पोखरा/ संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले युवालाई रोजगार, स्वरोजगार र उत्पादनसंग जोडेमा विदेश जानबाट रोक्न सकिने बताएका छन् । पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले उपमहासचिवसमेत रहेका गुरुङले आगामी ३ वर्षभित्र ३ देखि ५ लाख युवालाई रोजगारी दिनेगरी काम सुरु गरेको दावी गरे ।
एउटै घरमा ५० हजार जनालाई रोजगारी दिन सकिने उनको भनाई थियो । ‘आईटी, अनलाईनका माध्ययमबाट रोजगारी सिर्जना गर्न सकिन्छ’ उनले भने, ‘यसबाट राजस्व पनि ठुलै भोलुममा उठाउन सकिन्छ ।’ टिकटकबाट ३ खर्ब भन्दा बढी अप्रत्यक्ष रुपमा आम्दानी भइरहेको बेला बन्द गर्दा धेरै युवाको स्वरोजगार गुमेकाले आफुले त्यसलाई खोलेको गुरुङले बताए । आइटी सेक्टरबाट मात्रै वर्षेनी १ खर्ब राजस्व उठाउन सकिने उनले जनाए । पोखरामा आइटी पार्क खोल्ने तयारी भइरहेको मन्त्री गुरुङले बताए ।

कार्यक्रममा लमजुङ र कास्कीका ३ सय ६७ युवा एमाले प्रवेश गरेका थिए । उनीहरुलाई खादा र अविरले स्वागत गर्दै गुरुङले युवाको प्रवेशले एमाले झनै बलियो हुने बताए । ‘एमाले जस्तो ईमान्दार अभिभावक फेला पार्नु भएको छ’ उनले भने, ‘रोजगारी, प्रशासनिक, राजनीतिक झमेला पर्न सक्छ । त्यस्तो बेला मलाई सम्झनु होला ।’ युवा अनुशासित र मेहनती हुनुपर्ने भन्दै उनले कुनै एउटा असफलताबाट नआत्तिई आफुले गर्ने काममा निरन्तर लागिरहे सफल भएर छाड्ने सुझाव दिए ।
जोसुकै व्यक्ति पनि विधिको शासनमा हिड्नुपर्ने गुरुङले बताए । नाम नलिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै उनले छानविन भइरहेको विषयमा युवालाई सडकमा उतारेर भड्काउने काम भइरहेको बताए । सडकमा समुह देखाएर केही नहुने उनको भनाई थियो । पार्टी प्रवेश कार्यक्रम एमाले गण्डकी प्रदेश समितिले आयोजना गरेको थियो । तर ब्यानरमा चुनाव चिन्ह, पार्टीको चिन्ह र पार्टी प्रवेश कार्यक्रममात्रै लेखिएको थियो । आयोजकको नाम थिएन । कास्की जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु कार्यक्रममा देखिएनन् भने गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी निकट मानिने नेताहरु कसैको पनि कार्यक्रममा सहभागिता थिएन । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले प्राविधिक कारणले ब्यानरमा आयोजक नलेखिएको बताए ।





