पोखरा/कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं संस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो ।
२०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्श कप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ वर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको तयारीलाई क्लबले अन्तिम चरणमा पुर्याएको छ ।
प्रतियोगितामा आयोजकसहित गण्डकी प्रदेशका ८ समूहले भाग लिँदैछन् । आयोजक आदर्श युवा क्लव, कास्की ११, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी सहितका विभागीय क्लब एवम् तनहुँ, गोरखा र स्याङजाका एक÷एक टिम सहभागी हुनेछन् ।
फुटवल मैदान मर्मत, अस्थायी प्याराफिट निर्माण लगायतको अन्य तयारी पूरा भएको क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि शुभेच्छुक र विभिन्न निकायबाट आर्थिक सहयोग आउनेक्रम जारी रहेको कलवका कोषाध्यक्ष विष्णु हमालले बताए । मोफसलमा स्तरिय खेल खेलाउन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै, हमालले सवैको साथ र सहयोगले हौसला थपेको बताए ।
मोफसलमा आरा रारा गोल्डकप पछि आदर्श युवा क्लवले मात्र निरन्तरताको श्रृंखला जारी राखेको क्लवका पूर्व अध्यक्ष विजय गुरुङले बताए ।
प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको छ । त्यस्तै महानगरका विभिन्न वडा कार्यालय, प्रदेशका विभिन्न कार्यालय तथा संघसंस्था र शुभेच्छुकहरुले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष गुरुङले उल्लेख गरे ।
प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ र मेड प्रदान गरिनेछ ।





