मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महमा आत्मनिर्भरतर्फ अघि बढ्दै रुपा गाउँपालिका

महमा आत्मनिर्भरतर्फ अघि बढ्दै रुपा गाउँपालिका

मौरी किसानलाई हाइटेन्सनको टेन्सन


  • विजय नेपाली
  • फाल्गुन ८ २०८१, बिहिबार

पोखरा/मौरीहरूको संख्या घट्नु भनेको प्रकृति र मानव समाजका लागि ठूलो समस्या हो । यसका लागि संरक्षणका उपायहरू लागू गर्नु अति आवश्यक छ । जलवायु परिवर्तनको असरले अहिले मौरीमा समेत समस्या आइरहेको देखिन्छ ।
पछिल्ला समय हेर्ने हो भने भीर मौरीको समेत बासस्थान परिवर्तन हुन थालेका छन् । बढ्दो तापक्रमले यसलाई ठूलो असर गरिरहेको छ भने अर्का तिर तरकारीहरुमा विषादीको प्रयोगले समेत निकै प्रभाव पारिरहेको छ । तर, कास्कीको रुपा गाउँपालिकामा भने पछिल्ला वर्षमा घरेलु मौरी पालनको लर्को नै चलेको छ ।
रुपा गाउँपालिकाले किसान लक्षित एक घर एक घार अभियान सञ्चालन गरेपछि त्यहाँ मौरी पालक किसानहरुको संख्यामा वृद्धि भएको हो । मौरीले रुपाका किसानको दैनिकी नै फेरिदैँआइरहेको छ । गाउँमै बसेर बार्षिक पाँच देखी १५ लाख रुपैयाँसम्म आम्दानी हुन थालेको छ ।
तर, पछिल्लो समय त्यहाँका किसानका लागि हाइटेन्सन लाइनले निकै समस्या पारिरहेको छ । हाइटेन्सन लाइनका कारण मौरीहरु मर्न थालेको इश्वरी मौरी तथा कृषि फामका सञ्चालक इश्वरी प्रसाद सुवेदी बताउछन् । त्यो समस्या रुपा ७ काउरेमा आएको हो । मौरी पालनबाट सन्तुष्टि रहँदै आएको सुनाउने इश्वरीसंगै त्यहाँका अन्य किसानलाई हाइटेन्सनको लाइनले टेन्सन दिइराखेको छ । विहान घाम लागेपछि मौरीको झुन्ड हाइटेन्सनको तारमा जाने र त्यहाँ मर्ने गरेको उनको भनाइ छ । काउरे समुहमा चार सय घार मौरी छन् । यो समस्या फागुन १ गतेदेखी हुन थालेको हो ।
‘गाउँको बिचबाट हाइटेन्सन लाइन गएको छ । विहान १० बजे घाम लागेपछि घारबाट मौरी निस्किएर विद्युतको पोलमा झुण्ड पर्छ त्यो झुन्ड खस्छ । यसले हामीलाई निकै समस्या परिरहेको छ’ उनले भने, ‘पालिकाले हामीलाई सहयोग गर्दै आइरहेको छ अहिले हाम्रो मुख्य समस्या नै हाइटेन्सन लाइन बनेको छ यसलाई निराकरण गर्न पालिकाले भूमिका खेल्नुपर्छ ।’
मौरी खेतीका लागि पालिकाले हरेक पटक काम गर्दा ५०–५० को साझेदारीमा गरेको उनी सुनाउछन् । हाइटेन्सनका नांगो तार भएको र सोही तारको कारण मौरी झुण्ड भएर बस्ने गरेको पाइन्छ । त्यहाँ कालो तार राखेमा समस्या समाधान हुने उनी सुनाउछन् ।
इश्वरीले पालिकालाई एक सय घार विक्रि गरेका थिए । हाल उनले ६० घारमा मौरी पालेका छन् । हाइटेन्सन लाइन पोखरा महानगरपालिकाको वडाहुँदै गाउँको माझबाट नांगो तार हंसपुर रामपुरसम्म विस्तार भएको छ । हाइटेन्सन गत वर्ष अलिकति कालोतार फेरिएको छ । त्यसपछि कालोतार रोकिएको छ । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अहिले पालिकामा मौरी पालक किसानको वृद्धि भइराखेको सुनाए । किसानलाई हाइटेन्सनले समस्या पारेको र त्यस विषयमा मौरी विज्ञसहितको टोली पुगेर अवलोकन गरेर आएको उनले सुनाए ।
‘हिजो (मंगलबार) मौरी विज्ञसहितको टोली अवलोकनका लागि पुगेको थियो । त्यहाँ त्यो विजुलीको पोलमा पहिलापनि समस्या आएको थियो पोल फेरेपछि समस्या थिएन अहिले फेरी देखिएछ यसका लागि विद्युत प्राधिकरण संग पनि समन्वय गरेर काम गर्दैछौं’ ओझाले भने, ‘यसको अन्त्य कसरी हुन्छ भन्ने तर्फ हामी अनुसन्धान गरिरहेका छौं यो न्युनिकरण हुन्छ ।’ उनका अनुसार २०७६ सालबाट गाउँपालिकामा मौरीको कार्यक्रम सुरु गरिएको हो ।
‘०७६ सालमा हामीले किट विकास केन्द्रसहित एउटा अध्ययन गरेका थियौं । त्यतिबेला मौरीको अत्यन्तै सम्भावना देखियो । त्यसपछि हामीले अन्य कार्यक्रमहरु तयार ग¥यौ’ उनले भने, ‘त्यसपछि गाउँपालिकाको तर्फबाट देशभरमै सबैभन्दा ठूलो टेन्डर आह्वान ग¥यौं । अहिले ९० प्रतिशत सक्सेस भएका छौं जसले किसानहरु पनि व्यवसायिक बनेका छन् ।’
पहिला करिब आठ हजार लिटर मह उत्पादन हुने रुपामा अहिले एक सिजनमा ३५ हजार लिटरसम्म उत्पादन हुन थालेको छ । चार सय ५० को घारको सबैभन्दा ठूलो टेन्डरको रुपमा रहेपनि पालिकाले दुई हजार एक सय घारको टेन्डर आह्वान गरेको थियो जुन नेपालमै अहिलेसम्मकै सबैभन्दा ठूलो घारको टेन्डर हो । रुपामा मोरी पालन ९० प्रतिशत सफल भएको छ । व्यवसायिक रुपमा मौरी पालन गर्नेको संख्या एक सय भन्दा बढी रहेको उनी सुनाउछन् ।
‘मह खेतीमा लाग्ने किसान पर्याप्त मात्रामा हुनुहुन्छ । यो वर्ष पनि हामीले टेन्डर आह्वान गरेका छौं । गाउँपालिकाको किसानको ठूलो आम्दानीको स्रोत नै अहिले मह खेती बनेको छ ।’ पालिकाले ०७९÷०८० सालमा पहिलो पटक घारको टेन्डर आह्वान गरेको थियो । हाल ८०÷८१ मा समेत नियमित कार्यक्रमको रुपमा राखेको र मह खेती गर्न चाहने किसानलाई घार वितरण गर्ने उनको भनाइ छ । चरण, अर्गानिक उत्पादन र उत्पादित महको प्रशोधनसहित विक्रिवितरणको सवालमा समेत पालिकाले तालिम प्रदान गर्दै आइरहेको छ । पालिकाले न्युनतम समर्थन मुल्य तोकेरै त्यसको बजारिकरण गर्दै आएको छ ।
रुपामा सेराना जातको मौरीबाट मह उत्पादन हुँदै आएको रुपामा दुई हजार दुइ सय बढी मौरी पालक किसान रहेका छन् । जहाँ तीस घारदेखी माथि व्यवसाय गर्ने एक सय भन्दा बढी रहेका छन् भने दश घारदेखी सय घारसम्म मौरी पाल्ने किसान पाँच सयको हारहारिमा रहेका छन् । उनीहरुले नियमित रुपमा व्यवसाय बढाउँदै जाने काम भइराखेको उनी सुनाउछन् । ‘हाम्रोमा वार्षिक १५ लाखसम्म आम्दानी गर्ने किसानहरु पनि छन् । पाँचदेखी १५ लाखसम्म आम्दानी गर्ने नै एक सयभन्दा बढी किसान हुनुहुन्छ । यो नियमित आम्दानीको रुपमा समेत विकास हुँदै गइरहेको छ । मौरी खेती बढी झन्झट नहुने हुँदा किसानको आकर्षण पनि बढेको महसुस हामीले गरिरहेका छौं’ उनले भने, ‘मोरी पालनले हाम्रो क्षेत्रमा अर्गानिक तरकारी खेतीमा समेत वृद्धि हुँदै गइरहेको छ । विषाक्त औषधिको प्रयोगले मौरीलाई समस्या हुने गर्दा किसानहरुले विषादीको प्रयोग गर्नै परेमा समेत अति न्युन गरेका छन् जसका कारण स्वस्थ तरकारीहरु पनि उत्पादन हुँदै आएका छन् ।’
मौरीको पालनले जैविक विविधता उत्पादनमा विभिन्न किसिमका सहयोग गर्दै आइरहेको उनले बताए । रैथाने बालीको संरक्षण समेत हुँदै आएको छ । पालिकाको किसानको समस्यालाई निराकणका लागि पालिकाले समेत समन्वय गरिराखेको ओझाको भनाइ छ । हाइटेन्सन लाइनबारेमा आफुहरु पनि चिन्तित रहेको सुनाउँदै यसका लागि कसरी हुन्छ सहजीकरण गर्ने उनले सुनाए । कृषि विकास शाखा प्रमुख प्रकाश धानकुले मौरी पालनले आम्दानी मात्र नभइ तरकारीमा समेत विषादी रहित बनाउँदै गइरहेको सुनाए ।
‘घरमा खेतीमा विषादी प्रयोग गर्दा हामीलाई विस्तारै असर देखिन्छ तर, मौरीहरुमा त्यसले तुरुन्त असर देखिन्छ जसका कारण उनीहरु मर्छन् त्यसैले पनि किसानहरुले विषादीको प्रयोग अति न्युन गर्ने गरेको हामीले पाएका छौं’ उनले भने, ‘रुपाको जंगल मौरीका लागि उपयुक्त देखिएका छन यहाँका रुखहरु मौरीका लागि उत्तम छन्, कलकी चिउरीको विरुवा मौरी पालनका लागि वितरण गरेको छ ।’ चुनौति भनेको किराको समस्या देखिएको छ । मैन पुतलिको समस्या देखिएको छ । चिनी चास्ने अफ सिजनको बेला बलियो बनाउन चिनी राम्रो दिनुपर्ने देखिन्छ । अफसिजनको बेला बलियो बनाए सिजनमा राम्रो मह उत्पादन हुने उनी बताउछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->