पोखरा/ पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ ।
मुल आयोजक समितिका अध्यक्ष एवम् प्रचारप्रसार उपसमितिका सयोजक चन्द्रकान्त बरालले महायज्ञ आयोजना गर्नुको मुल उद्देश्य पुम्दिकोट धामको धार्मिक, एेतिहासिक र पुरातात्त्विक महत्वका बारेमा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्राउने रहेको बताए । उनले २०७३, २०७९ हुँदै अहिले तेस्रो पटक आयोजना गरिएको यो महायज्ञको महिमा ठूलो रहेको बताए । पहिलो महायज्ञबाट करिब ६ करोड रुपैयाँ र दोस्रो महायज्ञबाट करिब ३ करोड रुपैयाँ संकलन गरेको उनले बताए । पुम्दिकोट ससारका धार्मिक पर्यटकहरुको थप आकर्षणको केन्द्र बन्दै गएको बताउँदै उनले महामानव दाताहरुको सहयोगबाट हालसम्म ५१ फिट अग्लो महादेवको मुर्ती, ३१ फिट अग्लो शिवको विशाल डम्मरु, महादेवको विशाल क्षेत्रकुण्ड निर्माण, १ सय ८ धारा जडानसहित अन्तराष्ट्रिय ध्यान केन्द्र निर्माण, २१६ शिवलिङ्ग स्थापना, १ सय ८ स्वर्गद्वारी सिढी निर्माण, सुविधा सम्पन्न शौचालय सहित प्रशासकिय भवन, फुलमाला विक्री कक्षका लागि १८ ओटा सटर निर्माण, पुम्दिकोटमा ३ वटा छुट्टाछुट्टै प्राकृतिक प्रवेशद्वार निर्माण, फुलबारी सहित पर्खाल निर्माण, मनोरेल द्वारा गणेश भगवानले कैलाश पर्वत परिक्रमा र पन्चधातुबाट निर्मित शिवलिङ्ग निर्माण लगायतका उपलब्धिहरु हासिल भइसकेका र अझैपनी कैलाश धामको पुर्ण विकासका लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष बरालले बताए ।
महायज्ञबाट पोखरा आउने पर्यटकहरुको बसाइ कम्तिमा एक दिन लम्ब्याउने, लेजर लाइट मार्फत महादेवको मूर्तिलाई पर्दा बनाइ शिव ताण्डब नृत्य र महादेवको शिवलिला सहित वृत्तचित्र प्रस्तुत गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृज निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष बरालले जानकारी दिए । त्यस्तै हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीन द्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिको मर्मत सम्भार गर्ने जस्ता उद्देश्य महायज्ञको छ । दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने कार्य जारी रहेको र अझै अघि बढाइने समेत सम्मेलनका क्रममा आयोजकले जनाएको छ ।
समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । ज्ञान महायज्ञ आगामी फाल्गुन ७ गतेदेखी १५ गतेसम्म चल्नेछ । फागुन ७ गते कलश यात्रा हुने आयोजकले जनाएको छ । महायज्ञमा दैनिक कथा वाचिका राधिका दासिबाट भागवतमन्जरी वाचन हुनेछ । महायज्ञ अन्तर्गत फागुन ९ गते कलशयात्रा पुर्वाङ्ग पुजा एव आरम्भ गरिने छ भने नियमित दैनिक कार्यक्रम पनि रहनेछन् । दैनिक बिहान ७ देखि १० बजेसम्म नित्यपुजा, पाठपारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमन्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखी ९ बजेसम्म महात्म्य तथा सास्कृतिक झाकी, फागुन १४ गते साझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पुर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महायज्ञमा दान गर्ने दाताहरुलाइ दान रकमको आधारमा सम्मान गरिनेछ ।





