बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसानी कृषि प्राविधिक शिक्षालयलमा निशुल्क पढाउन एक महिनामै ७३ लाख बढी संकलन

किसानी कृषि प्राविधिक शिक्षालयलमा निशुल्क पढाउन एक महिनामै ७३ लाख बढी संकलन


  • हरिकृष्ण गौतम
  • मंसिर १९ २०८१, बुधबार

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।
अक्षय कोषको घोषणा भएको करिब एक महिनाको अवधिमा स्वदेश तथा विदेशमा कुल ७३ लाख ६७ हजार ५७२ रुपैयाँ संकलन भएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताए । ‘एक महिनामा ठूलो सहयोग जुटाउन सफल भएका छौ, यो अभियान निरन्तर छ, विदेशमा धेरैले सहयोग गदैं हुनुहुन्छ,’ विदेश विभाग संयोजक जुग्जालीले भने ।
अक्षयकोषका लागि छोटो अवधिमा धेरै संकलन भएको बताउँदै दैनिकजसो स्वतस्फूर्त रुपमा सहयोग आइरहेको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताए । देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिन आउने गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुको सहयोगका लागि २ करोडको अक्षयकोष स्थापना गरेपछि सञ्चालित अभियान रोकिएपनि त्यसपछि सहयोग गर्न चाहनेले सहयोग गर्न सक्ने प्राचार्य गर्बुजाको भनाई छ । यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत विद्यालयले अपिल गरेको छ ।
व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । देशका विभिन्न जिल्लामा सञ्चालन खर्चसमेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन् ।
कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->