तस्वीर : २०७९ सालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौं राष्ट्रिय खेलकुदको झण्डाका साथ कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसी साथै प्रधानमन्त्री, खेलकुद मन्त्री लगायत व्यक्तिहरु ।
पोखरा/२०७९ कात्तिक ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भव्य समारोहका बिच तत्कालीन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरे । पोखरामा नवौँ राष्ट्रिय खेलकुद समापन समारोह भव्यताका साथ सम्पन्न हुँदै गर्दा दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने गरि झण्डा हस्तान्तरण गर्दाको त्यो क्षण प्रतियोगितामा सहभागि सात प्रदेश, तीन विभागीय टोली, एनआरएन, अफिसियल तथा सबै खेलप्रेमीका लागि खुसीको कुरा थियो । त्यसको अर्को कारण भनेको कर्णालीमा हुनु थियो ।
२०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म मिति तोकिएको थियो । सोही अनुसार कर्णाली प्रदेश पनि तयारीमा जुट्यो । सरकारले पनि दशौंका लागि बजेट विनियोजन गरिदियो । तर, देशको राजनैतिक परिवर्तनको प्रभाव खेलकुदमा समेत प¥यो । राष्ट्रिय खेलकुद परिषद्ले दशौंको बारेमा चासो नलिँदा घोषणाको मिति पनि नाघिसक्यो अर्थात मंसिर २ गते होइन ५ गते पुगि सक्यो ।
यो बिचमा कर्णाली प्रदेशको दुई ठाउँमा दशौं गराउने गरि खेल तालिका समेत सार्वजानिक भएको थियो । हुम्ला र जुम्लामा खेल गराउने गरि तालिका सार्वजानिक भयो तर, प्रतियोगिता नै अन्योलमा प¥यो । प्रतियोगिता अन्योलमा पर्दा खेलकुदलाई ठूलो घाटा लागेको छ । नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा समेत प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रतियोगिता नियमित रूपमा आयोजना नहुँदा खेलाडी पलायन हुने डर हुने भन्दै खेलकुद क्षेत्रलाई पनि व्यवस्थित तरिकाले अघि बढाउन सरकार कटिबद्ध रहेको बताएका थिए । विडम्बना अहिले कांग्रेस–एमाले नेतृत्वको सरकार छ । खेलकुदमन्त्री कांग्रेसकै भागमा छ २ वर्षअघि कांग्रेस सरकारले नै खेलकुद नियमित हुन नसकेको बताइरहँदा हाल खेलकुद मन्त्री तेजुलाला चौधरीले समेत यसबारेमा कुनै चासो देखाएका छन् ।
खेलकुद प्रतियोगिता आयोजना गर्ने काम राष्ट्रिय खेलकुद परिषदको हो तर, परिषदमा सदस्य सचिव माओवादी केन्द्रका टंकलाल घिसिङ छन् । राखेपको अध्यक्ष युवा तथा खेलकुद मन्त्री हुने प्रावधान छ । समयमा प्रतियोगिता नभएपछि प्रदेश खेलकुद परिषदहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रस्तावका लागि बोर्ड बैठकको आह्वान गर्न माग गरेको छ ।
राखेपले दशौंको मिति नाघिसक्दा समेत कुनै आधिकारिक जानकारी नदिएपछि परिषदले आफुहरुको आन्तरिक खेलकुदका कार्यक्रम तथा प्रशिक्षणमा समेत ठूलो प्रभाव परेको भन्दै असन्तुष्टि जनाएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले राखेपले निर्णय दिन नसक्दा खेलाडीहरु मर्कामा परेको बताए । सोमबार राखेप र युवा तथा खेलकुद मन्त्रालयलाई उनीहरुले माग सहित पत्र पठाएका थिए ।
‘हामीले विभिन्न ४ बुदामा माग राख्दै पत्राचार गरेका छौं यो हामीले मात्र होइन हरेक प्रदेशले गर्दैछन् । दशौंको मिति लगायतको संशोधन तत्काल हुन नसकेमा हामीले आयोजना तथा सञ्चालन गर्ने खेल गतिविधि समेत अन्यौलमै परेका छन्’ उनले भने, ‘राखेपको बोर्ड बैठक बसी छलफल र निर्णय गर्न आवश्यकता महसुस भएको हुँदा बोर्ड बैठकको आह्वान गरेका छौं ।’ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३(२) (ञ) ले व्यवस्था गरेअनुसार आफुहरुले बोर्ड बैठक राख्न अनुरोध गरेको उनको भनाइ थियो ।
उनका अनुसार दशौं संगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको संचालन र आयोजनासमेत अन्योलमा भएकाले त्यस विषयमा पनि छलफलको आवश्यकता छ । ति बाहेक राखेपको वार्षिक बजेट कार्यान्वयन र कानुन विपरित कार्यालय प्रमुख नियुक्तको विषयमा समेत छलफल गर्नुपर्ने माग राखेका छन् ।





