बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

खेलाडी बनाउन वडाको पौष्टिक आहारा

खेलाडी बनाउन वडाको पौष्टिक आहारा


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८१, सोमबार

पोखरा/पोखरा १५ ले तीन वर्षदेखि निरन्तर वडाले निरन्तर खेलकुद महोत्सवको आयोजना गर्दै आइरहेको छ । वडाका नागरिकलाई स्वस्थ राख्नका साथसाथै बालबालिकालाई खेलप्रति लगाव बढाउनका लागि वडाको आयोजनामा माघ २ गतेदेखि खेल महोत्सवको आयोजना भएको थियो ।
वडाले खेल महोत्सवमात्रै आयोजना गरेको छैन, ग्रासरुटस्तरबाट खेलाडी विकास गर्न ‘खेल्छ वडा’ अभियानलाई समेत अघि सारेको छ । ‘खेल्छ वडा’अन्तर्गत विभिन्न ९ विधाका १७ इभेन्टको प्रशिक्षण हुँदै आइरहेको छ । वडाले प्रदेश खेलकुद परिषद्ले अघि सारेको ‘खेल्छ गण्डकी’को अभियानलाई साकार पार्न वडामा सक्दो सक्रियता देखाइरहेको छ । खेलाडी बनाउनकै लागि ‘वडाले खेल्छ गण्डकी ’अभियानमा सम्मिलित वडाका १० जुनियर खेलाडीलाई पौष्टिक आहारा प्रदान गरेको छ । वडा १५ भित्र विपन्न परिवार तथा सुकुमबासी परिवारबाट छनोट भएका खेलाडीलाई पौष्टिक आहारा प्रदान गरेको हो । आर्थिक अवस्था कमजोर हुँदा बालबालिकाले खेलकुदको प्रशिक्षण लिइरहँदा उनीहरुको शारीरिक र मानसिक अवस्था कमजोर हुने हुँदा बलियो बनाउनका लागि वडाले पौष्टिक आहारा प्रदान गरेको हो । गत वर्षदेखि वडाले पौष्टिक आहारा प्रदान गर्न थालेको हो । पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले बालबालिकालाई खेलकुदमा लगाएरमात्र नहुने बताउँदै त्यसका लागि उचित खानपिनको समेत आवश्यकता पर्ने बताए । उनका अनुसार खेलाडी स्वस्थ र शारीरिक रुपमा बलियो रहनुपर्छ । वडाले हरेक नागरिकलाई खेलकुदसँग जोड्दै स्वस्थ बनाउनका लागि खेल महोत्सवको आयोजना गर्दै आइरहेको बानियाँको भनाइ छ । ‘स्वास्थ्य नै प्रमुख धन सम्पत्ति हो । सबै नागरिक स्वस्थ हुनुपर्छ, शारीरिक व्यायाम गर्नुपर्छ भन्ने हाम्रो मुख्य योजना हो,’उनले भने, ‘वास्तवमै पहिला परिवारलाई खेलकुदसँग जोड्यौ भने मात्रै हामी खेलाडी उत्पादन गर्न सक्छौं । त्यसैका लागि पनि पहिला खेल महोत्सवको आयोजना ग¥यौ त्यसपछि खेल्छ वडा अभियान अघि सार्दै दोस्रो संस्करणबाट विपन्न र भूमिहीन बाल खेलाडीलाई पौष्टिक आहार दिन थालेका हौं ।’ खेल्छ गण्डकीमा वडा १५ बाट विपन्न वर्गका बालबालिका अनमोल सार्की, इयुला परियार, रुविना श्रेष्ठ, अदित्य सुनार, आयुष सुनार, आर्यन सुनार, शरण विक, सुमित विक र सुप्रिया विक सहभागी छन् । उनीहरुलाई नै पौष्टिक आहारा प्रदान गरिएको हो ।
तल्लो नयाँ गाउँलाई खेल महोत्सवको उपाधि
खेल महोत्सवमा समग्रमा प्रथम हुँदै तल्लो नयाँ गाउँ टोल विकास संस्था तथा जनजागृती आमा समूहले खेल महोत्सवको उपाधि चुमेको छ । चार दिनसम्म आयोजना भएको खेल महोत्सवमा महिला–पुरुष भलिबल, मार्चपासमा, दौडलगायत विधामा पदक हासिल गरेको तल्लो नयाँ गाउँ समग्रमा च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताको पुरुष फुटबल प्रतियोगितामा नयाँ गाउँ युवा क्लब पहिलो र प्रतिभा टोल विकास संस्था दोस्रो भयो । विद्यालय फुटबलमा वेलनन एकेडेमी पहिलो र एसओएस दोस्रो भयो । महिला भलिबलतर्फ जनजागृति आमा समूह पहिलो र एकता आमा समूह दोस्रो भए । हक्की छात्र÷छात्राको उपाधिमा सेन्ट फ्रान्सिस स्कूलले कब्जा जमाउँदा छात्रतर्फ शुक्रराज बलभद्र मावि दोस्रो, एसओएस तेस्रो र छात्रातर्फ कालिका मावि दोस्रो र ज्ञानकुञ्च एकेडेमीले तेस्रो स्थान हासिल ग¥यो । महिला ब्याडमिन्टन एकलतर्फ चन्द्र तामाङ छन्त्याल प्रथम हुँदा गंगा नापित दोस्रो भइन् । डबल्सतर्फ सीता थापा र जिमाया रानाको जोडी प्रथम हुँदा चन्द्रा तामाङ छन्त्याल र श्रीसा केसीको टोली दोस्रो भइन् । पुरुष तर्फको एकलमा तोरण गुरुङ पहिलो, युवराज गुरुङ दोस्रो हुँदा डबल्सतर्फ युवराज र प्रकाश गुरुङको टोली प्रथम भयो । खुमबहादुर गुरुङ र मनिप्रसाद गुरुङको टोली दोस्रो भयो । महिला ३ किलोमिटर सडक दौडमा पोम कुमारी बुढा प्रथम र रुपा बरुवाल दोस्रो भइन् । यस्तै छात्रातर्फ साजिना सुनार पहिलो र एलिशा कुँवर दोस्रो भइन् । पुरुष ५ किमी सडक दौडमा ठाकुरबहादुर थापा पहिलो र ओमबहादुर फौजा दोस्रो भए । छात्रतर्फ टिजन बुढा मगर पहिलो र मनिष पुन दोस्रो भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->