बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एन्टिबायोटिकको दुरुपयोगले हरेक बर्ष ७ लाख मानिसको मृत्यु

एन्टिबायोटिकको दुरुपयोगले हरेक बर्ष ७ लाख मानिसको मृत्यु


  • सिर्जना खत्री
  • मंसिर ९ २०८१, आइतबार

काठमाडौं / प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर) विश्वव्यापी महामारीका रूपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो ।

यसको कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने अनुमान छ । यो समस्यालाई समाधान गरिएन भने यो सङ्ख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति एक सय ट्रिलियन अमेरिकी डलर बराबर हुन सक्ने डब्लुएचओको अनुमान छ ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या विश्वभर नै डरलाग्दो रूपमा देखा परेको नेपाल मेडिकल काउन्सिलका रजिस्टार प्रा. डा. सतिशदेव बताउछन् । धेरै एन्टिबायोटिकले काम गर्न छोडिसकेकाले सङ्क्रमणजन्य रोगको उपचारमा समस्या आइरहेको उनको तर्क छ ।

एन्टिबायोटिकले काम गर्न छोड्दै गएपछि अस्पताल बसाइ लम्बिनुका साथै बिरामीको परिवारमा आर्थिक भार थपिने डा. सतिशदेवले बताए । यही गतिमा प्रतिरोधको समस्या बढ्दै गएमा नियमित शल्यक्रिया, केमोथेरापी र दीर्घकालीन रोगको उपचारमा समस्या आउने छ । “लामो समयदेखि नयाँ औषधी बनेका छैनन् पुरानाले काम गर्न छोड्दै गएका छन् । यो अवस्थालाई नियन्त्रण गर्न सकिएन भने भविष्यमा सामान्य चोट लाग्दा पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने र मातृ मृत्युदर बढ्न सक्छ ।”

एन्टिबायोटिक्सको दुरुपयोगले मानिसमात्र नभई, पशुपन्छी, बोटबिरुवा र वातावरणमा प्रतिजैविक प्रतिरोधी ब्याक्टेरिया (एन्टिबायोटिक्सले मार्न नसक्ने जीवाणु) को विकास हुँदै गइरहेको छ।

एन्टीमाइक्रोबियल रेजिस्टेन्स भनेको के हो ?

सरुवारोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार सङ्क्रमणजन्य रोगको उपचारमा प्रयोग हुने एन्टीमाइक्रोबियल औषधी प्रभावहीन हुँदै जानु नै प्रतिजैविक प्रतिरोध अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्स हो । “भाइरल, ब्याक्टेरिया, फंगल इन्फेक्सको उपचार गर्ने औषधीलाई एन्टिमाइक्रोबियल औषधी भनिन्छ । यस्ता औषधीहरूले कुनै पनि कारणले सङ्क्रमण हुँदा काम गरेनन् भने एन्टिमाइक्रोबियल रेसिस्टेन्स हुन्छ ।”

एन्टिमाइक्रोबियल औषधी चार प्रकारका हुन्छन् । एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल, एन्टिप्यारासाइटिक पर्दछन् । यस्ता औषधी गम्भीर सङ्क्रमणबाट जीवन बचाउनका लागि प्रयोग गरिन्छ ।

डा.कोइरालाका अनुसार एन्टिबायोटिक औषधी ब्याक्टेरियाबाट लाग्ने रोगका विरुद्ध, एन्टिभाइरल भाइरसका विरुद्ध, एन्टिफङ्गस ढुसीबाट हुने रोग विरुद्ध र एन्टिप्यारासाइटिक औषधी कालजार रोगका विरुद्ध प्रयोग गरिन्छ ।

घाँटी, निमोनिया, पिसाबबाट पेटमा हुने सङ्क्रमणको निवारणमा यस्ता औषधी प्रयोग गरिन्छ । सङ्क्रमणको किसिम र अवस्था हेरेर विभिन्न आधारमा फरक खालका एन्टिबायोटिक प्रयोगमा ल्याइन्छ ।

एन्टीमाइक्रोबियल रेजिस्टेन्सको कारण

एन्टिबायोटिकको उचित प्रयोग नहुँदा सूक्ष्म जीवाणुले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विकास गरेको डा.कोइरालाले बताए । यसको कारणले औषधीले काम गर्न छोड्दै गएका छन् ।

पशुपन्छी र खेतीपातीमा अत्यधिक यसको प्रयोगले अप्रत्यक्ष रूपमा यसको प्रभावकारिता घट्दै गएको भेटेरिनरी प्र्याक्टिसनर्स एसोसिएसन अफ नेपालका महासचिव डा.नवराज श्रेष्ठ बताउछन् ।

औषधी पशुपन्छीको तौल वृद्धि गर्न, बोट बिरुवामा मलको रूपमा प्रयोग गर्ने प्रतिजैविक औषधीको जथाभाबी वातावरणमा विसर्जन गर्नाले यस्तो प्रभावकारिता घट्दै गएको डा.श्रेष्ठले बताए । “मलको रूपमा तरकारी, फलफूल, धान गहुँजस्ता खाद्यान्न उत्पादन बढाउन, जनावर पशुपन्छीको तौल वृद्धि गर्न, दूध, दही, अण्डाको उत्पादन बढाउन यस्ता औषधीको प्रयोग गर्ने गरेको पाइएको छ । मानिसले प्रत्यक्ष रूपमा यस्ता औषधी नखाएको भए पनि माछा मासु,खाद्यान्न, अण्डामार्फत अप्रत्यक्ष रूपमा यस्ता औषधीको सेवन गरिरहेका छन् ।”

एन्टीमाइक्रोबियल रेजिस्टेन्स कसरी रोक्न सकिन्छ ?

फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधीको प्रेस्क्रिप्सनदेखि वितरण गर्नेमा जनचेतना फैलाउन सकियो भने मात्र यसलाई नियन्त्रण गर्न सम्भव हुने बताए । रजिस्ट्रर नभएका औषधीलाई नियमन गर्न सकियो भनेमात्र यसको दुरुपयोग धेरै हदसम्म कम गर्न सकिनेछ ।

डा.नवराज श्रेष्ठ यसलाई नियन्त्रण गर्न किसानलाई जनचेतना फैलाउन आवश्यक रहेको बताउछन् । उनका अनुसार किसानलाई जथाभाबी एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर गर्छ भन्ने कुरा बुझाउन जरुरत छ । पशुपक्षीलाई सुरक्षित तरिकाले पाल्न सकेमा पशुपक्षीमा एन्टिबायोटिक्सको प्रयोग पनि कम हुने उनको तर्क छ ।

बिरामी हुँदा जाँच गरेर स्वास्थ्यकर्मीको सिफारिसमा मात्र एन्टीमाइक्रोबियल औषधीको सेवन गर्न चिकित्सकको सुझाव छ । स्वास्थ्यकर्मीले सिफारिस गरेका औषधी पूरा मात्रा लिने, सङ्क्रामक रोगविरुद्धको खोप लिने, सरसफाइमा ध्यान दिने लगायतमा ध्यान दिन डा.कोइरालाले सुझाए ।

उपचारको क्रममा बाँकी रहेको औषधी आफूले पनि प्रयोग नगर्ने र अरूलाई पनि प्रयोग गर्न नदिन डा.कोइरालाको अनुरोध छ । यसलाई नियन्त्रण गर्न सरकारले प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना (२०८०/८१–२०८४/८५) बनाएर कार्यान्वयनतर्फ अघि बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर मापदण्ड तथा नियमन महाशाखाका प्रमुख तथा एमएमआर फोकल पर्सन डा. सरोज शर्माले जानकारी दिए।

औषधीको दुरुपयोग रोक्नका लागि औषधी विभागले एन्टिबायोटिकलाई तीन तहमा वर्गीकरण गरेको छ। पहिलो वर्गीकरणले काम नगरेपछि मात्र दोस्रो वर्गीकरण सिफारिस गर्ने र दोस्रोले पनि काम गरेन भने तेस्रो प्रकारको औषधी सिफारिस गर्न सक्ने व्यवस्था औषधी व्यवस्था विभागले गरेको छ । तर सरकारले बनाएका ऐन, नियमको कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->