पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ लेखनाथ शिशुवास्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा ५ लाख रुपैयाँको मित्रनाथ ÷अतिमाया अक्षयकोष स्थापना गरिएको छ । पोखरा–२६ अर्घौं निवासी मित्रनाथ न्यौपाने र धर्मपत्नी अतिमाया न्यौपानेले क्याम्पसमा नियमित आर्थिक श्रोत नभएको अवस्थालाई ध्यानमा राखी गरिव तथा जेहन्दार विद्यार्थीलाई लक्षित गरी आफु ८४ वर्ष प्रवेशको पुनीत अवसरमा उक्त कोष स्थापना गरेका हुन् ।
नव आगन्तुक विद्यार्थीका लागि राखिएको स्वागत तथा सम्मान् कार्यक्रममा अक्षय कोष दाता मित्रनाथ न्यौपाने, धर्मपत्नी अतिमाया न्यौपाने, छोराहरू रमेश न्यौपाने र नवराज न्यौपानेले संयुक्त रूपमा ५ लाख रुपियाँको चेक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रराज आचार्यलाई हस्तान्तरण गरेका हुन् । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अक्षयकोष दाता न्यौपाने परिवारलाई धन्यवादसहित सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो ।





