पोखरा/६ वर्षदेखि नभएको आदर्श कप पुनः व्यूँतिएको छ । लेखनाथकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आदर्श कप फुटबल प्रतियोगिता कोरोना महामारीपश्चात हुन सकेको थिएन । क्लबले प्रतियोगितालाई व्युत्याउँदै ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ नाराका साथ २५ औं संस्करणको शौर्य सिमेन्ट आदर्श कपको आयोजना गर्न लागेको हो । ओरालो बाटोमा हिड्दै गरेको नेपाली फुटलबलाई स्थानीय स्तरबाट व्युत्याउनका लागि आदर्श क्लब जागेको क्लबका अध्यक्ष पदम गुरुङले सुनाए । कोभिडको कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको सुनाउँदै उनले अब क्लबले प्रतियोगितालाई निरन्तरता दिने योजनासहित अघि बढेको बताए ।
यस्तै २५ औं संस्करणको प्रतियोगिता सम्पन्न गर्नका लागि क्लबले दर्शकका लागि समेत विभिन्न सेवा लिएर आएको छ । क्लबले हरेक टिकट काटेर आउने दर्शकका लागि एनसेलको एउटा सिमकार्ड, यासौटेक प्रालिले विक्रि गर्ने हरेक सामग्री खरिदमा तीन सय रुपैयाँ छुट र हरेक टिकटबाट १५ रुपैयाँ लेखनाथ पत्रकार मञ्चलाई प्रदान गर्नेछ । अध्यक्ष गुरुङ भन्छन्, ‘कोरोना महामारी पछि हामी सुस्ताएका हौं । अब नयाँ जोश र जागर लिएर आएका छौं । प्रतियोगिता सफल बनाउन सबैको साथ र सहयोगको खाँचो छ’ उनले भने, ‘६ वर्षपछि आउँदा हामीले पुरस्कार राशीदेखी टिकट काट्ने दर्शकका लागि समेत नयाँपन दिएका छौं । अहिले फुटबलको लोकप्रियता कतै खस्किएको हो कि भन्ने भएको छ त्यसो होइन स्तरीय प्रतियोगिता नभएका मात्रै हुन । फुटलबले निरन्तरता पाएमा फुटलब जागछ ।’ उनले खेलाडीहरुको स्तर तथा मनोबल वृद्धिगर्ने देखी राष्ट्रियस्तरमा क्लबको पहिचान गराउनु अर्को उदेश्य रहेको बताए । क्लबका कोषाध्यक्ष विष्णु हमालले क्लबको संरक्षणमा रहँदै आएको भण्डारढिक मैदान फिफाको मापदण्ड अनुसार रहेको सुनाउँदै पूर्वाधार विकास हुन नसकेको बताए । उनले प्रतियोगिताका लागि मैदानको स्तरोन्नति गर्ने काम सकिएको र दर्शकका लागि थप अस्थाई प्यारापिटको समेत व्यवस्था गरेको बताए । मोफसलमा ठूलो धनराशीको प्रतियोगिता गराउनका लागि चुनौति रहेपनि आदर्श क्लबको पहिचानाको रुपमा रहेको आदर्शकपलाई निरन्तरता दिनु आफुहरुको धर्म रहेको सुनाए ।
प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की ११, स्याङजा जिल्ला फुटबल संघ, नेपाल प्रहरी गण्डकी प्रदेश, गोरखा जिल्ला क्रिकेट संघ, नेपाल आर्मी सिद्धिदल गण र सशस्त्र प्रहरी गण्डकी मुख्यालयको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श क्लब र तनहुँ फुटबल संघ बिच हुनेछ । शौर्य सिमेन्ट इनडष्ट्रिज लिमिटेडको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई समान १५/१५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई नगद रु ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा प्रवेश शुल्क सेमिफाइनलसम्म एक सय रुपैयाँ र फाइनलको दिन एक सय ५० रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगितालाई आदर्शक हार्डवयेर, यार्साटेक प्रालिले प्रायोजन गरेको छ । मंसिर २२ देखी २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको संरक्षकको रुपमा पोखरा महानगरपालिका वडा नम्बर २९ रहेको छ ।





