पोखरा/ गण्डकी विश्वविद्यालयमा डिन नियुक्ति प्रक्रिया रोक्न माग गर्दै परेको रिट उच्च अदालत पोखराले आज मंगलबार खारेज गरेको छ । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय डिन नियुक्तिका लागि सूचना प्रकाशित गरेपछि त्यसलाई रोक्न रिट दायर भएको थियो । न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
उक्त रिटमा निवेदकसमेत रहेका अधिवक्ता विमल लामिछानेसहितले पक्षमा र विश्वविद्यालयका तर्फबाट वरिष्ठ अधिवक्ता हरि सुवेदी र नेपाल बार एसोसिएयसनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र केसीले बहस गरेका थिए । विश्वविद्यालयले डिन नियुक्तिका लागि साउन ४ गते पत्रिकामा सूचना प्रकाशित गरेको थियो । त्यसलगत्तै उत्प्रेषण मिश्रित परमादेश माग गर्दै उक्त प्रक्रिया खारेज र त्यससँग सम्बन्धित निर्णय बदरको माग गर्दै उच्चमा रिट परेको थियो ।
यसअघि उच्चले उक्त रिटमा अन्तरिम आदेश जारी गरेको थिएन । त्यसपछि विश्वविद्यालयले डिन नियुक्ति गरेको थियो । विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायमा कात्तिक ७ गते प्राध्यापक हिमराज गिरी डिन नियुक्त भएका थिए । उनको नियुक्ति ४ वर्षका लागि हो ।





