पोखरा/ गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणका लागि कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गण्डकी प्रदेशका सामाजिक विकास सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कोरियाली सरकारमार्फत कोइकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर (१ अर्ब २३ करोड रूपैयाँ) खर्च गर्नेछ। यो काम सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षालय तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्। सभ्झौतालगत्तै शुक्रबार नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ गुर्धुममा निर्माण गरिने भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन् । उक्त स्थानमा नेपाल सरकारले १ सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । यो परियोजनाको मुख्य उद्देश्य २१औं शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने रहेको जनाइएको छ । साथै परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम (टीभेट) नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पुर्याउने बताइएको छ । कोइकाले प्राविधिक शिक्षालयको गुरूयोजना, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ।
सम्झौतापछि मुख्यमन्त्री पाण्डेले कोरियाली सरकारलाई गण्डकी प्रदेश सरकार र प्रदेशवासीको तर्फबाट धन्यवाद दिए । पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै यो परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले यो परियोजनाले युवा, महिला र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने र तिनीहरूलाई आजको तीव्र रूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने बताए । उनले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उनले उल्लेख गरे । सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने र त्यसले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
३ वर्षअघि गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका कन्ट्री डाइरेक्टर सङहुन घोले सहयोगको प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत् गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दैछ । प्रदेशभित्र आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवाहरुलाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका साथ गण्डकी सरकारले प्रतिष्ठान स्थापना गरेको हो ।
गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले प्रदेशका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण अनुसार तालिमहरु सञ्चालन गर्नका लागि पूर्वाधारका लागि प्राप्त सहयोगले ठूलो महत्व राख्ने बताए ।कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम थालिसकेको छ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपी लगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले काम थालिसकेको छ ।





