युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनलाई अस्त्र परीक्षणस्थल बनाएको आरोप लगाएका छन् ।
‘सबै चरित्रहरू – गति र त्यसको प्रवृत्ति हेर्दा अन्तरदेशीय बलिस्टिक क्षेप्यास्त्र हो भन्ने देखिन्छ,’ बिहीबार बिहान युक्रेनको पूर्वी सहर डिनिप्रोमा भएको एउटा प्रहारबारे उनले भनेका थिए । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) नभएको दाबी गरेका छन् ।
उनले डिनिप्रो क्षेत्रमा ‘नयाँ परम्परागत मध्यम दूरीको क्षेप्यास्त्र’ प्रहार गरेको बताए । यद्यपि कैयौँ पश्चिमी अधिकारीहरूले उक्त अस्त्र आईसीबीएम भए नभएकोमा शंका व्यक्त गरेका थिए । बिहीबार रुसले आईसीबीएम प्रहार गरेको पुष्टि भएमा त्यस्तो खालको अस्त्र विश्वका द्वन्द्वमा प्रयोग भएको यो पहिलो घटना हुने छ । तर पुटिनले आईसीबीएम प्रयोग नगरिएको दाबी गरेका छन् ।
पुटिनका अनुसार युक्रेनले अमेरिका र यूकेले उपलब्ध गराएका अस्त्र प्रयोग गरेर युक्रेनले आफ्नो भूमिमा आक्रमण गरेको जबाफ दिन रुसले ‘ओरेन्श्निक’ नामक क्षेप्यास्त्र प्रहार गरेको हो ।
उनले युक्रेनलाई रुसी भूभागमा आक्रमण गर्न अस्त्र उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । रुसले बिहीबार दक्षिणी अस्ट्राखान क्षेत्रबाट क्षेप्यास्त्र प्रहार भएको ठानिएको छ ।
आईसीबीएम के हो ?
अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र अर्थात् आईसीबीएम निकै लामो दूरीसम्म प्रहार गर्न सकिन्छ । लामो दूरीसम्म ‘युद्धशीर्ष’ पु¥याउन यसको निर्माण गरिएको हुन्छ । हरेक क्षेप्यास्त्रमा धेरैवटा ‘युद्धशीर्ष’ राख्न र तिनलाई छुट्टाछुट्टै स्थानमा प्रहार गर्नका लागि फरकफरक मार्गदर्शन गर्न सकिन्छ ।
सन् १९५७ मा यस्ता क्षेप्यास्त्र परीक्षण गरेर तत्कालीन सोभियत संघ अन्तरमहादेशीय क्षेप्यास्त्रहरू परीक्षण गर्ने पहिलो देश बनेको थियो । अहिले अमेरिका र चीनसँग जमिनबाट प्रहार गर्न मिल्ने खालका यस्तै कैयौँ क्षेप्यास्त्रहरू छन् । यूके, फ्रान्स, भारत, इजरेल र उत्तर कोरियासँग भने पनडुब्बीबाट प्रहार गर्न मिल्ने थोरै संख्याका यस्ता क्षेप्यास्त्रहरू छन् ।
अन्य बलिस्टिक क्षेप्यास्त्रहरूको तुलनामा यस्ता क्षेप्यास्त्रहरूले लामो दूरीमा र तीव्र गतिमा प्रहार गर्न सक्छन् भने उस्तै खालका ‘पेलोड’ भनिने ‘युद्धशीर्ष’, लक्ष्यभेदनका लागि मार्गदर्शन गर्ने प्रणाली र अन्य उपकरणहरु बोक्न सक्ने क्षमता हुन्छ ।
आईसीबीएम कति टाढासम्म जान सक्छन् ?
यस्ता क्षेप्यास्त्रको प्रचलित परिभाषाअनुसार यिनलाई ५,५०० किलोमिटरसम्म प्रहार गर्न सकिन्छ । तर केही क्षेप्यास्त्रहरू त्योभन्दा निकै टाढा पुग्न सक्छन् ।
रुसी आईसीबीएमहरू १०,००० किलोमिटरसम्म प्रहार गर्न सकिने खालका भएको हुनसक्ने ठानिएको छ । त्यसको अर्थ यी क्षेप्यास्त्रहरूले रुसी भूभागबाट सैद्धान्तिक रूपमा अमेरिकाको पूर्वी तटसम्म मार हान्न सक्छन् ।
गति कस्तो हुन्छ ?
रुसले आरएस–२६ रुबेज्ह क्षेप्यास्त्र डिनिप्रोमा प्रहार गरेको आशंका गरिएको थियो । यद्यपि त्यसलाई मस्कोले खण्डन गरिसकेको छ । ती क्षेप्यास्त्रहरूको गति चाहिँ २४,५०० किलोमिटर प्रतिघण्टा छ । त्यो भनेको प्रतिसेकेन्ड सात मिटरजति हो ।
यी क्षेप्यास्त्रहरू एउटा रकेटद्वारा सञ्चालित हुने र वायुमण्डलमा निकैमाथि बाटो बनाएर जाने विशेषताका कारण यस्ता उपकरणलाई बलिस्टिक क्षेप्यास्त्र भनिएको हो । यी क्षेप्यास्त्रहरूलाई रकेटले ऊर्जा दिएर वायुमण्डलमा तीव्र गतिमा लैजान्छन् र लक्षित क्षेत्रमा प्रहार गर्न सहयोग गर्छन् ।
यस्ता क्षेप्यास्त्रले बनाएको प्रक्षेपणपथ साना र कम गतिमा प्रहार हुने क्रूज क्षेप्यास्त्रहरूले बनाएकोभन्दा तीव्र र निकै माथि हुने भएकाले तिननलाई पत्ता लगाउन वा रोक्न कठिन हुन्छ ।
के यी परमाणु क्षेप्यास्त्र हुन्
आईसीबीएममा परमाणु वा परम्परागत अस्त्रयुक्त ‘युद्धशीर्ष’ राखिएको हुन सक्छ ।
रुसले प्रहार गरेको क्षेप्यास्त्रमा कस्तो खालका अस्त्रहरू थिए भन्ने स्पष्ट छैन ।
युक्रेनी वायुसेनाले उक्त क्षेत्रमा कस्तो क्षति हुन्छ भन्ने विचारै नगरी हमला गरिएको आरोप लगाएको थियो । यद्यपि त्यहाँ कति क्षति भयो भन्ने विस्तृत विवरण प्राप्त भएको छैन ।
आईसीबीएम बनाउन कति खर्च लाग्छ
रुसले आफ्नो आईसीबीएम कार्यक्रमका लागि कति खर्च गर्छ भन्ने हामीलाई थाहा छैन तर हामीलाई अमेरिकाले यस्ता क्षेप्यास्त्र कार्यक्रमका लागि कति खर्च गर्छ भन्ने चाहिँ थाहा छ ।
पेन्टागनले १४० अर्ब डलर बराबरको उसको पछिल्लो सेन्टिनल आईसीबीएम कार्यक्रमका लागि गत जुलाईमा सहमति दिएको थियो ।
प्रत्येक सेन्टिनल आईसीबीएम कार्यक्रमका लागि १६ करोड २० लाख डलर खर्च भएको बताइएको छ । यस्ता कार्यक्रमहरू एकदमै महँगा छन् भन्ने देखिन्छ ।
अब के होला
रुस र युक्रेनबीच युद्ध भएको मंगलबार १,००० दिन पूरा भयो। त्यसलगत्तै पुटिनले गरेको घोषणाले युद्ध अझै खतरनाक र नयाँ चरणमा प्रवेश गर्ने संकेत गरेको छ । रुसले आफ्नो दक्षिण पश्चिमी छिमेकीमाथि सन् २०२२ को फेबु्रअरीमा पूर्णस्तरको आक्रमण गरेको थियो ।
आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका राष्ट्रपति जो बाइडनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको एटीएसीएमएस प्रयोग गर्न गत आइतबार किएभलाई अनुमति दिएका थिए । त्यसको दुई दिनपछि उक्त क्षेप्यास्त्र रुसको ब्रियान्स्क क्षेत्रमा प्रहार गरिएको थियो ।
यूकेले उपलब्ध गराएका स्टोर्म श्याडो क्षेप्यास्त्र युक्रेनले बुधवार रुसी निसानामा प्रहार गरेको विवरण आएको थियो । रुसले उत्तर कोरियाली सैनिकहरू युद्धमा खटाएपछि पश्चिमा देशहरूले प्रतिक्रियास्वरूप आफूले युक्रेनलाई उपलब्ध गराएका अस्त्रहरू रुसी भूभागभित्र प्रहार गर्न अनुमति दिएका थिए ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प फर्कने तयारी गरिरहँदा पश्चिमा देशहरूले हतियार प्रयोगबारे पुरानो नीति परिवर्तन गरेका थिए ।
ट्रम्पले युक्रेन र रुसबीच जारी युद्धमा अमेरिकी संलग्नतालाई निरन्तरता नदिने र आफू पदमा आएको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने वाचा गरेका छन् ।





