
काठमाडौं / काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेको हो । पक्राउ परेका बाँकी आठजनासहित फरार तीनजनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । एक महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीनजनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।
उनीहरूको बयान र अन्य प्रमाणका आधारमा पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनु नपर्ने निर्णय भएको न्यायाधिवक्ता अर्यालले बताए । उनले भने, “मन्त्री अधिकारी त्रिभुवन विमानस्थलबाट समेत एक्लै गएको देखिन्छ । पक्राउ परेकाहरूको बयानमा समेत उनीविरुद्ध केही छैन । र, अर्को महत्त्वपूर्ण कुरा जापानमा उनीसँगैका तीनजनालाई डिपोर्ट गर्दा उनी आफैँले प्रहरीलाई जानकारी गराएको देखिन्छ ।” मन्त्री अधिकारीलाई डिपोर्ट नगरी आफूसँगै जापान पुगेकाहरूको नक्कली कागजपत्र देखेपछि आफैँ फर्किएको खुलेको छ ।
जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार विभिन्न ९ आधारमा अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरिएको हो । ‘प्रतिवादी लिलाबल्लभ अधिकारी स्वयंले जापानको नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीहरूलाई जानकारी दिएको । जापान सरकारले अन्य प्रतिवादीहरुलाई एक्सक्लुजन अर्डरबाट डिपोर्ट गरेकोमा निज लिलाबल्लभ अधिकारीको हकमा निज स्वयंले अनुरोध गरी फिर्ता भई आएको देखिएको’ ले मुद्दा नचल्ने आधार स्पष्ट हुने सरकारी वकिल कार्यालयको निर्णय छ ।
त्यस्तै, अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा अधिकारीको संलग्नता सम्बन्धमा केही नबोलेको, अधिकारीले आरोपित कसूरमा ईन्कार रही बयान गरेको, तत्काल पक्राउ परेका प्रतिवादीहरु महेश पाण्डेसमेतको बयान व्यहोरामा पनि अधिकारीको नाम नरहेको सरकारी वकिल कार्यालयको निर्णयमा उल्लेख छ ।
सरकारी वकिलको कार्यालयले अधिकारीलाई मुद्दा नचलाउनुको आधारमा भनेको छ, ‘मिसिल संलग्न रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सीसीटिभी फुटेजमासमेत निज एक्लै सवार भएको देखिएको । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापान प्रस्थान भएपश्चात महेश पाण्डेले पठाएका ह्वाट्सएप म्यासेजसमेत हेरेको नदेखिएको र निजको कल डिटेल्स हेर्दा पक्राउ परेका प्रतिवादीहरूसँग सम्पर्क भएको नदेखिएको ।’
सरकारी वकिल कार्यालयले लिएको आधारमा भनिएको छ, ‘जनक राईसमेतका कीर्ते गरी बनाएको हस्ताक्षरसँग नमूना परीक्षण गर्दा अधिकारीको हस्ताक्षर मेलसमेत खाएको नदेखिएको । कन्चन देवकोटा समेतसँग हङ्कङको ट्रान्जिटमा गएपछि मात्र भेटघाट भएको देखिएको ।’





