँल्याउँदै उनले यस्तो चिन्ता व्यक्त गरे ।
मरिसस सरकारका एक जना प्रवक्ताले कसैलाई पनि छाडेर अन्यत्र जान नभनिने बीबीसीसँग बताए । स्थानीय मानिसहरूलाई विमानस्थल र बन्दरगाहमा प्रवेश गर्नबाट मात्रै रोक लगाइएको उनले बताए । उनका अनुसार यी संरचनाहरूले देशलाई समुद्री डकैती, लागूपदार्थको तस्करी र अनियमित माछा मार्ने कुराहरूको नियन्त्रण गर्न मद्दत गर्छ ।
मरिससले सैन्य अखडा बनाउन दिएको कुरा पनि यहाँको सरकारले अस्वीकार गरेको छ । यहाँ राष्ट्रिय प्रहरीको पूर्ण नियन्त्रण रहेको सरकारको दाबी छ । यद्यपि, भारतीय खर्चमा निर्माण गरिएका नयाँ संरचनाहरूको ‘सम्भार र सञ्चालन’मा भारतले सहयोग गर्ने मरिससले स्वीकार गरेको छ ।
मरिसस र भारतका सरकारहरू समुद्री र हवाई यातायातमा गरिएका सुधारहरू टापुवासीहरूको फाइदा र उनीहरूलाई गरिबीबाट माथि उकास्न सहयोग पुग्ने किसिमले तयार गरिएको बताउँछन् । तर स्थानीयबासीहरू दाबी गरिएजस्तो नभएको बताउँछन् । त्यहाँबाट अझै पनि प्रत्येक वर्ष मरिससको मुख्य टापुसम्म चार वटा मात्रै ‘फेरी’हरू चल्छन् र यहाँबाट कुनै पनि यात्रुवाहक उडानहरू भएका छैनन् ।
यहाँ भारत–निर्मित नयाँ अस्पतालमा आफूहरूलाई पहुँच नदिइएको अगालेगाका स्थानीयबासीहरूको आरोप छ । यद्यपी मरिसस सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका शल्यक्रिया कक्ष, एक्स–रे मसिनहरू र दन्त चिकित्सा उपकरणहरूको प्रशंसा गरेको थियो ।
उत्तरी टापुस्थति स्वास्थ्य केन्द्रमा उपलब्ध हुने भन्दा थप सहयोग आवश्यक परेका र खाना पकाउने तेलले पोलेका एकजना बालकलाई गत अक्टोबरमा यो अस्पतालमा प्रवेश नदिइएको बिल अन्री बताउँछन् ।
‘त्यो भारतीयहरूका लागि मात्रै हो !’ उनी भन्छन् ।
घाइते बालक र उनका बावुआमालाई त्यसपछि मरिससको मुख्य टापुमा विमानमार्फत् लगिएको थियो । लभाल सुप्रमन्यन ती बालक अझै अस्पतालमा रहेको र अगालेगा जाने अर्को डुङ्गाको तालिका नआएसम्म उनका बुवाआमा पनि मरिससको मुख्य टापुमै रहने बताउँछन् ।
जलनबाट पिडित ती बालकले खेपेको पीडाबारे सोधिएको प्रश्नमा मरिसस सरकारले कुनै जबाफ दिएन । भारत सरकारले पनि यसबारे प्रतिक्रिया दिन अस्वीकार ग¥यो ।
मरिससको संसद्मा हालैको एक सम्बोधनमा प्रधानमन्त्री प्रविन्द जुगनोथले अगालेगाको सामाजिक–आर्थिक विकास उनको सरकारको एजेन्डामा पहिलेभन्दा उच्च प्राथमिकतामा रहेको छ ।
टापुका बासिन्दाहरूको लागि स्वास्थ्य र शिक्षा, यातायात सञ्जाल र मनोरञ्जन सुविधाहरूमा सुधारका साथै माछा मार्ने क्षेत्र र नरिवलका उत्पादनहरू बढाउन ‘गुरुयोजना’ बनाइएको उनले बताए ।
तर भारत र मरिसस दुवैले सन् २०१५ मा भएको समझदारीपत्रको विस्तृत विवरण प्रकाशित गरेका छैनन्, यसैकारण पनि त्यहाँ अविश्वासलाई बल पुग्न गएको छ र त्यहाँ उनीहरूको भविष्यको योजनाहरू पनि अज्ञात नै रहेका छन् ।





