बागलुङ/बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेलाई १–३ गोलले स्तब्ध पार्दै डिपिओ बागलुङ र संकल्पले नेपाली सेनाको नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा ४–५ गोलले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेका हुन् ।
दुई विभागिय टोलीबीच भएको रोमाञ्चक खेलमा डिपिओ बागलुङका लागि केशर बलामले खेल शुरु भएको ५ मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा प्रहरीका विवेक गुरुङले आर्कषक गोल गर्दै अग्रता दोब्बर बनाए । ७ मिनेटमा दुई गोलले पछि परेको श्रीमेहरका लागि प्रकाश बानियाँले १७ औं मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेन । खेलको इन्जुरी समयमा प्रहरीका मन बहादुर विष्टले निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे । प्रहरीले बिहिबार हुने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब र गुराँस गुठी युनाईटेड क्लबबीच हुने खेलको विजयी टोलीसंग सेमीफाइनलमा भीड्ने छ ।
बुधबार भएको तेस्रो खेलमा नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै संकल्प पुर्नस्थापना केन्द्रले सेमीफाइनल यात्रा तय गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा नारायण दलका सुनिल थारु, धिरेन्द्र शाही, दिपक थापा र जगदिश थारु गोल गर्न चुक्दा पराजय भोग्नुपर्यो । नारायण दलका लागि सुनिल थारु, सुरेश थारु, लोकेश थापा र पुस्कर पौडेलले गोल गरे । पुर्नस्थापनाको लागि मुकुन्द न्युरे, युनिस तामाङ, मनिष गुरुङ, विशाल नेपाली र आयुष गुरुङले गोल गरे । संकल्पले बिहिबार हुने चिल्ड्रेन र प्रर्पल हेजबीच हुने खेलको विजयी टोलीसंग खेल्ने छ ।
यस्तै, बुधबार नै भएको पहिलो खेलमा रुद्रेपिपल युवा क्लबलाई ट्राइबेकरमा पराजित गर्दै प्रर्पल हेज क्वाटरफाइनलमा प्रवेश गरेको छ । २–२ गोलको बराबरीपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । रुद्रेपिपलले खेलमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । रुद्रेपिपलका मिलन गिरीले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
निकै नै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफको इन्जुरी समयमा प्रर्पल हेजका सचिन गुरुङले गोल गर्दै खेललाई बराबरी गरेका थिए । दोस्रो हाफमा प्रर्पलका सामभेल सुनार र रुद्रेपिपलका आयुस थापाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा प्रर्पल हेज ४–३ गोलले विजयी बन्यो । पेनाल्टीमा प्रर्पलका सुजल श्रेष्ठ, अजित गुरुङ, रोशन दोङ र अनिष मर्हजनले गोल गर्दा रुद्रेपिपलका सचिन गुरुङ र आयुष थापा गोल गर्न असफल हुँदा हार व्यहोर्नुपर्यो । रुद्रेपिपलका लागि आशिष गुरुङ, मिलन गिरी र रोशन थापा मगरले गोल गरे ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेल ६६ हजार ६ सय ६६ रुपैयाँ नगद र मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने भएको आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।
खेलका लागि झण्डै ८ लाख ५० हजार खर्च हुने अनुमान छ । त्यसका लािग आयोजकले सदस्य र बिदेशमा बसेका युवाहरुको साथबाट ६ लाख रुपैयाँ संकलन गरिसकेको छ । सहयोग आउने क्रमजारी रहेको कार्यक्रम संचालक रोहन जिसीले बताए ।





