पोखरा/ संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा ऐन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ ।
विधेयक निर्माणका लागी समितिले पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेर फर्किएको हो । समितिले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा पुगी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीसँग ऐनका विषयमा छलफल गर्यो । सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल सो विद्यालयमा छलफलका क्रममा समितिका सभापति अमर बहादुर थापाले विद्यार्थीलाई आर्कषक र गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय विधेयकमा समावेश गर्न आफुहरुले सरोकावालासँग छलफल गरिरहेको बताए। उनले छलफलका क्रममा आएका राम्रा सुझावलाई विधेयकमा समावेश गरी संसदले कानुन निर्माण गर्ने स्पष्ट पारे । सभापति थापाले देशभरका १५ देखि २० प्रतिशत सामुदायिक विद्यालय मात्र अव्वल रहेको वताउदै, बाँकी विद्यालयमा गहन सुधार आवस्यक रहेको दावी गरे । उनले भने, “प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति जिम्मेवार र असल भएका तथा जहाँ राजनितीकरण र दलिय स्वार्थ छैन ति विद्यालय अव्वल छन् ।” थापाले निजी विद्यालयलाई विस्थापित गरी सामुदायिक विद्यालयलाई सक्षम बनाउन सके मात्र पनि देशमा २५ प्रतिशत भष्ट्राचार घट्ने जनाए ।
एक अर्को प्रसगंमा सभापति थापाले नागरिकलाई असल वनाउन शिक्षक असल वनाउनुपर्ने वताउँदै, शिक्षकलाई निजामती कर्मचारी सरहको सेवा सुविधा राज्यले दिनुपर्नेमा जोड दिए । छलफलका क्रममा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सरोकावालावाट आएका राम्रा सुझाव विधेयकमा समावेश गरिने प्रतिबद्घता जनाइन। विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सुझाव संकलनका लागी समितिले आफ्नो विद्यालय रोजेकोमा आभार व्यक्त गर्दै, विद्यालयले गरेका असल अभ्यासको विषयमा जानकारी दिए । शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेलले विद्यमान शिक्षा ऐन संसोधन गरी, सरोकारवालाका सुझावलाई समावेश गरी पुर्ण रुपमा कार्यान्वयन गर्न सके मात्र सामुदायिक विद्यालयको शिक्षा उत्कृष्ट हुने वताए । छलफलमा समितिका सचिव दशरथ धमला ,शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिका आचार्य, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयानाथ लम्साल सहित समितिका अन्य सदस्यको पनि उपस्थिती रहेको थियो ।
शिक्षा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको सञ्चालन समितिका सचिव दशरथ धमलाले र स्वागत विद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर बानियाँले गरेका थिए । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक कर्मचारी,अभिभावक र तहगत विद्यार्थीका प्रतिनिधिको सहभागिता रहेका थियो। सभापति थापाको नेतृत्वमा आएको टोलीले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको निरिक्षण समेत गरेको थियो।