पोखरा/विश्व टेनिसमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ । टेनिसकै कुम्भमेलाको रुपमा रहेको डेभिस कपमा नेपालले समूह ५ बाट समूह ४ मा फड्को मारेको छ । एसिया– ओसियाना क्षेत्रमा अब नेपाल समूह ४ मा रहेको छ जुन टेनिसको इतिहासमा नेपालले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि हो ।
शनिबार नेपालले बहराइनलाई हराएसँगै समूह ४ मा प्रवेश गनृ सफल भएको हो । इसा टाउनस्थित पोलिटेक्निक युनिभर्सिटीको कोर्टमा शनिबार आयोजक बहराइनलाई प्लेअफमा २–० को सोझो सेटमा हराउन सफल भएको हो ।
नेपालका लागि प्रदीप खड्काले बहराइनका अब्दुल नबि इलियसलाई ६–३, ६–३ को सेटमा हराउँदै ऐतिहासि जित दिलाएका हुन् । त्यसअघि नेपालकै अभिषेक बास्तोलाले बहराइनकै कुइङ युसफलाई सोझो सेटमा हराएका थिए । उनले ६–४ र ६–१ को सेटमा हराएका हुन् ।
‘नेपाल टेनिसको लागि यो ऐतिहासिक दिन रह्यो । हामी सम्पूर्ण टेनिस प्रेमिका लागि खुशीको दिन पनि हो,’ प्रदीपले भने, ‘हामी समूह ५ बाट समूह ४ मा उक्लिएका छौं टेनिसकै ठूलो प्रतियोगितामा यसरी उपलब्ध पाउने सामान्य कुरा होइन् ।’ प्रदीप र अभिषेक दुवैको डेभिस कपमा दोस्रो सहभागिता हो । प्रदिप नेपालका पहिलो वरियाताका खेलाडी हुन भने अभिषेक दोस्रो वरियताका खेलाडी हुन् । यस समूहमा नेपालसहित १५ राष्ट्रको प्रतिस्पर्धा गरेका थिए । त्यसबाट दुई टिम समूह ४ मा बढुवा हुन्थ्यो । चार समूहमा रहेर प्रतिस्पर्धा गर्दा नेपालले समूह ‘ए’ मा ग्वाम र ब्रुनाई पन्छाएर प्लेअफमा स्थान बनाएको थियो ।
आयोजक बहराइनले समूह ‘डी’ मा यमन, ताजकिस्तान र बंगलादेशलाई पछि पारेको हो । नेपाली खेलाडीले दुवै सिंगल्स खेल जितेपछि डबल्सको प्रतिस्पर्धामा उत्रनु परेन । प्रदीप र अभिषेक डेभिस कपमा अपराजित छन । दुवैले तीनै खेल जितेका छन । यसपल्ट नेपालले समूह चरणमा ग्वामलाई २–१ ले र बुनाइलाई ३–० ले हराएको थियो । ग्वाम सन् २०१८ देखि डेभिस कपमा खेल्न थालेको टिम हो । ब्रुनाइको डेभिस कपमा १६ औं सहभागिता थियो । अभिषेक र प्रदीपसहित नेपाली डेभिस कप टिममा प्रनव खनाल, रितिक राना र प्रनव मानन्धरको सहभागिता थियो । दुई प्रनवको डेभिस कप यात्रा पहिलो हो । एसिया÷ओसियाना क्षेत्रको समूह ४ मा कतार, श्रीलंका, किर्गिस्तान, कुवेत, कम्बोडिया, इराक, म्यानमार लगायतका राष्ट्र रहेका छन् ।





