पोखरा/ पोखरा विज्ञान प्रतिष्ठानको पहिलो प्राज्ञिक कार्यक्रम एम.डी (डक्टर अफ मेडिसिन)/ एम.एस (मास्टर अफ सर्जरी) को अध्ययन सफलतापूर्वक सम्पन्न गरी विशेषज्ञता हासिल गर्ने ४३ विद्यार्थी विहीबार दीक्षित भएका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो ब्याच २०८० मा एम.डी/एम.एस उत्तीर्ण गर्ने १७ जना र दोस्रो ब्याच २०८१ मा उत्तीर्ण हुने २६ जना विद्यार्थीलाई उपाधि प्रदान गर्दै दीक्षित गरे ।
उक्त अवसरमा ओलीले पहिलो ब्याचमा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने अरबिन्दकुमार शाह (अर्थोपेडिक्स) र दोस्रो ब्याचबाटद आशिष सापकोटा (जनरल सर्जरी) लाई भिसी मेडल प्रदान पनि गरे । उक्त अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताए । साथै पोखरामा १४ जनाको मृगौला मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धि रहेको समेत उनले बताए । ‘शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको छ’, प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहको अध्यक्षता गर्दै ओलीले भने । मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको उनले दावी गरे । उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए ।
नेपाल ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको प्रधानमन्त्री ओलीले जनाए । ‘हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,’ उनले भने, ‘चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ । अरु कसैले बनाइदिदैन । लागेपछि नेपाल बन्छ ।’ ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुनुपर्ने शुभकामना दिए । विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए । यसअघि प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन गरे ।
प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तीको उत्पादन बढेको भए पनि उत्पादित जनशक्ती बिदेशिने लहरले चुनौती थपिएको बताए । आज दीक्षित जनशक्तीलाई नेपालमै बसेर सेवा प्रदान गर्न अनुरोध गर्दै उनले यो विदेशिने क्रमलाई कसरी रोक्न सकिन्छ भन्नेतर्फ आवस्यक सल्लाह र सुझावको पनि अपेक्षा राखे । ‘तपाईहरु विशिष्ट क्षमता भएको व्यक्ति हो’ दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै उनले भने, ‘यसर्थ नेपालमै बसेर समाजलाई पनि विशिष्ट सेवा दिन आग्रह गर्दछु ।’ मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको उक्त अवसरमा जानकारी गराए । वर्षेनी झण्डै ८ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी एक संस्थाको सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।
दीक्षान्त समारोहका प्रमुख अतिथिमा स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक एमेरिटस माग्नुस बेस्टग्रेन रहेका थिए । उनले स्वास्थ्य क्षेत्रको आफ्नो अनुभव सुनाए ।

विरामीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका अतिरिक्त स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०७२ माघ १२ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानले चिकित्सा विज्ञानसंग सम्बन्धित स्वास्थ्य शिक्षा, अनुसन्धान र उपचार सेवालाई समानान्तर रुपमा अगाडि बढाउँदै लगेको प्रतिष्ठानका उपकुलपति प्रा.डा.डुकबहादुर क्षेत्रीले बताए । उनका अनुसार हालसम्म प्रतिष्ठानमा एम.डी/एम.एस, एमबिबिएस, नर्सिङतर्फ बिएनएस र बिएस्सी नर्सिङ कार्यक्रममा पढाई हुँदै आएको छ ।
प्रतिष्ठानको प्राज्ञिक ईतिहासतर्फ स्नात्तकोत्तर तहएको एम.डी. एम.एस. कार्यक्रमको लागि विभिन्न ५ वटा विभागमा १७ सिट निर्धारण भई अध्यापन सुरु भएको थियो । हाल भने स्नात्तकोत्तरतर्फ विभिन्न १० विभागमा ९१ जना विद्यार्थी पढीरहेका छन् । स्नातकतर्फ १७१ विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारले हरेक प्रदेशमा सरकारीस्तरमा एमबिबिएस कार्यक्रम संचालन गर्ने नीति अनुरुप यस प्रतिष्ठानमा पनि यसै वर्षदेखि ५० सिट प्राप्त गरी यही पुस २५ गतेदेखि पढाई सुरु भएको छ । अध्यापनका लागि प्राज्ञिक जनशक्तितर्फ सबै बिधामा गरी १८८ जना शिक्षक कार्यरत छन् । उपकुलपति क्षेत्रीले दीक्षित जनशक्तिले प्राप्त गरेको ज्ञान, सीप र क्षमता यही मुलुकको स्वास्थ्य सेवामा सदुपयोग गर्ने विश्वास गरे ।
प्रतिष्ठान अन्तर्गत २०१२ सालमा सोल्जर्स बोर्ड अस्पतालको नाममा सञ्चालन भएको अस्पताल विभिन्न कालखण्डामा कास्की जिल्ला अस्पताल, गण्डकी अंचल अस्पताल हुदै हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रुपमा बिकास भएको छ । २०६९ देखि ५ सय शैय्या क्षमता बिस्तार भएर संचालित अस्पताल प्रतिष्ठान स्थापना भएसंगै प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा परिणत भएको हो । अस्पतालले हाल वार्षिक ५ लाख बिरामीलाई बहिरंग सेवा, ५० हजार बिरामीलाई आकस्मिक सेवा र २५ हजार बिरामीलाई अन्तरंग सेवा प्रवाह गरेको उक्त अवसरमा जानकारी गराइयो । वार्षिक करिब १० हजार प्रसुती सेवा दिने अस्पतामा साना ठूला गरी १० हजार शल्यक्रिया सेवा समेत प्रदान हुने क्षेत्रीले बताए । २५ विधामा बहिरंग सेवा, १५ बिधामा अन्तरंग सेवा संचालन गरेको प्रतिष्ठानले विरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउने क्रममा हाल अत्याधुनिक उपकरण जडान गरी एमआरआई, सिटी स्क्यान, क्याथ ल्याव लगायत सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोबिलियरी, कार्डियोलोजी, नेफ्रोलोजी, युरोलोजी, न्यूरो सर्जरी, प्लाष्टिक सर्जरी, कार्डियोभास्कुलर सर्जरी जस्ता विशिष्टिकृत स्वास्थ्य सेवा थपेको छ ।

गण्डकी प्रदेशमै पहिलोपटक मृगौला प्रत्यारोपण सेवा संचालन गरेको अस्पतालमा हालसम्म १४ जनाको मृगौला प्रत्यारोपण भएको छ । विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत यसै वर्षदेखि हेड एन्ड स्पाइनल इन्जुरीको उपचार सेवा समेत सुरु भइसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले जनस्वास्थ्य, एलाईड हेल्थ साइन्सेज एवं डि.एस/एम.सी. एच. जस्ता शैक्षिक कार्यक्रम संचालनकालागि आवस्यक गृहकार्य गरिरहेको छ । साथै अस्पतालमा ५० शैय्याको आकस्मिक बिभाग संचालन गर्ने तयारी गरिएको छ । सघन उपचार कक्षलाई १५ बाट २५ पुराउने र ठूला आकस्मिक घटनालाई मध्यनजर राख्दै ८० वटा सम्म शव व्यवस्थित तरीकाले राख्न सकिने गरी कोल्ड रुपको निर्माण भइरहेको छ ।





