सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

३५ करोडको कारोबार, ३१ करोड लगानी

३५ करोडको कारोबार, ३१ करोड लगानी


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी मनाएको हो । संस्थाले विगत ६ वर्षदेखि साधारणसभामा सदस्य बाहेक अतिथि नबोलाउने, उद्घाटन सल्लाहकारहरुले गर्ने, खुल्ला सत्र नगरी शुरुमै प्रतिवेदनहरु प्रस्तुत गर्नुका साथै संस्थाको समग्र अवस्था बारे प्रस्तुतीकरण गर्ने र सदस्यहरुबीच छलफल गर्ने गरि मनाउदै आएको छ ।
साधारणसभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार मनकुमारी केसी, सल्लाहकारहरु डिल बहादुर कार्की, अमर बहादुर थापा, रुद्र बहादुर महत, कमल प्रसाद श्रेष्ठ, दयाराम पौडेल र सुरेश प्रसाद श्रेष्ठले गरे । सल्लाहकारहरुका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष मन कुमारी केसीले सहकारी अभियान, सदस्यहरुको क्षमता विकास, नेतृत्व विकास लगायत वित्तीय तथा सूचना सञ्चारको क्षेत्रमा आदर्श सञ्चारको योगदान महत्वपूर्ण रहेको बताइन् ।
संस्थाको वित्तीय अवस्था, आगामी योजना लगायतका विषयमा सहजीकरण गर्दै संस्थाका सम्पादक राम बहादुर जिसीले आदर्श सञ्चार सहकारीले साविक धौलागिरी क्षेत्रको सहकारी अभियानलाई अगाडि बढाउन शुरुदेखि नै महत्वपूर्ण भूमिका खेलेको जानकारी गराए । साधारण सभामा संस्थाका सचिव सरस्वती खड्का परियारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक अनन्त बहादुर खड्काले प्रस्तुत गरे । साधारणसभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतीले पारित भएको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।
कार्यक्रममा ३३ जना जेष्ठ शेयर सदस्यहरुलाई दुई हजार ४०० का दरले पेन्सन प्रदान गरिएको थियो । संस्थाले पेन्सनकोष स्थापना गरी संस्थामा सदस्य बनेको १० वर्ष भई ७० वर्ष उमेर पुरा भएका सदस्यहरुलाई पेन्सन वितरण गर्दै आएको छ । साधारणसभामा १४ जना अपाङ्गता भएका शेयर सदस्यहरुलाई जनही रु. एक हजार अपाङ्गता प्रोत्साहन रकम गरिएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थामा हाल ५ करोड ६० लाख शेयर रकम, २० करोड वचत रकम, ३१ करोड ऋण लगानी, २ करोड कोषसहित ३५ करोडको कुल कारोबार रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->