सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भानु माविमा लघुकथा नाटक ‘कर्मको फल’ प्रदर्शन

भानु माविमा लघुकथा नाटक ‘कर्मको फल’ प्रदर्शन


  • अनिष पाठक
  • माघ २९ २०८१, मंगलबार

बागलुङ/गीत, संगीत, साहित्यीक रचना तथा नाटकले समाजका विभिन्न विषयको चित्रण गर्दछन् । यस्तै चित्रण बागलुङको बडिगाड गाँउपालिकाको एक विद्यालयमा गरिएको छ । विद्यार्थीले समाजमा देखेसुनेका विषयमा आ–आफ्नो परिकल्पनामार्फत प्रस्तुती प्रस्तुत गरे ।
बडिगाड ५ को भानु माविमा विद्यार्थीहरुले ६२ औं वार्षिकोत्सवको अवसरमा नाटकमार्फत यस्तै एक विषयको उठान गरे । शनिबार विद्यालयको वार्षिकोत्सवको अबसरमा भुमिका सुनारले लेखन तथा निर्देशन गरेको एक नाटक प्रस्तुत भयो ।
भानु माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु सहभागी नाटक ‘कर्मको फल’ मा विद्यार्थीहरुले बुहारी र नातीमाथि सासुले गरेको दमन तथा छिमेकीको कुरा सुन्दा बुहारीले सहनुपरेको दुःख देखाउन खोजिएको थियो ।
दाईजोको बहानामा बुहारीमाथि भएको हेलाहोचो, विधुवा भएपछि सहनुपरेको बचन र बोक्सीको निहुँमा छिमेकीका कुरा सुन्दा सासुले गरेको व्यवहार नाटकमा देखाईएको थियो । आमालाई सासुले गरिरहेको दमन नियालिरहेको छोरोले आवाज उठाउँदा आफुले पनि सहनुपरेको दुःख र सबै घटना घट्दा पनि समान्य मानेकी बुहारीको साहस नाटकमा थियो ।
सबथोक सहेकी बुहारीले आमा बिरामी पर्दा गरेको स्याहार र हजुरआमाले आफु र आमालाई नराम्रो गरेकोले दुःखको भोगाई हुनुपर्ने छोराको माग नाटकमार्फत प्रस्तुत हुँदा आमालाई छोरोलाई सिकाएको सँस्कार गज्जब थियो ।
नाटकमा भुमिका सुनार सासुआमा, सिर्जना काउछा बुहारी, छविलाल काउछा बुबा, आविष्कार अर्याल नानी, समिक्षा सेर्पुजा र लक्ष्मी वि.क छिमेकीको भुमिकामा थिए । नाटकको लेखन तथा निर्देशन गरेकी भुमिकाले आफुले यस्ता घटना समाजमा देखेको र बुबाआमाहरुबाट सुनेको आधारमा कथा तयार परेको बताईन् ।
आफुहरुको समयमा यस्ता घटना गाँउघरमा हुने गरेको सुनाउँदै अभिभावक निर्मला घिमिरेले अझै पनि गाउँमा यस्ता घटना भएपनि लुकाउने गरेको हुँदा घटना लुकाउन नहुने तर्क गर्दै भनिन, ‘नाटक राम्रो थियो । हाम्रो समयमा हुने घटनाको झल्को दियो । समाजमा यस्ता घटना बेलाबेलामा हुने गर्दछन् । अचेल सासुले बुहारीभन्दा पनि बुहारीले सासुमाथि यस्ता घटना हुने गरेकाले घटना एउटै तर पात्र फेरीएका छन् ।’
भानु माविका शिक्षक विष्णु खनालले विद्यार्थीलाई सामाजिक विषयबस्तुमा जानकार गराई विद्यार्थीमार्फत समाजमा सचेतना जगाउन विद्यालयले यस्तो प्रयास गरेको बताए । विद्यालयमा गत पुस ५ गते पनि लघु नाटक प्रतियोगिता आयोजना गरिएको र अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षागत प्रतियोगितामा १० समुहको सहभागिता थियो ।
प्रतियोगितामा प्रथम कक्षा ८ को समुहले सामाजिक समस्या हटाउन चेलिबेटी बचाउ, द्धितिय कक्षा ९ को समुहले कर्मको फल र तृतिय कक्षा ७ को समुहले बोक्सी र विधुवा महिलाको अवस्थाको विषयमा नाटक प्रस्तुत गरेको पनि शिक्षक खनालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->