पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. बेदराज केसीले आईतबार पदभार ग्रहण गरेका छन । विश्वविद्यालयको केन्द्रीय कार्यालय ढुंगेपाटनमा आयोजित औपचारिक समारोहबीच उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणसँगै आयोजित स्वागत कार्यक्रममा उपकुलपति केसीले विश्वविद्यालयको समृद्धि, सुधार र भावी योजनाबारे दृष्टिकोण प्रस्तुत गर्दै उच्च शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रतिवद्धता व्यक्त गरे । विश्वविद्यालयको स्थापना कालदेखि हालसम्म योगदान पुर्याउने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै केसीले आगामी दिनमा सहकार्य र सकारात्मक परिवर्तनमार्फत विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउने बताए । संघीय कानुनअनुसार पोखरा विश्वविद्यालयलाई राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापित गर्नका लागि पहल गरिने र उच्च शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रम परिमार्जन तथा परीक्षा प्रणालीमा सुधारमा विशेष ध्यान दिने उनले उल्लेख गरे ।
केसीले कुलपतिसँग सपथ ग्रहण गर्दा पोखरा विश्वविद्यालयमा सकारात्मक परिवर्तन गर्ने दृढ संकल्पका साथ आएको स्मरण गराउँदै विधिवत् रूपमा विश्वविद्यालय सञ्चालन गर्न सबै सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको औंल्याए । उनले विश्वविद्यालयभित्रका चुनौतीहरूको समाधानका लागि सुझाव पेटिका स्थापना गरी प्राप्त सुझावका आधारमा नीतिहरू निर्माण गरिने जानकारी दिए । साथै, विद्यार्थी, शिक्षक, र कर्मचारीसँग सहकार्य गर्दै प्राज्ञिक गौरवलाई निरन्तर प्रवर्द्धन गर्ने योजना पनि उनले सार्वजनिक गरे । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, विश्वविद्यालय सभाका सदस्य, स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी, र विद्यार्थी गरी करिब ३०० भन्दा बढी सहभागी थिए। सहभागीहरूले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौतीहरू, र सुधारका सम्भावनाबारे धारणा राख्दै नवनियुक्त उपकुलपतिलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले अघिल्लो सातामात्रै केसीलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।





