सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहकारी ठगीमा देव नेपाली बिरुद्ध मुद्दा दिने ५ सय ४७ जनाको मेलमिलाप

सहकारी ठगीमा देव नेपाली बिरुद्ध मुद्दा दिने ५ सय ४७ जनाको मेलमिलाप


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८१, शनिबार

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितहरुले मेलमिलाप गरेका छन् ।
शुक्रवार पीडित मध्ये ५ सय ४७ जनाले बिगो दावी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनु पर्ने रकम पाएको भन्दै मेलमिलाप गरिदिएका हुन् । उनीहरुको मेलमिलापकालागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो ।

ठगी मुद्दामा नेपालीलाई बिपक्षी बनाएका जाहेरवाला मध्ये ५ सय ४७ जना बचतकर्ताले यो मेलमिलापपछि मुद्दा फिर्ता लिनेछन् । उनीहरुको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दावी गरिएको बिगो रकम समेत घटेको छ ।

जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलासले शुक्रवार आंशिक मेलमिलाप भएको आदेश दिएको हो । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवर समेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकोले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले यो मुद्दा नमूना भएको बताए । उनीहरुले मेलमिलाप गर्दा बिपक्षीको बिगो घटेको जानकारी गराए । नेपाली बिरुद्दको ठगी मुद्दा भने यथावत रहनेछ ।

हाल नेपाली पुर्पक्षकालागि जिल्ला कारागारमा छन् । गत असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो ।१ हजार ५ सय ७३ जनाले नेपाली सहित संचालक र कर्मचारी गरी १३ जना बिरुद्द सहकारी ठगीको मुद्दा दिएका थिए । सहकारीको १ अर्ब ४५ करोड रुपैयँ हिनामिना गरेको आरोप अब २३ करोडले घट्नेछ ।

ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए । बैसाख ६ गते नै इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा तरलता अभाव भएकोले कार्यालय बन्द भएको सूचना टाँस गरेपछि बचतकर्ताहरुले आफ्नो रकम ठगी भएको भन्दै जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायको दैलो गुहारेका थिए । पीडितहरुको जाहेरी संकलन गरी जिल्ला प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते नेपाली बिरुद्ध मुद्दा दायर गरेको थियो । २०८० कै माघमा नेपाली बिरुद्द रेड कर्नर नोटिस जारी भएको थियो ।

भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएपछि नेपाली जिल्ला अदालत बागलुङमा हाजिर गराइएका थिए । यो मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षमा छन् । सोही मुद्दामा ओमप्रसाद दर्जी भने धरौटीमा छुटेका थिए । जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकोले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाए समेतको माग गरिएको थियो । नेपालीको मुद्दामा अधिवक्ता राम शर्मा र केशवराज पराजुलीले बहस गरेका छन् । प्रम्ुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी र प्रहरी उपरिक्षक ऋषिराम कंडेलले पीडितहरुलाई जुटाएर उनीहरुको रकम फिर्ता पाउने वातावरणमा सहजीकरण गरेका थिए । यो आदेशले नेपालीको जायजेथा, चल अचल सम्पत्तिबाट साना बचतकर्ताले पनि रकम फिर्ता पाउने वातावरण बन्ने प्रजिअ सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->