पोखरा/शनिबार बिहान पोखराका मेयर धनराज आचार्य अघिल्लो वर्षको चैत ४ गतेजस्तै व्यस्त र प्रफुल्ल देखिन्थे ।
अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाएर पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरेका उनी शनिबार नै ‘पोखरा भ्रमण वर्ष २०२५’ को विधिवत् सुरुवात गर्दै थिए । प्रमुख अतिथिको रुपमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पोखरा आइसकेका थिए । घोषणा सभाभन्दा अघि चिप्लेढुंगाबाट नयाँबजारसम्म आयोजित ¥यालीमा दौरा–सुरुवालमा ठाँटिएका मेयर सरिक थिए ।
चालु अंग्रेजी वर्ष २०२५ भित्र पोखरामा २० लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने महत्वकांक्षासहितको भ्रमण वर्षको उद्घाटन सत्र पनि भव्य नै थियो । आकर्षक मञ्चको निर्माण, साँस्कृतिक झाँकी र नृत्यले माहौल गर्माएकै थियो । त्यस्तैमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई कार्यक्रम उद्घाटनको आग्रह गरियो । उनले हातमा भएको रिमोट दबाएर मञ्चको अगाडि रहेको विद्युतीय बत्ति बाले । त्यसपछि पोखरा भ्रमण वर्ष २०२५ लेखिएको बेलुन उडाउन भन्दै उनीहरु तल झरे । मञ्चको अगाडि विद्युतीय स्पार्कल राखिएको थियो । बेलुन उडाउन तम्तयार परेका प्रमुख अतिथि पौडेल र मेयर आचार्यले हातमा लिएको बेलुनको झुत्तोमा एकाएक आगो देखियो र सेकेण्डभरमै बिस्फोट भयो । बिस्फोटपछि त्यहाँ भागाभाग भयो । आगोको लप्काले मेयर आचार्यको गालामा पोलेको प्रष्टै देखियो । उता, प्रमुख अतिथि पनि घाइते भए । उनीहरु दुबैलाई तत्काल पोखराको गैह्रापाटनमा रहेको फिस्टेल अस्पताल लगियो र सामान्य उपचारपछि काठमाडौंको शिक्षण अस्पतालअन्तर्गतको जलन उपचार केन्द्रमा लगियो ।अस्पतालले दुवैजनाको अनुहारमा ५÷६ प्रतिशत जलन भएको जानकारी गराएको छ । अर्थमन्त्री मञ्चमा उक्लिए, मेयर मञ्चबाट हामफाले । पौडेलको टाउको, घाँटी, गालामा आगोले भेट्यो । विस्फोटभित्र परेका मेयर आचार्यको चाहिँ गालामा आगोको लप्काले भेटेको छ । उनको गालामा बेलुन नै टाँसिएका थिए, जसलाई सफा गर्न खोज्दा छाला नै उक्किएको छ ।
‘उहाँहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,’ अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आगो कसरी लाग्यो ?
उडाउन लागेको बेलुन एकाएक कसरी बिस्फोट भयो ? पोखरा यतिबेला यो प्रश्नले तातेको छ । सामान्यतयाः हिलियम ग्यास भरिन्छ । हिलियम बल्दैन । तर, भ्रमण वर्षको उद्घाटन सत्रमा उडान लागिएको बेलुनमा हाइड्रोजन भरिएको अनुमान लगाइएको छ । आगो चाहिँ मञ्चको अगाडि रहेको स्पार्कलको झिल्को बेलुनमा प¥यो र बिस्फोट भयो ।
‘यस्तो दुर्घटना जन्मदिन मनाउने क्रममा पनि भएका हामीले सुनेका छौँ, स्पार्कलबाट निस्कने झिल्काले आगो लगाउने सम्भावना बढी हुन्छ । आज पनि भएको त्यही हो,’विद्युतीय सामग्री बिक्री–बितरण गर्ने एक व्यवसायीले भने,‘बेलुनलाई त्यस( स्पार्कल) बाट जोगाउनुपथ्र्यो । नजोगाउँदा दुर्घटना भयो ।’ उनले बेलुनमा के भरिएको थियो भन्नेबारे चाहिँ थाहा नभएको बताए ।
हाइड्रोजन किन खतरनाक छ
बेलुनमा हाइड्रोजन प्रयोगको बारेमा महानगरले नै पुष्टि गरेको छ । ‘कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरु फायर क्यान्डिलबाट निस्किएका झिल्काहरुसँग ठोकिन पुगेपछि दुर्घटना हुन पुगेको हो,’ महानगरले फेसबुक पेजमा लेखेको छ ।
बेलुनमा हाइड्रोजन ग्यास प्रयोगको जोखिमबारे शनिबार घटनाले पनि पाठ सिकाएको छ । तर, हाइड्रोजन प्रयोगको घटनामा ३५ जनाले ज्यान नै गुमाएको इतिहास पनि छ ।
सन् १९३७ मे ६ मा बएको हिडनबर्न दुर्घटनामा पनि हाइड्रोजन ग्यासको प्रयोग कारक यिथो । जर्मनीको यात्रुवाहक एयरशिप हिडनबर्ग अमेरिकाको न्यूजर्सी विमानस्थलमा अवतरण गर्दा आगो लागेको थियो । घटनामा ३५ मानिको मृत्यु भएको थियो ।
हिडनबर्गमा हाइड्रोजन ग्याँसको प्रयोग गरिएको थियो । यो ग्यास आफैमा ज्वलनशील ग्यास हो । घटना पश्चात हाइड्रोजनको सट्टा हिलियम ग्याँसको प्रयोग बढाइयो, जुन सुरक्षित ग्याँस हो । हिडनबर्ग सो बखत आलिसान सिविल एभियसनको भविष्य मानिन्थ्यो, हवाइजहाज मुख्य गरि सैनिक सेवाको लागि मात्र प्रयोग गरिन्थ्यो । घटना पश्चात सर्वसाधराणलाई ध्यानमा राखी हवाइजहाज बनाउन सुरु भएको हो ।
जोखिमयुक्त हाइड्रोजन ग्यास हावामा सहजै तैरिने र सस्तो मूल्यका कारण पछिल्लो समय बढि प्रयोग हुन थालेको छ ।
तर, यसको ज्वलनशीलताका कारण सुरक्षासम्बन्धी चुनौतीहरू पनि ल्याउँछ । हाइड्रोजन एक अत्यधिक ज्वलनशील ग्यास हो । यसले हावामा अक्सिजनसँग मिसिएमा सजिलैसँग आगो लाग्न सक्छ । बेलुन फुट्ने वा चिसो हुने अवस्थामा पनि आगलागीको खतरा बढ्न सक्छ ।हाइड्रोजन ग्यासले भरिएको बेलुन ठूलो दबावमा रहन्छ । यदि बेलुन फुट्यो भने वा ग्यास लिक भयो भने विस्फोट हुने सम्भावना हुन्छ, जसले आसपासका व्यक्तिहरूलाई गम्भीर चोटपटक लाग्न सक्छ ।
हाइड्रोजनले भरिएको बेलुनबाट ग्यास लिक भएमा मानिसहरूले यसलाई सास फेर्न सक्छन्, जसले श्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्न सक्छ ।यो ग्यास वातावरणमा मिसिएमा यसले वायु प्रदूषण गर्न सक्छ र अन्य ग्यासहरूसँग प्रतिक्रिया गरेर हानिकारक यौगिक बनाउन सक्छ ।हाइड्रोजन ग्यास भरिएका बेलुनहरू हावामा उड्ने भएकाले यदि यी बेलुनहरू नियन्त्रणबाट बाहिर गए भने दुर्घटना हुने सम्भावना बढ्छ ।
त्यो पर्यटकीय राजधानी र यो भ्रमण वर्ष
अघिल्लो वर्षको मध्यतिर गण्डकी प्रदेश सरकार र पोखरा महानगर मिलेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका निम्ति अध्ययन समिति गठन गरियो । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिले राजधानी घोषणासँगै हुने लाभ, गर्नुपर्ने कामहरुको फेहरिस्त बुझायो । प्रधानमन्त्रीकै उपस्थितिमा राजधानी घोषणा पनि भयो तर त्यसलाई संघीय मन्त्रिपरिषद्ले भने घोषित रुपमा मान्यता दिएन÷दिएको छैन ।
घोषणा कार्यक्रममा भने तत्कालीन प्रधानमन्त्री प्रचण्डले ‘ कसैले भने पनि नभने पनि पोखरा पर्यटकी राजधानी नै भएको र यसलाई औपचारिकता प्रदान गर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । मेयर आचार्य संघीय सरकारले नै पोखरालाई औपचारिक रुपले पर्यटकी राजधानी घोषणा गरोसु भन्ने चाहन्थे । त्यसो त भएन नै,घोषणापछि अन्तर्राष्ट्रिय रुपले पोखरा चिनिएको दाबी गरिए पनि त्यसले यहाँको पर्यटनमा तात्विक फरक पारेन । अघिल्ला वर्षजस्तै सामान्य गतिविधि भए । जसले गर्दा घोषणाको औचित्यमाथि प्रश्न उठाइयो । अवस्था अहिले पनि उस्तै छ ।
अझ, पोखरा विमानस्थलबाट सोझो अन्तर्राष्ट्रिय उडान सुनिश्चित नहुँदा तथा पृथ्वी राजमार्गको स्तरोन्नतिको काम ढिला हुँदा यहाँबाट संघीय राजधानीसम्मको यात्रा पनि कष्टकर भन्यो । २ सय किलोमिटर बाटो काट्न ८ घण्टाभन्दा बढी लाग्ने भएपछि पर्यटकहरुले पोखरा आउन झिँजो माने । उता, बुटबलसँग जोडिएको सिद्धार्थ राजमार्ग दुई लेनको बनाउन संघीय सरकारलाई गरिएको आग्रह पनि कार्यान्वनयमा आएन । सडक मार्ग सहज नहुँदा पर्यटक घट्नु स्वभाविक थियो । त्यो कुरा भ्रमण वर्ष घोषणा कार्यक्रममा गण्डकीका मुख्यमन्त्रीले पनि स्वीकारेका थिए ।
पृथ्वी राजमार्गको स्तरोन्नतिमा ढिलाइ हुँदा,पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा नारायणगढ–बुटबल सडकमा पनि त्यस्तै हुँदा यहाँको पर्यटन उद्योगमा समस्या परेको उनको भनाइ थियो ।
भ्रमण वर्ष षोषणासँगै भने पोखरा आउने पर्यटकको लागि विभिन्न सहुलियत घोषणा र वर्षभर गरिने कार्यक्रमको फेहरिस्त प्रस्तुत गरिएको छ ।





