पोखरा/ १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन । आज मेरै जिन्दगीमा यो मिल्यो । आश मारेको श्रीमान आज भेटेर घर लैजान पाउँदा…..५२ वर्षिया देवी ढकाल भक्कानिइन् । गला अवरुद्ध भयो । बोल्न खोज्दा सकिनन् । आँखाभरी आँसु भरिए । एक छिनपछि मनलाई सम्हालिन र भनिन्, ‘१२ वर्षदेखि तीन जना थियौ परिवारमा, आज पुस १६ गतेदेखि ४ जना भयौ ।’
बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरको कालीमाटी ढकालको स्थायी ठेगना हो । गाउँमा जग्गाजमीन, आम्दानीको स्रोत केही थिएन । अवसरको खोजी गर्दै कुलप्रसाद ढकालको परिवार १८ वर्षअघि चितवन बसाइ सर्यो । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० मा ऐलानी जग्गामा घरमात्र छ । अरु जग्गाजमीन र आम्दानीको स्रोत पनि छैन । कुलप्रसादको मानसिक स्वास्थ्य केही कमजोर थियो । बेलाबेलामा श्रीमती देवीसंग झगडा गरेर घर छाड्थे । १५ दिन, एक महिनामा घर फर्किन्थे । तर पछिल्लो समय घर छाडेका कुलप्रसाद १२ वर्षदेखि सम्पर्कबिहीन थिए । लामो समयदेखि सम्पर्कमा नआएपछि खोजीगुहारी पनि गरिन देवीले । तर पत्ता लागेन । ‘सुरुसुरुमा त फर्किने आशा थियो तर लामो समयदेखि नफर्केपछि हामीले आशा मारेका थियौ’, उनले भनिन, ‘अहिले भेट भयो । अव राम्रोसंग उपचार र स्याहारसुसार गर्छु ।’

श्रीमान् नभएपछि लालाबालासहित आफ्नो पनि हातमुख जोर्न देवीलाई ठूलो समस्या थियो । तर हिम्मत् हारिनन् । अरुको खेत अधियाँ र ठेकमा कमाइन् । दैनिक ज्यालामजदुरी गरिन । छोराछोरी हुर्काइन, पढाइन् । ती कष्टका दिन उनले सम्झन पनि चाहदिनन् । बाबु हराउने बेला छोरा सरोज ८ र छोरी सोविता ५ वर्षका थिए । अहिले सरोज विविएस दोस्रो वर्षमा र छोरी सोविता १२ कक्षा पढ्छिन ।
पोखरा–२५ हेम्जास्थित मानवसेवा आश्रममा गत विहीबार ढकाल भेटिएका थिए । आश्रमको निरीक्षण गर्न पुगेका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उनलाई भेटेका थिए । यसपछि छिमेकीको सहयोगमा मन्त्री पाठकले ढकालको परिवारसंग सम्पर्क गरे । शुक्रबारनै देवी छोरा सरोजलाई लिएर पोखरा आइन । माछापुच्छ«े गाउँपालिकाको खोराकोमुखमा देवीको बहिनीको घर थियो । त्यही बसे । मन्त्री पाठक पोखरा बाहिर थिए । सोमबार बेलुकीमात्र फर्किएपछि मंगलबार उनीहरुको पुनर्मिलन गराई मन्त्री पाठकले घर पठाए ।

अहिले ५८ वर्ष पुगेका कुलप्रसादले पहिला मसालको राजनीति गरेका थिए । मन्त्री पाठक दावली थिए । संगै राजनीतिमा हिन्थे । स्कुल जान्थे । ६ कक्षासम्म संगै पढे । ढकालले संझिएका रहेछन । परिवारको संझना नआउने होइन । तर घर भेटाउन नसकेको ढकालले बताए । घर छाडेको केही समयपछि फर्किदा घर पत्ता लगाउन सकेनन् । जताततै घर बनिसकेका थिए । मान्छेहरु कोही चिनिएनन् । अनि फर्किएर बागलुङतिर आएको ढकालले बताए ।
बिदाइ गर्नुअघि मन्त्री पाठकले ढकाललाई ज्याकेट किन्दिए । सर्ट, पाइन्ट र जुत्ता, पेटी पनि नापीनापी किनेर फेरिदिए । बेलाबेलामा ढकाललाई सुम्सुमाउथे । ढकाल भने मुस्कुराउथेमात्र । बोल्दैनथे । घरीघरी नमस्कार भने गर्थे । मानव सेवा आश्रममा श्रीमती र छोरासंग कुलप्रसादको १२ वर्षपछि पहिलो भेट भयो । बाबुलाई भेट्नसाथ छोरा सरोजले खुट्टा ढोगे । कुलप्रसासले श्रीमती, छोरा र छोरीको नाम भने । देवीका आँखामा खुशीका आँसु छचल्किरहेका थिए । सरोज केही नबोली बसेका थिए । आश मारिसकेको बाबु भेटिएकोमा उनी पनि कम्ता खुशी भने थिएनन् ।

ढकालको मानसिक स्वास्थ्य केही कमजोर रहेको आश्रमले जनाएको छ । अहिले दैनिक दुईथरी औषधी खान्छन । सुर्ती पाए फुरुंग पर्छन । आश्रमको किचनमा सरसफाई होस वा तरकारी काट्न उनले सघाउँदै आएका थिए । बोलेपछि बोलेको बोल्यै गर्छन । घरीघरी टोलाउँछन । ढकाललाई २०८० कात्तिक २१ गते पर्वत र बागलुङ सिमा मालढुंगाबाट वेवारिस अवस्थामा सडकबाट मानवसेवा आश्रमको मेचीमहाकाली उद्धार टोलीले उद्धार गरेर पोखरा हेम्जा पठाएको थियो । मानवसेवा आश्रम कास्कीका संयोजक सविस पुनले नियमित औषधी सेवन र हेरचाह पाए कुलप्रसादको अन्य शारिरीक अवस्था भने ठिक रहेको बताए । परिवारलाई सोही अनुसार ख्याल राख्न उनले अनुरोध गरे ।

अन्तिममा मन्त्री पाठकले कुलप्रसादलाई माला र खादा लगाइदिए । सुखद पुनर्मिलन सधै रहीरहोस् भन्ने कामना गरे । परिवारजनलाई ढकालको नियमित स्वास्थ्य परीक्षण र स्याहार सुसार गर्न भने । आफुले पनि सक्दो सहयोग गर्ने वचन दिए । ढकाललाई अव बुढेसकाल लाग्यो, घरपरिवारसंग मिलेर बस्नु है साथी भनि सम्झाए । ढकालले हस् अव म घर छाड्दिन भने । श्रीमती र छोराको साथमा रहेका ढकाल हल्का मुस्कुराए । आश्रममा रहेका झन्डै १५० जनालाई नमस्कार गरे, बाइबाइ भन्दै गेटबाट बाहिरिए । त्यसपछि पनि मन्त्री पाठकको मन मानेन, गोजीबाट पैसा निकाले । ल, गाडी भाडा गरेर चितवन घर पुग्नु भनि ढकालका छोरा सरोजको हातमा थमाए ।

यसरी भेटिएका थिए ढकाल
यही पुस ११ गते विहीबारका दिन स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक मानवसेवा आश्रम पुगे । आश्रममा आश्रितको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेका थिए । मन्त्री आउने जानकारी पाएपछि आश्रमले सोही अनुसारको तयारी गर्यो । झन्डै डेढसय आश्रितहरु सबै एकै ठाममा जम्मा भइसकेका थिए ।

उनीहरुको बिचबाट एकजना व्यक्ति उठेर मन्त्री पाठकलाई नमस्कार गरे । पाठक अलि अचम्मित भए । उनले ती व्यक्तिलाई घर कहाँ भनि सोधे । नमस्कार गर्ने व्यक्ति अलमलिए । पाठकले दोहोराए, ‘घर कहाँ पर्यो ।’ बागलुङ भन्ने उत्तर आयो । पाठकले आफ्नो घर पनि बागलुङ भनेर फेरी ती व्यक्तिलाई बागलुङको कुन ठाउँ घर हो भनि सोधे । उनले अमलाचौर भने । पाठकले फेरी गाउँ कुन, हो कोकोलाई चिन्नुहुन्छ भनि सोधे । ती व्यक्तिको नाम पनि सोधे । उत्तरमा कुलप्रसाद ढकाल भने पछि बल्ल मन्त्री पाठकले उनलाई चिने ।

बाल्यकालको साथी भेटिएपछि पाठक भावुक भए । लामो समयदेखि हराएकाले मन्त्री पाठकले पनि ढकालको आश मेटीसकेका रहेछन । अझ चितवन बसाई सरेपछि त भेटघाटै भएको थिएन, दुईजनाबीच । बाल्यकालमा संगै खेलेको, संगै राजनीतिमा हिनेको साथी भेटिएपछि आफु भावुक बनेको मन्त्री पाठकले बताए । ‘म राजनीतिमा लागे । ढकाल गाउँमै खेती किसानी गर्थे । सानै उमेरमा भारत जानेआउने गर्थे, लामो समय भएको थियो नभेटेको’ पाठकले भने, ‘सबैले हरायो । म¥यो भनेर आस मारिसकेका थिए । एक्कासि भेट्दा भावुक भएँ ।’ भेटेकै दिन मन्त्री पाठकले कुलप्रसादको परिवारलाई जानकारी गराए पछि श्रीमती देवी र छोरा सरोज आएर लिएर गएका हुन ।






