काठमाडौं / धेरैले मान्यता राख्छन्-खेलकुदले जोड्छ, राजनीतिले तोड्छ। यही मान्यतालाई सत्य सावित गर्नेगरी नेपाली खेल मैदानमा शनिबार एक दृश्य देखियो। जसमा राजनीतिक दाउपेचमा कहिले मिलन र कहिले विछोडको यात्रामा रहेका दुई शीर्ष नेता सँगैको सिटमा बसेर खेल हेरे। मिलेर खेलाडीलाई मेडल पहिर्याए। र, विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरे।
प्रसंग, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल खेलमा देखिएको दृश्यको हो।
१० वर्षे द्वन्द्वकालमा सत्तापक्ष र विद्रोही पक्षमा हुँदा देउवा र प्रचण्डले एकअर्काको टाउकाको मोल तोकेको इतिहास छ। देउवा प्रधानमन्त्री भएका बेला उनी नेतृत्वको सरकारले संकटकाल लगाउँदै तत्कालीन माओवादी विद्रोही नेता प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतको टाउकाको मोल तोकेको थियो। यस्तै, प्रचण्ड अध्यक्ष रहेको तत्कालीन सशस्त्र विद्रोही माओवादीले देउवको पनि टाउकाको मोल तोकेको थियो।
शान्ति प्रक्रियामा आएपछि भने देउवा र प्रचण्डले लामो सत्ता सहयात्रा गरेका छन्। सत्ता सहयात्रामा मात्र गरेका छैनन्, कतिपय दुई दलको वैचारिक प्रकृतिअनुसार मिल्नै नसक्ने विषयमा समेत सहमति जुटाएर अघि बढेका छन्। दाहालले कुनै समय भन्ने पनि गर्छन्, ‘देउवाजी र मेरो केमेस्ट्री मिल्छ।’
राजनीतिक विषयमा दुई नेताको मिलनका सिलसिलासँगै धोका र विछोडका घटना पनि उत्तिकै छन्। पछिल्लो समय गएको फागुन २१ मा तत्कालीन प्रधानमन्त्री रहेका प्रचण्डले देउवा (कांग्रेस) सँगको सत्ता सहयात्रा तोडेर केपी शर्मा ओली (नेकपा एमाले) सँग जोडिन गएका थिए।

त्यसपछि भने प्रचण्डलाई कांग्रेसले ‘धोकेबाज’ को आरोप लगाउँदैआएको छ। देउवाले उनको विश्वास गर्न छाडेका छन्। त्यसयता दुवै नेता सत्ता र प्रतिपक्षको फरक भूमिकामा छन्।
असार १७ को सातबुँदे सहमतिपछि एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई छाडेर कांग्रेससँग मिलेर सरकार बनाएका छन्। असार ३० गते ओली प्रधानमन्त्री नियुक्तयता प्रचण्ड प्रतिपक्षमा पुगेर देउवा-ओली र कांग्रेस-एमालेविरुद्ध चर्को आलोचना गर्दै निसाना साँधिरहेका छन्।
यसरी पछिल्लो नौ महिनायता राजनीतिक रूपमा टाढिएका देउवा र दाहाल शनिबार एनपिएलको फाइनल खेल हुँदा खेल मैदानमा भने सँगै देखिन संयोग जुर्यो। नौ महिनामा यसरी दुवैजना सँगै देखिएको यो पहिलो पटक हो। फाइनल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका देउवा र प्रचण्डसँगैको कुर्सीमा बसेको दृश्यमा देखिन्छन्।

दुवैले त्यहीँ बसेर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल लगभग पूरै समय हेरे। खेल सकिएपछि खेल विजेता एनपिएलको च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीले सँगै उभिएर मेडल पहिर्याइदिए। जनकपुरका कप्तानद्वय अनिलकुमार साह र आशिफ शेखलाई ट्रफी हस्तान्तरण गरे।
देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार दुई नेताको यो भेट ‘संयोग’ मात्रै हो। यो संयोग जुर्न पनि प्रधानमन्त्री ओलीको भूमिका छ। ‘उपाधि विजेतालाई ट्रफी हस्तान्तरण गर्न आयोजकले प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई बोलाउनु भएको रहेछ। उहाँ महिनौंअघि सेड्युल भएको कार्यक्रममा जानुपर्ने भएछ,’ परियारले भने, ‘अनि त्यसपछि दुवै जना पूर्वप्रधानमन्त्री (देउवा र प्रचण्ड) लाई बोलाएर संयुक्त रूपमा हस्तान्तरण गराइयो।’ उनको भनाई अनुसार प्रधानमन्त्री ओली आएको भए देउवा- प्रचण्डको यो भेटको संयोग जुर्ने थिएन्।
देउवा र दाहालबीचको यो भेटमा राजनीतिक कुराकानी भने नभएको परियारले बताए। उनले भने, ‘हेल्लोहाई त हुने नै भयो। तर राजनीतिक कुराकानी भएन। दुवैजनाले खेल हेर्नुभयो। रमाउनुभयो।’
देउवा र प्रचण्डबाहेक एनपिएलको फाइनल खेल हुँदा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसम्मले एकैठाउँमा बसेर खेल हेरेका थिए।





