पोखरा/ पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालित चारदिने प्राकृतिक प्रकोप चिकित्सा अन्तर्राष्ट्रिय परियोजना गोष्ठी शुक्रबार सम्पन्न भएको छ। यूरोपियन युनियनको इरास्मस (सीबीएचइ) कार्यक्रम अन्तर्गत संचालित यो परियोजना बैठकमा नेपालका पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय, बंगलादेशका ढाका विश्वविद्यालय र आइयुबी, इटालीको युनिसा, पोर्तुगलको युएफपी र ग्रीस एनकेयुएका प्रतिनिधिहरू सहभागी थिए।
बैठकको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै नेशनल एन्ड कपोडिस्ट्रियन युनिभर्सिटी अफ एथेन्सका डा. इम्मानुएल पिकुलिसले विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रियकरण, संयुक्त अनुसन्धान, र डिजास्टर मेडिसिनमा पाठ्यक्रम विकासमा जोड दिनुपर्ने बताए ।
गोष्ठीमा डिजास्टर मेडिसिनको स्नातकोत्तर कार्यक्रम निर्माण, नेपालका स्वास्थ्य संस्थाहरूलाई डिजास्टर हबको रूपमा विकास गर्ने योजना र विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति निर्माणबारे छलफल भयो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का, पोखरा विश्वविद्यालयका डा. डमरु पनेरु तथा निजी अस्पताल संचालकहरूको संस्था अफिनका अध्यक्ष डा.पदम खड्काले डिजास्टर मेडिसिनका वर्तमान अवस्था, चुनौतीहरू र अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापनमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी. ले डिजास्टर मेडिसिन नेपालका लागि अत्यावश्यक विषय भएकाले यस्तो छलफल महत्वपूर्ण हुने बताए । उनले डिजास्टरको पूर्वतयारी, प्रकोपपछिको व्यवस्थापन, तथा चिकित्सा शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालयहरू सिर्जनशील अनुसन्धान र नवीन पाठ्यक्रम विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे। मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सहप्राध्यपाक डा. अजय थापाले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनले बढ्दो असर पारिरहेको अवस्थामा विश्वविद्यालयहरू यस विषयमा संलग्न हुनुपर्ने बताए । पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई डिजास्टर हबका रूपमा विकसित गर्ने, स्वास्थ्य सेवा प्रदायकहरूलाई नेटवर्किङ गर्ने, तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरी उच्च शिक्षा तथा अनुसन्धानलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन सह–प्रा. डा. अमर नागिलाले बताए । कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका डिन प्रा. डा. मनोज हुमागाइँ र स्वास्थ्य विज्ञान संकायका डीन सह–प्रा.डा. अमर नागिलाले नेपालका विश्वविद्यालयहरूबीच सहकार्य गरी डिजास्टर मेडिसिनको अध्ययन अध्यापनको विस्तार गर्नुपर्ने जोड दिए ।

काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालका निर्देशक डा. विराजमान कर्माचार्यले विश्वविद्यालयहरूबीचको साझेदारी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । उनले पोस्ट कोभिड युगमा प्रविधि प्रयोग गरेर शैक्षिक प्रणालीलाई अद्यावधिक गर्नुपर्ने, तथा कस्टमाइज कोर्स र व्यावसायिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे । मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले डिजास्टरको प्रभाव र त्यसको न्यूनिकरणका उपायबारे चर्चा गरे। त्यस्तै, मणिपाल शिक्षण अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेल र स्वेता महर्जनले नेपालका अस्पतालहरूले प्राकृतिक प्रकोप व्यवस्थापनमा अपनाएको रणनीतिबारे जानकारी दिएका थिए ।
नेशनल युनिभर्सिटी अफ एथेन्सकी प्रा. डा. एलेनी पानागियोटाले विद्यार्थी र प्राध्यापक आदानप्रदान गर्दै डिजास्टर मेडिसिन अध्ययनमा सहकार्य गर्न आफूहरू तयार रहेको बताइन्। युनिभर्सिटी अफ फरमान्डो पेसोवा, पोर्चुगलकी प्रो रेक्टर प्रा. डा. भासिलिकी भिकी कारामागिवलीले डिजास्टर मेडिसिन अध्ययनका अनुभव साझा गर्दै नेपालमा यसले प्राकृतिक तथा मानवीय जोखिम न्यूनीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा डिजास्टर मेडिसिनको आवश्यकतालाई केन्द्रमा राख्दै राजेशकुमार यादवले विश्वविद्यालयहरूमा हेल्थ इन्फरमेटिभ, डिजास्टर मेडिसिन र माउन्टेन मेडिसिन जस्ता नयाँ पाठ्यक्रमको शुरुवात गरिनुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालित अनिता पौडेलले नेपालजस्तो प्राकृतिक प्रकोपको उच्च जोखिम भएको देशमा डिजास्टर मेडिसिन अति महत्वपूर्ण रहेको भन्दै यस्तो संवेदनशील विषयको थालनीप्रति आभार व्यक्त गरिन् । बैठकले डिजास्टर मेडिसिनको पाठ्यक्रम निर्माण र नेपालमा यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस योजना अघि बढाउने निष्कर्ष निकालेको विश्वविध्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए ।





