म्याग्दी/ सदरमुकाम बेनीबजारस्थित जिल्लाको पुरानो म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन भएका छन् । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको संरक्षकमा हरिकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गाना रहेका छन् ।
उपाध्यक्षमा प्रेमबहादुर कार्की (दिपक बिखर्ची), कोषाध्यक्षमा सेरबहादुर केसी, सदस्यहरुमा दुर्गाराम सुुवेदी, ठाकुरप्रसाद शर्मा, किरन सापकोटा, बिक्रम बोगटी, बिनोदप्रसाद शर्मा, मनोज पौडेल, घनश्याम खड्का र ज्ञानेन्द्रकुमार श्रेष्ठ चयन भएको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले जानकारी दिए । क्याम्पस प्रमुख श्रीधर सुवेदी सञ्चालक समितिको सदस्य सचिव रहने ब्यवस्था रहेको छ । कक्षा ११, १२, स्नातक र स्नातकोत्तरमा गरी करिब १ हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पसमा विद्यार्थीको आर्कषण बढाउने गरी थप नयाँ कार्यक्रमहरूलाई समेत प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठको भनाई छ । पछिल्लो समय क्याम्पसले पठनपाठन सहित उद्यमशिलता तालिम समेत सञ्चालन गरिरहेको छ ।





