मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कास्कीकाे रुपा गाउँपालिकाले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने

कास्कीकाे रुपा गाउँपालिकाले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८१, बुधबार

पोखरा/ कास्कीको रुपा गाउँपालिकाले खेलकुद, झाँकी तथा कृषि प्रदर्शनी लगायतका कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । साथै अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१, रुपा गाउँपालिकास्तरीय प्रतियोगितात्मक झाँकी प्रदर्शन तथा जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनी गर्न लागेको अध्यक्ष नवराज ओझाले बुधवार पत्रकार सम्मेलनमा जनाए ।

पालिकाले यही फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवसका कार्यक्रम गर्न लागेको हो । युवालाई खेलकुदको माध्ययमबाट शारीरिक, मानसिक र व्यक्तित्व विकास गर्ने उद्देश्यले पालिकाले ‘सिर्जना र स्वास्थका लागि खेलकुद’ भन्ने नाराका साथ फागुन २४ देखि प्रतियोगिता गर्न लागेको छ । भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले क्रमशः ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा बेस्ट प्लेयरलाई नगद ५ हजार, बेस्ट सेटरलाई र बेस्ट स्पाइकरलाई जनही दुई हजार नगद प्रदान गरिने छ । ‘खेलकुदको विकास र सांस्कृतिको संरक्षणका लागि स्थापना दिवसमा नियमित रुपमा भलिबल र गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता गर्दै आएका छौं,’ अध्यक्ष ओझाले भने, ‘जसको कारण पालिकाको प्रतिनिधित्व गर्दै युवा खेलकुदको क्षेत्रमा जिल्ला प्रदेश हुँदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएका छन् ।’  उनले पालिकामा बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरुको भाषा, धर्म, संस्कृति संरक्षण र सम्बद्र्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता गर्न लागेको बताए । झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । माला प्रतियोगितामा प्रथमलाई ६ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई २ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

झाँकी प्रदर्शन प्रतियोगितामा करिब ३० समूह सहभागी हुनेछन् । प्रत्येक समूहले पाँच वटा माला समावेश गर्ने गरी माला प्रतियोतिामा पनि राखिएको छ । स्थापना दिवसका अवसरमा जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनीमा रुपामा उत्पादन भएको महको चाका खाने कार्यक्रम, स्थानीय स्तरका रैथाने बाख्रा र रैथानी बाली प्रदर्शनीसमेत गर्ने कार्यक्रम तय भएको छ । किसानलाई प्रोत्साहन गर्न कृषि पेशामा उत्कृष्ट रहेका किसानलाई नगद ५ हजारसहित दोशल्ला ओढाएर सम्मान गर्ने उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिइन् । पालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले पालिकाको विकास र समृद्धिमा सहयोग पु¥याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि, एमडी गरेका विभिन्न व्यक्तित्वलाई रुपा रत्नबाट सम्मान गर्ने जनाए । पालिकाले २०७५ सालदेखि विविध रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका उपाध्यक्ष गुरुङको संयोजकत्वमा मूल समिति र अन्य विभिन्न ४ समिति गठन गरेर काम अगाडि बढाएको अध्यक्ष ओझाले बताए । ‘रुपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने नाराका साथ पालिकाले पूर्वाधारको विकासको अलवा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर दीर्घकालीन स्वरोजगारका योजना तथा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->