बागलुङ/साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ राष्ट्रिय आबिस्कार केन्द्रका संस्थापक तथा सिर्जनशिल व्यक्तित्व महाविर पुनलाई दिइएको छ । बुधवार आयोजित कार्यक्रममा गुठीले उक्त पुरस्कार प्रदान गरेको हो ।
रत्न श्रेष्ठ पुरस्कार गुठीले ४८ औं स्मृति दिवशको अबसरमा आयोजना गरेको पुरस्कार बितरण समारोहमा पुरस्कार समर्पण गरिएको थियो । साथै सोही अबसरमा अन्य तीन पुरस्कार पनि सँगै बितरण भयो ।
हाल पुस्तक बिक्री अभियानमा इटहरीमा पुगेकोले पुन पुरस्कार लिन आउन नकसेपछि केन्द्रको पोखरा इन्चार्ज तथा इन्जिनियर इन्द्र ओलीले उक्त पुरस्कार ग्रहण गरेका थिए । गुठीले ५० हजार रुपैयाँको पुरस्कार पुनलाई प्रदान गरेको थियो । पुरस्कार लिन आउन नपाएपनि इटहरीबाट लिखित पत्र पठाएका पुनले पुरस्कार दिएकोमा गुठीलाई धन्यवाद दिएका छन् । साथै उनले आगामी दिनमा यस्ता खालका पुरस्कार युवा पुस्तालाइ दिएर पलायन हुनबाट बचाउनु पर्ने सुझाव पनि दिएका छन् । यो पुरस्कार २०३३ सालमा छोटाले आफ्नी आमा रत्नको नाउँमा स्थापना गरेका थिए । पहिला सानो राशीबाट थालेपनि अहिले भने यो कोषमा लाखौं रकम पुगिसकेको छ । बर्षेनी गुठीले झण्डै एकलाख बराबरको रकम पुरस्कार स्वरुप बितरण गर्दै आएको छ ।
गुठीकै आयोजनामा दिइदै आएको ‘रत्न श्रेष्ठ धवलागिरि प्रतिभा पुरस्कार’ सह–प्राध्यापक जगन्नाथ प्रसाद लम्साललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छोटाले जानकारी दिए । सोही समयमा ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ ‘सगरमाथा एक पहाडको नाम होइन’ नामक निबन्ध संग्रहलाई प्रदान गरिएको छ । पाल्पाका सह प्राध्यापक चोलेन्द्र शर्माद्वारा लिखित उक्त कृतिलाई पनि कोषले २५ हजार लेखन वृत्ति पुरस्कार दिएको हो । त्यस्तै गुठीमै स्थापित ‘गुरु गणेश, बिष्णु स्मृति पुरस्कार’बाट मुक्तिनाथ बेदबिद्याश्रमका बटुक रामकृष्ण सुवेदीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार भने १० हजार रुपैयाँ राशीको छ । सोही समयमा जगतचन्द्र सम्मानबाट पाल्पाकै साहित्यकार बिजय सागर श्रेष्ठलाई सम्मानित गरियो । कार्यक्रममा सामाजिक व्यक्तित्व भरतकुमार श्रेष्ठ र चन्द्रकुमारी श्रेष्ठले मानव सेवा आश्रमलाई ५० हजार रुपैयाँ सहयोग समेत गरे । उक्त रकम अक्ष्य कोषमा राखेर आश्रममा आश्रितको उपचार र खानामा खर्चने योजना बनाएको आश्रमका संचालक निर्मलबहादुर श्रेष्ठले बताए ।
छोटाले आफ्नी आमाको बिद्यामन्दिर पुस्तकालयमा पनि रत्नश्रेष्ठ कोष र पुस्तकालय कर्नर पनि स्थापना गरिदिएका छन् । धवलागिरिको ६ दशकीय पत्रकारिताको संगालो सहित कला, संस्कृति र साहित्यका दर्जनौं कृति प्रकाशित गरेका श्रेष्ठ ८० बर्षको उमेरमा पनि साहित्य र सोधलेखनमा सक्रिय छन् । उक्त अबसरमा पुरस्कृत व्यक्तित्वहरुले साहित्यकार सन्तु श्रेष्ठद्वारा लिखित ‘तरंगीत तरंग’ कविता संग्रह बिमोचन समेत गरेका थिए । कार्यक्रममा जगतचन्द्र स्मृति कोषले मानवसेवा आश्रमलाई ५० हजार राशी सहयोग समेत गरेको छ ।
गुठीका अध्यक्ष प्रेम छोटाको अध्यक्षता, सदस्य सचिव महेशचन्द्र प्रधानको संचालनमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरु सहप्राध्यापक चोलेश्वर शर्मा, जगन्नाथ प्रसाद लम्साल, बिजयसागर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल, गुठीका सदस्य डा. दिनबहादुर थापा, साहित्यकार काजी रोशन, ‘तरंगित तरंग’ की लेखिका सन्तु श्रेष्ठ, लेखिका तथा साहित्यकार गंगा राजभण्डारी कसजु, मानव सेवा आश्रमका संचालक निर्मलबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।





