बागलुङ÷अन्तर विद्यालय स्तरीय कब्ड्डी प्रतियोगिताको उपाधि कालिका कन्या माध्यामिक विद्यालय र सनराइज बोर्डिङ स्कुलले जितेका छन् । कालिका कन्याले छात्रतर्फ र सनराइज बोर्डिङले छात्रातर्फको उपाधि जितेका हुन् ।
बुधबार सम्पन्न फाइनल खेलको छात्रतर्फ कालिका कन्या माविले सिद्वार्थ शिक्षा सदनलाई निराश बनाउँदै विजेताको उपाधि जितेको हो । विजेता कालिकाले नगद १५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको सिद्वार्थले नगद १० हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै सनराइजले छात्रातर्फको उपाधि जितेको आयोजक शान्ति युवा क्लबका अध्यक्ष धनबहादुर श्रीसले जानकारी दिए । विजेता सनराइजले १५ हजार ५ सय ५५ र उपविजेता बनेको चिल्ड्रेनले १० हजार १ सय ११ रुपैया, ट्रफी र मेडल प्राप्त गरेको छ ।
विजयी टोलीलाई जिल्ला खेलकुद विकास समितिका सदस्य उमेश राजभण्डारी, खेलकुद प्रशिक्षकद्वय राजेश बास्कोटा र परशुनारायण बोहोराले पुरस्कार प्रदान गरेका थिए । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ ११ र छात्रातर्फ ८ टिमले सहभागिता जनाएका थिए ।





