बागलुङ / गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बागलुङमा प्याथोलोजी सेवा सुरु गरेको छ । अस्पतालको ६६औं बार्षिकोत्सवको अवसर पारेर माघ १ गतेदेखि प्याथोलोजी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । उक्त सेवा विभागको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले एक कार्यक्रमका विच मंगलवार गरे ।
सो अवसरमा मन्तब्य राख्दै स्वास्थ्य मन्त्री पाठकले धौलागिरी अस्पतालका विरामीलाई दिईने सेवा सुविधा तथा विशेषज्ञ सेवा विस्तार गर्ने प्रदेश सरकारको कार्यक्रम अनुसार अस्पतालमा सेवा विस्तार गरिएको बताए । गण्डकी प्रदेश अन्तरगत धौलागिरी अस्पताल प्याथोलोजी सेवा दिने पहिलो अस्पताल भएको बताउदै मन्त्री पाठकले साविकको धौलागिरी, गुल्मी, रुकुम लगायत यस क्षेत्रका विरामी यो सेवा लिन लागि पोखरा र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । यसवाट सर्वसाधारण नागरिक लाभन्वित हुनेछन् ।

प्याथोलोजी सेवा अन्तरगत हेमाटोलोजी, साईटोप्याथोलोजी, हिस्टोप्याथोलोजी सेवा पर्दछन् । अब अस्पतालबाटै गन्थ्री तथा अन्य शरिरको क्यान्सर परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, फोक्सो, पेट लगायतका शरिरको पानी परीक्षण र खकारबाट क्यान्सरको परीक्षण सेवा प्राप्त हुनेछ ।
यसबाट रक्त अल्पताका कारण पत्ता लाग्नेछ र रगतका विभिन्न क्यान्सरहरुको पहिचान हुनेछ । शरिरमा पलाएका विभिन्न गाँठाहरुको कारण पत्ता लगाई त्यसको सही उपचार हुने अस्पतालले जनाएको छ ।





