पोखरा/ पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र निर्माण गरिने नयाँ अत्याधुनिक शैक्षिक भवनको पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. बेदराज के.सी. ले शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीसहित विश्वविद्यालयका पदाधिकारी, शिक्षक, र कर्मचारीहरूको सहभागिता रहेको थियो। नयाँ शैक्षिक भवन प्राज्ञिक भवन कम्प्लेक्सको पश्चिमपट्टि, स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि रहेको स्थानमा निर्माण हुँदैछ । निर्माणको जिम्मेवारी श्रेष्ठ एण्ड सन्स, चो रोल्पा जेभी, काठमाडौंले पाएको छ भने सुपरभिजन पेस कन्सल्टेन्ट, काठमाडौंले गर्नेछ।
२०८१ साउन १५ बाट सुरु भएको परियोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ४१ करोड ४३ लाख १७ हजार ५५९ रुपैयाँ ७७ पैसाको लागतमा निर्माण हुने यो भवनसँगै स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कूल अफ बिजनेसका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मत कार्य पनि अघि बढाइनेछ। नयाँ शैक्षिक भवन भुइँतलादेखि सात तलासम्म निर्माण हुनेछ। यस भवनमा २६ वटा कक्षा कोठा, १२ प्रशासनिक कोठा, २४ शिक्षकका कोठा, र ४ वटा विभागीय प्रमुखका कोठा हुनेछन्। यसबाहेक, प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री, बिजुली कोठा, र ४ वटा भण्डार कोठाहरू पनि रहनेछन्। भवनमा दुईवटा भर्याङ् र एउटा लिफ्टसहित ३०० जना क्षमताको अडिटोरियम हल र ४० जना क्षमताको मिनी हलको व्यवस्था हुनेछ। भवन परिसरमा १९ वटा कार र १२० वटा मोटरसाइकल पार्किङ सुविधा उपलब्ध गराइनेछ।
निर्माण व्यवसायीले भवनलाई पर्दा, कार्पेट, र फर्निचरसहित सुसज्जित गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्नेछ। यस अवसरमा निवर्तमान उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले शुभकामना सन्देश दिँदै पोखरा विश्वविद्यालयमा नयाँ शैक्षिक भवन शिलान्यास भएकोमा खुशी व्यक्त गरेका छन । उनले यसलाई आफ्नो सपना पूरा भएको महत्त्वपूर्ण क्षण भन्दै विश्वविद्यालय परिवारलाई बधाई पनि दिए । यस भवनले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।





