बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बालअधिकार सुनिश्चिता गर्दै प्रदेश सरकार : मन्त्री थापा

बालअधिकार सुनिश्चिता गर्दै प्रदेश सरकार : मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८१, शुक्रबार

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले बालबालिको अधिकारको सम्मान गर्ने भनेको राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु भएको उल्लेख गरे ।
‘बालबालिका हाम्रो समाजको भविष्य हुन् । उनीहरुको अधिकारको सम्मान गर्ने भनेको हाम्रो राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु हो । बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षामा पहुँच र जीवनस्तरमा सुधार ल्याउनु हाम्रो प्राथमिक कर्तव्य हो,’ उनले भने ।
नेपालले बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण कदम चालेको र बालश्रमसँगै बालविवाहको अन्त्य गर्नका लागि कानूनी व्यवस्था बनाउन सफल भएको भनाइ उनको छ । उनले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सेवा पहुँच बढाउन विभिन्न कार्यक्रम र नीतिहरु प्रदेश सरकारले लागू गरेको बताए । बालबालिकाको संरक्षणका लागि शिक्षा, स्वास्थ्य,पोषण र सुरक्षा क्षेत्रमा प्रदेश सरकारले विशेष ध्यान दिएको उनले उल्लेख गरे ।
मन्त्री थापाले बालबालिकाको अधिकारलाई सम्मान र सुरक्षा दिन केवल सरकारको मात्र जिम्मेवारी नभइ नागरिहरुको जिम्मेवारी पनि भएको बताए । सबै मिलेर नै समाजका प्रत्येक बालबालिकालाई एक सुरक्षित र समान अवसरको जीवन प्रदान गर्न आवश्यक रहेको भनाइउनको छ ।
मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले बाल बालिकाको अधिकारप्रति प्रतिबद्द हुन आवश्यक रहेको बताए । सबै लागे बालबालिकाको समस्यालाई समाधान गर्न सकिने भनाई उनको छ । निबन्ध प्रतियोगितामा लमजुङ सुन्दरबजारकी ग्रीष्मा दवाडी प्रथम भएकी छन् भने दोस्रो र तेस्रो क्रमशः लमजुङ जिल्लाको राइनासका सुनिल श्रेष्ठ र नवलपुर कावासोतीकी रचना न्यौपाने भएका छन् । सान्तवना पुरस्कार भने तनहुँ जिल्लाका म्याग्दे गाउँपालिकाका प्रवेश पण्डित पाएका छन् ।
प्रतियोगितामा प्रदेशका ४४ गाउँपालिकाका ४४ जनाको सहभागिता थियो । प्रदेश बाल परिषदका अध्यक्ष सन्दीप चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर सरकारी महासंघ नेपाल गण्डकीका अध्यक्ष पदम पहारी, निबन्ध प्रतियोगिताका मूल्यांकन समितिका संयोजक कृष्ण प्रसाद पौडेल, सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीलगायतले बालेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->