बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

जव हराएका श्रीमान् १२ वर्षपछि भेटिए…….

जव हराएका श्रीमान् १२ वर्षपछि भेटिए…….

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले १२ वर्षदेखि बेपत्ता बाल्यकालका साथी भेटाएर मंगलबार परिवारसंग पुनर्मिलन गराएका छन


  • लालप्रसाद शर्मा
  • पुष १६ २०८१, मंगलबार

पोखरा/ १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन । आज मेरै जिन्दगीमा यो मिल्यो । आश मारेको श्रीमान आज भेटेर घर लैजान पाउँदा…..५२ वर्षिया देवी ढकाल भक्कानिइन् । गला अवरुद्ध भयो । बोल्न खोज्दा सकिनन् । आँखाभरी आँसु भरिए । एक छिनपछि मनलाई सम्हालिन र भनिन्, ‘१२ वर्षदेखि तीन जना थियौ परिवारमा, आज पुस १६ गतेदेखि ४ जना भयौ ।’

बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरको कालीमाटी ढकालको स्थायी ठेगना हो । गाउँमा जग्गाजमीन, आम्दानीको स्रोत केही थिएन । अवसरको खोजी गर्दै कुलप्रसाद ढकालको परिवार १८ वर्षअघि चितवन बसाइ सर्यो । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० मा ऐलानी जग्गामा घरमात्र छ । अरु जग्गाजमीन र आम्दानीको स्रोत पनि छैन । कुलप्रसादको मानसिक स्वास्थ्य केही कमजोर थियो । बेलाबेलामा श्रीमती देवीसंग झगडा गरेर घर छाड्थे । १५ दिन, एक महिनामा घर फर्किन्थे । तर पछिल्लो समय घर छाडेका कुलप्रसाद १२ वर्षदेखि सम्पर्कबिहीन थिए । लामो समयदेखि सम्पर्कमा नआएपछि खोजीगुहारी पनि गरिन देवीले । तर पत्ता लागेन । ‘सुरुसुरुमा त फर्किने आशा थियो तर लामो समयदेखि नफर्केपछि हामीले आशा मारेका थियौ’, उनले भनिन, ‘अहिले भेट भयो । अव राम्रोसंग उपचार र स्याहारसुसार गर्छु ।’

श्रीमान् नभएपछि लालाबालासहित आफ्नो पनि हातमुख जोर्न देवीलाई ठूलो समस्या थियो । तर हिम्मत् हारिनन् । अरुको खेत अधियाँ र ठेकमा कमाइन् । दैनिक ज्यालामजदुरी गरिन । छोराछोरी हुर्काइन, पढाइन् । ती कष्टका दिन उनले सम्झन पनि चाहदिनन् । बाबु हराउने बेला छोरा सरोज ८ र छोरी सोविता ५ वर्षका थिए । अहिले सरोज विविएस दोस्रो वर्षमा र छोरी सोविता १२ कक्षा पढ्छिन ।

पोखरा–२५ हेम्जास्थित मानवसेवा आश्रममा गत विहीबार ढकाल भेटिएका थिए । आश्रमको निरीक्षण गर्न पुगेका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उनलाई भेटेका थिए । यसपछि छिमेकीको सहयोगमा मन्त्री पाठकले ढकालको परिवारसंग सम्पर्क गरे । शुक्रबारनै देवी छोरा सरोजलाई लिएर पोखरा आइन । माछापुच्छ«े गाउँपालिकाको खोराकोमुखमा देवीको बहिनीको घर थियो । त्यही बसे । मन्त्री पाठक पोखरा बाहिर थिए । सोमबार बेलुकीमात्र फर्किएपछि मंगलबार उनीहरुको पुनर्मिलन गराई मन्त्री पाठकले घर पठाए ।

अहिले ५८ वर्ष पुगेका कुलप्रसादले पहिला मसालको राजनीति गरेका थिए । मन्त्री पाठक दावली थिए । संगै राजनीतिमा हिन्थे । स्कुल जान्थे । ६ कक्षासम्म संगै पढे । ढकालले संझिएका रहेछन । परिवारको संझना नआउने होइन । तर घर भेटाउन नसकेको ढकालले बताए । घर छाडेको केही समयपछि फर्किदा घर पत्ता लगाउन सकेनन् । जताततै घर बनिसकेका थिए । मान्छेहरु कोही चिनिएनन् । अनि फर्किएर बागलुङतिर आएको ढकालले बताए ।

बिदाइ गर्नुअघि मन्त्री पाठकले ढकाललाई ज्याकेट किन्दिए । सर्ट, पाइन्ट र जुत्ता, पेटी पनि नापीनापी किनेर फेरिदिए । बेलाबेलामा ढकाललाई सुम्सुमाउथे । ढकाल भने मुस्कुराउथेमात्र । बोल्दैनथे । घरीघरी नमस्कार भने गर्थे । मानव सेवा आश्रममा श्रीमती र छोरासंग कुलप्रसादको १२ वर्षपछि पहिलो भेट भयो । बाबुलाई भेट्नसाथ छोरा सरोजले खुट्टा ढोगे । कुलप्रसासले श्रीमती, छोरा र छोरीको नाम भने । देवीका आँखामा खुशीका आँसु छचल्किरहेका थिए । सरोज केही नबोली बसेका थिए । आश मारिसकेको बाबु भेटिएकोमा उनी पनि कम्ता खुशी भने थिएनन् ।

ढकालको मानसिक स्वास्थ्य केही कमजोर रहेको आश्रमले जनाएको छ । अहिले दैनिक दुईथरी औषधी खान्छन । सुर्ती पाए फुरुंग पर्छन । आश्रमको किचनमा सरसफाई होस वा तरकारी काट्न उनले सघाउँदै आएका थिए । बोलेपछि बोलेको बोल्यै गर्छन । घरीघरी टोलाउँछन । ढकाललाई २०८० कात्तिक २१ गते पर्वत र बागलुङ सिमा मालढुंगाबाट वेवारिस अवस्थामा सडकबाट मानवसेवा आश्रमको मेचीमहाकाली उद्धार टोलीले उद्धार गरेर पोखरा हेम्जा पठाएको थियो । मानवसेवा आश्रम कास्कीका संयोजक सविस पुनले नियमित औषधी सेवन र हेरचाह पाए कुलप्रसादको अन्य शारिरीक अवस्था भने ठिक रहेको बताए । परिवारलाई सोही अनुसार ख्याल राख्न उनले अनुरोध गरे ।

अन्तिममा मन्त्री पाठकले कुलप्रसादलाई माला र खादा लगाइदिए । सुखद पुनर्मिलन सधै रहीरहोस् भन्ने कामना गरे । परिवारजनलाई ढकालको नियमित स्वास्थ्य परीक्षण र स्याहार सुसार गर्न भने । आफुले पनि सक्दो सहयोग गर्ने वचन दिए । ढकाललाई अव बुढेसकाल लाग्यो, घरपरिवारसंग मिलेर बस्नु है साथी भनि सम्झाए । ढकालले हस् अव म घर छाड्दिन भने । श्रीमती र छोराको साथमा रहेका ढकाल हल्का मुस्कुराए । आश्रममा रहेका झन्डै १५० जनालाई नमस्कार गरे, बाइबाइ भन्दै गेटबाट बाहिरिए । त्यसपछि पनि मन्त्री पाठकको मन मानेन, गोजीबाट पैसा निकाले । ल, गाडी भाडा गरेर चितवन घर पुग्नु भनि ढकालका छोरा सरोजको हातमा थमाए ।

यसरी भेटिएका थिए ढकाल

यही पुस ११ गते विहीबारका दिन स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक मानवसेवा आश्रम पुगे । आश्रममा आश्रितको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेका थिए । मन्त्री आउने जानकारी पाएपछि आश्रमले सोही अनुसारको तयारी गर्यो । झन्डै डेढसय आश्रितहरु सबै एकै ठाममा जम्मा भइसकेका थिए ।

उनीहरुको बिचबाट एकजना व्यक्ति उठेर मन्त्री पाठकलाई नमस्कार गरे । पाठक अलि अचम्मित भए । उनले ती व्यक्तिलाई घर कहाँ भनि सोधे । नमस्कार गर्ने व्यक्ति अलमलिए । पाठकले दोहोराए, ‘घर कहाँ पर्यो ।’ बागलुङ भन्ने उत्तर आयो । पाठकले आफ्नो घर पनि बागलुङ भनेर फेरी ती व्यक्तिलाई बागलुङको कुन ठाउँ घर हो भनि सोधे । उनले अमलाचौर भने । पाठकले फेरी गाउँ कुन, हो कोकोलाई चिन्नुहुन्छ भनि सोधे । ती व्यक्तिको नाम पनि सोधे । उत्तरमा कुलप्रसाद ढकाल भने पछि बल्ल मन्त्री पाठकले उनलाई चिने ।

बाल्यकालको साथी भेटिएपछि पाठक भावुक भए । लामो समयदेखि हराएकाले मन्त्री पाठकले पनि ढकालको आश मेटीसकेका रहेछन । अझ चितवन बसाई सरेपछि त भेटघाटै भएको थिएन, दुईजनाबीच । बाल्यकालमा संगै खेलेको, संगै राजनीतिमा हिनेको साथी भेटिएपछि आफु भावुक बनेको मन्त्री पाठकले बताए । ‘म राजनीतिमा लागे । ढकाल गाउँमै खेती किसानी गर्थे । सानै उमेरमा भारत जानेआउने गर्थे, लामो समय भएको थियो नभेटेको’ पाठकले भने, ‘सबैले हरायो । म¥यो भनेर आस मारिसकेका थिए । एक्कासि भेट्दा भावुक भएँ ।’ भेटेकै दिन मन्त्री पाठकले कुलप्रसादको परिवारलाई जानकारी गराए पछि श्रीमती देवी र छोरा सरोज आएर लिएर गएका हुन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->