बागलुङ/गुल्मीको मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखाको विषयमा सामाजिक संजालमा प्रचार गरिए जस्तो अनियमितता नरहेको पालिकाले जनाएको छ । सोमबार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत स्वास्थ्य शाखाद्धारा सम्पादन गरिएका २४ बुँदामा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक संजालको दुरुपयोग गरेर जनतालाई अनर्गल भ्रममा पारिएको जनाएको हो ।
केही समयदेखि सामाजिक संजालमा पटक पटक स्वास्थ्य शाखाका विषयमा प्रश्न उठेपछि नगरपालिकाले सोमबार ०८१÷८२ का योजना र समसामायिक विषयमा पत्रकार सम्मेलन आयोजना गरेर आधिकारिक भनाई राखेको हो ।
मुसिकोट नगरपालिकाका प्रवक्ता हरिहर सापकोटाले जनसेवा र विकास निमार्णका लागि कार्यालय र फिल्डमै अहोरात्र खटिरहने कर्मचारी र शाखालाई किटान गरी आधारहिन तरिकाबाट तथ्यहीन आरोप, लाञ्छना र टिकाटिप्पनी सामाजिक संजालनमा भएको भन्दै नेपाली कांग्रेस मुसिकोट नगरपालिकाले पनि सामाजिक संजालमार्फत निकालेको विज्ञप्तीप्रति पनि पालिकाको ध्यान आकर्षित भएको जनाए ।
सापकोटाले जिम्मेवार राजनीतिक संस्थाबाट समेत चासो भएपछि विषयलाई गम्भिरताका साथ लिई पेशागत मर्यादा र व्यक्तिगत जीवनमा समेत आँच आउने गरि संजालमा गरिएका भ्रम स्पष्ट पार्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताए ।
यसैबीच मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवलाल खरेल जिवनले गलत मनासायले गलत आरोप लगाई पालिकाका राम्रा विषय ओझेलमा पर्न सामाजिक संजालनमा विषय उठान गरिएको बताएका छन् । ‘हाम्रा कमीकमजोरी हटाउन र रचनात्मक आलोचनाको हामीहरु विरोध होईनौ’ खरेलले भने सामाजिक संजालको दुरुपायोग गरि भ्रामक तथा कपोकल्पित आधारहिन टिप्पनी मान्य छैन । तथ्य प्रमाण भए अनुसन्धानपछि कार्वाही हुन्छ । हामीलाई संजालमा जुहारी गर्नु छैन ।’
केही समयदेखि मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखाको विषयमा अनिमितता भएको भन्दै सामाजिक संजालमा पोष्ट भएका थिए भने सोहि पोष्टका आधारमा काँग्रेस नगर कमिटिले समेत प्रेश विज्ञप्ती निकालेको थियो ।





