पोखरा/ नेपाल नेत्रज्योति संघ कास्कीले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालमा गुरुयोजना बनाएर नयाँ भौतिक पूर्वाधार निर्माणका लागि पहलकदमी गर्ने भएको छ । झन्डै ४० वर्षअघि बनाइएको भौतिक पूर्वाधार अहिले आएर बढ्दो बिरामीको संख्यालाई सेवा गर्न अपर्याप्त भएको भन्दै संघ हालकै स्थानमा पूर्वाधार थप्ने योजनामा पुगेको हो ।
संघको शनिवार सम्पन्न जिल्ला सभामा कार्यसमितिको प्रतिवेदन प्रस्तुत गर्दै सचिव नारायण बरालले आँखा उपचार गर्न आउने सेवाग्राहीको संख्या बढेसंगै भौतिक पूर्वाधार पनि बिस्तार गर्नुपर्ने आवस्यकता भइसकेको बताए । संघका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले हिमालय आँखा अस्पताल नेपालकै गौरव रहेको भन्दै यसको गुणस्तरमा बृद्धि गर्दै सहज रुपमा उपचार पाउने वातावरण मिलाउन संघ लागिपरेको बताए । ‘सरकारले गर्ने काम एउटा संस्थाले गरेको छ’ थापामगरले भने, ‘यसअघि बिरामी कम आउँदा अहिलेकै पूर्वाधार पर्याप्त थियो । तर अहिले दिनप्रतिदिन सेवाग्राहीको चाप बढ्दो छ । अहिलेकै संरचनाले नपुग्ने भयो । अव भौतिक पूर्वाधार निर्माणमा संघ अघि बढ्छ ।’ अस्पताल नेपाल नेत्रज्योति संघ कास्की शाखामार्फत संचालित छ ।
अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा इलिया श्रेष्ठका अनुसार अहिले दैनिक ५ /६ सय भन्दा बढी बिरामी आँखा जाँचका लागि आउने गर्छन । बिरामीको संख्या बढ्दै गएकाले थप पूर्वाधारको आवस्यकता परेको उनले बताइन । ‘हालको भवनका पछाडि खाली जग्गा छ, त्यही थप भवन बनाउन सकिन्छ’ उनले भनिन् ।
संघको जिल्ला सभाको उद्घाटन गर्दै सल्लाहकार एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले आफ्नो तर्फबाट संघ र अस्पताललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । यहाँ आँखा अस्पताल संचालन भएकै कारण तत्कालिन क्षेत्रीय अस्पतालमा नेपाल सरकारले आँखा सेवा कार्यक्रम रोकेको उनले स्मरण गरे । ‘म व्यक्तिगत र एउटा चिकित्सकको हैसियतले यस अस्पतालसंग जोडिइरहेको छु’, उनले भने, ‘अस्पतालमा उपचारमात्र गरेर हुदैन । यसलाई प्राज्ञिक थलोको रुपमा पनि बिकास गर्दै लैजानु पर्छ ।’
संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीले नेपालमा ९० प्रतिशत आँखाको उपचार संघमार्फत संचालित स्वास्थ्य संस्थाबाट हुने गरेको बताए । हिमालय आँखा अस्पताललाई ‘सेन्टर अफ एक्सीलेन्स’ बनाउनु पर्नेमा उनले जोड दिए । आई केयर फाउन्डेशनका कार्यकारी निर्देशक अनिल गोर्खालीले अस्पताल अव आफै सक्षम हुनुपर्ने बताए । ‘राम्रो काम गरेर अझै उचाईमा पुग्नका लागि संभावना धेरै छन’ उनले भने, ‘अस्पतालको आम्दानीले अन्यत्र पनि सेवा बिस्तार गर्नुपर्ने बेला आएको छ ।’ नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव हरिप्रसाद शर्माले दुर्गम र विपन्नलाई लक्षित गरी अव सेवा बिस्तार गर्नुपर्नेमा जोड दिए । संघको हङकङ च्याप्टरका अध्यक्ष इश्वरबहादुर शाहले हिमालय आँखा अस्पतालसंग सहकार्य गरेर अघि बढ्ने जनाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अस्पतालमा धेरै कुरा सुधार गर्नुपर्ने देखिएको बताए । पर्याप्त ठाउँ, प्रविधिमैत्री उपचार सेवाको बिस्तार गर्दै विशिष्टीकृत सेवा दिनेतर्फ संघ र अस्पताल लाग्नुपर्ने उनको सुझाव थियो ।
अध्यक्ष थापामगरले अस्पतालबाट गुणस्तरीय सेवाकालागि सकेको जति काम गरेको बताए । ‘यो सबैको जिम्मेवारी पनि हो’, उनले भने, ‘सबै आजीवन सदस्यले निगरानी राख्नु पर्यो ।’ डा. इलिया श्रेष्ठले अस्पतालको प्रगति विवरण प्रस्तुत गरिन । उनका अनुसार हालसम्म अस्पतालबाटद ३८ लाख २४ हजारले सेवा लिएको, १ लाख ३७ हजारको शल्यक्रिया गरिएको बताईन । सभाले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष राधिकाकुमारी शाही योगीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/ ०८१ को आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
२०४१ सालमा स्थापना भएको कास्की शाखा नेपाल नेत्रज्योति संघका जिल्ला शाखाहरू मध्ये सबैभन्दा पुरानो हो । शाखामा हाल १३७ जना आजीवन सदस्यहरु रहेका छन् । शाखाको कामलाई प्रभावकारी बनाउन तथा हिमालय आँखा अस्पतालको व्यवस्थित रूपमा संचालनमा सहयोग, सेवा प्रवाहमा प्रभावकारीता एवं विभिन्न संघसंस्थाहरूको विचमा सहकार्य एवं समन्वयमा अभिवृद्दि गरी आँखा उपचार सेवाको पहुँच बढाउनको निम्ति आवश्यक भुमिका निवार्ह गर्न विभिन्न उपसमितिहरू गठन गरि कार्य सम्पादन हुदै आएको संघले जनाएको छ ।
संघले हिमालय आँखा अस्पतालले प्रदान गर्दै आइरहेको सेवाको गुणस्तरलाई अझै बढि प्रभावकारी बनाउन सरोकालवालाहरुसँग छलफल गर्ने तथा आवश्यक निर्देश गर्ने भावी कार्यक्रममा राखेको छ । साथै प्राथामिक आँखा उपचार केन्द्रहरुको संचालनमा नितिगत स्पष्टता कायम गर्दै थप प्रभावकारीताको लागि आवश्यक समन्बय तथा सहकार्य गर्ने र स्थानिय सरकारसंग समन्वय गरी आँखा उपचारको क्षेत्रमा उनीहरुको भुमिका तथा सहभागिता अभिवृद्धि गर्ने लक्ष्य पनि संघको छ । अस्पतालले गण्डकी प्रदेशका सबै र कर्णाली प्रदेशका ४ वटा जिल्लाहरुका आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ । सभामा संघका उपाध्यक्ष डा. नन्द श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।





