पोखरा/पोखरामा आउने पर्यटकको औसत बसाइ करिब एक हप्ताको हो । गुणस्तरीय पर्यटकसमेत कम आउने गरेको भन्ने गुनासो समय–समयमा आउने गरेकै छ । तर, पाँच वर्षयता दशभन्दा बढी राष्ट्रबाट सम्पन्न परिवारहरु पोखरा आउने गरेका छन् । उनीहरु घुम्नका लागि होइन, आफ्ना छोराछोरीको टेनिस खेल हेर्न यहाँ आउने गरेका हुन् । कास्की जिल्ला टेनिस संघले विगत पाँच वर्षदेखि निरन्तर लन टेनिसको जे ३० अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । सो प्रतियोगितामा धेरै राष्ट्रले सहभागिता जनाउदै आएका छन् । सोमबारदेखी अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ) वल्र्ड टेनिस टुर जे३० सुरु भएको छ । टेनिस खेलको पहिलो खुड्किलोमा रहेको प्रतियोगितामा यस पटक १० राष्ट्रको सहभागिता रहेको छ । जसमा अमेरिका,जापान, चीन, भारत, न्यूजिल्याण्ड, ताइवान, दक्षिण कोरियालगायतका राष्ट्रका खेलाडी छन् । तिनै खेलाडीसँग उनका अभिभावक समेत आएका छन् । तर, पनि टेनिस खेलको प्रबद्र्धन हुन नसक्दा गुणस्तरीय पर्यटक ल्याएर पनि गुमनाम जस्तै छ । सोमबार टेनिसको उद्घाटनमा प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहभागि भएका थिए । सोही कार्यक्रममा कास्की जिल्ला टेनिस संघका पूर्वअध्यक्ष विनोद कायस्थले गुनासो पोखे । उनले टेनिस खेलमात्र नभइ पोखरामा पर्यटक ल्याउने माध्यमसमेत भएको सुनाउँदै व्यक्तिगत लगानी गर्दा सीमिततामा रहनुपर्ने बाध्यताले आफुहरु अघिबढ्न नसकेको भन्दै आफ्नो भनाइ राखे । संसारकै महंगो खेलको रुपमा परिचित खेल खेल्न खेलाडीले व्यक्तिगत खर्च गरेरै आउने गर्छन् । पोखराले जे ३० भन्दा माथिल्लो स्तरको जे ६०, जे १०० लगायतका खेल गराउन सक्षम छ तर राज्यको लगानी नहुँदा निरिह हुनुपरेको टेनिसको दुखान्त छ । कायस्थ भन्छन्,‘पोखरा आउँदा पर्यटनको बसाइ दुई या तीन दिनमात्रै हो तर टेनिस खेल्न आउने विदेशी खेलाडीको बसाइ भनेको थोरैमा १४ दिनको हुन्छ । सम्पन्न परिवारबाट भएकाले राम्रै होटलमा बस्ने र पर्यटनमा टेवा पुग्छ । हामीले योभन्दा माथिल्लास्तरका प्रतियोगितासमेत गर्न सक्छौँ । त्यसका लागि आइटीएफले केही पूर्वाधारहरु खोज्छ ।’ हाल भएका टेनिस पूर्वाधार टेनिसकर्मीहरुकै लगानीमा भएको सुनाए । व्यक्तिको लगानीमा सीमित क्षेत्रसम्म पुग्ने गरे पनि त्यो भन्दामाथि राज्य नै हुने गरेको उनको भनाइ छ । गुरु योजना बनाएर टेनिसमा लगानी गरे यसले पर्यटन पर्वद्धनमा ठूलो टेवा पुग्ने उनी सुनाउँछन् । टेनिसको सबैभन्दा ठूलो क्षेत्र भनेको ग्राण्ड स्लाम हो जहाँ सहजै भाग लिन पाइँदैन । त्यसका लागि अंक बटुल्न अत्यावश्यक छ । जसका लागि जे ३० खेल्ने पर्ने हुन्छ । जे ३० जुनियरस्तरको प्रतियोगिता भएको प्रतियोगिता संयोजक राजकुमार गुरुङले बताए । जे ३०, जे ६० हुँदै ग्राण्डस्ल्याममा पुग्ने उनको भनाइ छ । सोही क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामात्रै नभइ गण्डकी प्रदेश पर्यटनको हब रहेको र यसभित्र खेल पर्यटन महत्वपूर्ण पाटो रहेको सुनाए । ‘खेल्छ गण्डकी’अन्तर्गत खेलाडी विकासका लागि पहल भएको र महानगरले सक्दो सहयोग गर्ने बताए ।सोमबारदेखि सुरु भएको प्रतियोगिता मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ । पोखरा रंगशालामा अब दुई वटा टेनिस कोर्ट भएमा जे ६० को खेल गराउनसमेत सकिन्छ । जहाँ थप राष्ट्रहरु आउन सक्नेछन् । यो प्रतियोगितामा १३ वर्ष देखि १८ वर्षभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरु अंकका आधारमा मेन ड्र मा छिर्न पाउनेछन् भने बाँकीले छनोट खेल खेल्नुपर्नेछ । मेन ड्र मा १६ खेल हुनेछ । जहाँ विजेताले ३० अंक प्राप्त गर्ने भने उपविजेता हुनेले १८ अंक प्राप्त गर्नेछ । यस्तै सेमीफाइनमा पुग्नेले ९ अंक तथा क्वाटर फाइनलमा पुग्नेले ५ र राउन्ड १६ का खेलाडीले दुई अंक प्राप्त गर्नेछन् । डबल्सतर्फको विजेताले २५ र उपविजेताले १३ अंक प्राप्त गर्नेछन् । सेमिफाइन पुग्नेले ६, क्वाटरफाइनल पुग्नेले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा सात राष्ट्रका करिब दुई सय ५० खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएको संघले जनाएको छ । प्रतियोगिताका विश्व नं १ बरियता जापानका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।





