बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संभावना चिनेर अधिकतम सदुपयोग गर्नु नै शिक्षा– प्रधानमन्त्री ओली

संभावना चिनेर अधिकतम सदुपयोग गर्नु नै शिक्षा– प्रधानमन्त्री ओली


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८१, बिहिबार

पाेखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिमा रहेको संभावनलाई चिनेर त्यसको अधिकतम सदुपयोग गर्नु नै शिक्षा भएको बताएका छन् । पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई विहीबार सम्बोधन गर्दै विश्वविद्यालयको कुलपति समेत रहेका ओलीले दीक्षित विद्यार्थीलाई आत्मविश्वास साथ स्वदेशमै बसेर काम गर्न अनुरोध गरे ।

देशलाई सुन्दर, समृद्धि र जनतलाई सुखी बनाउन मेरो सपना रहेको भन्दै उनले यसमा सबैले साझा संकल्पका रुपमा लिएर केही गर्नसक्छु भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए । ‘बाटोमा हात्ती भेटेमा त्यसलाई समाएर तालिम दिएर माउते भएर टाउकोमा चढेर हिड्न सक्नु पर्छ’, ओलीले भने, ‘हात्ती देखेर भाग्नु हुदैन ।’ उनले दीक्षित विद्यार्थीलाई देशभक्त हुनुपर्ने र स्वाभीमानी नागरिक हुनुमा गर्व गर्नुपर्ने बताए । तर दास मनोबृत्ति राख्न नहुने भन्दै ओलीले कुनै पनि देशको सार्वभौमसत्ता सानो ठूलो नहुने जनाए । हामी भन्दा १५३ देश साना रहेको भन्दै उनले नेपाल कसरी सानो भयो भन्ने प्रश्न गरे ।

नालान्दलगायत १० वटा विश्वविद्यालय २८ सय वर्ष अघि नै नेपालमा रहेको भन्दै उनले शिक्षाको पुरानो परम्परा र ज्ञानको सुरुवात नेपालबाटै भएको बताए । हाम्रा पूर्वजले नौ ग्रह छन भनेर पत्ता लगाएको र पछि आएर त्यसलाई विज्ञानले पुष्टी गरेको सन्दर्भ उनले निकाले । गणितीय विद्या, औषधी विज्ञान, आधुनिक चिकित्सा विज्ञान (सर्जरी विद्या), दर्शन शास्त्र, योग यही भूगोलबाट सुरु भएको भन्दै उनले शिक्षा, ज्ञान, गणीत, खगोल शास्त्रको जानकारी भएको ठाउँका हामी सन्तानका लागि देशमै केही गर्ने संभावना भएको बताए । ‘नेपालीमा पोटेन्सियल छ, यही धर्तीमा पोटेन्सियल छ । प्रकृतिमा रहेको संभावनालाई चिनेर त्यसको अधिकतम सदुपयोग गर्नु नै एजुकेशन हो’ उनले भने, ‘हामीमा प्रतिस्पर्धि भावना र आत्मविश्वास हुनुपर्छ । इमान्दारितासाथ पढेकाले तपाई सफल हुनु भएको छ, त्यसैले तपाइको ज्ञान यही भूमीमा उपयोग गर्नुपर्छ ।’

इमान्दारिको फलमात्र सफल र श्रेययुक्त हुने भन्दै उनले सकरात्मक र समाजपयोगी कुरालाई मात्र सफलता भनिने उनले बताए । ‘आफुलाई मात्र राम्रो गर्नुलाई सफलता मानिदैन । सफलता इमान्दारले मात्र पाउछ । बेइमानीले पाउँदैन’, उनले भने, ‘बेइमानीले केही लुट्न सफल भए पनि त्यो चरम असफल हो । त्यो थाहा पाएपछि जेल जानुपर्छ ।’ पोखरा प्राकृतिक रुपमा मनोरम मात्र नभई व्यवसायिक, उद्यम, शिक्षा, स्वास्थ्य लगायत हिसावले अघि बढेको र यसले गण्डकी प्रदेशलाई मात्र नभई सिंगो नेपाललाई नै अघि बढ्ने बाटो देखाएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले शिक्षाविद् जोर्ज जोन शिक्षा क्षेत्रको आदि व्यक्तित्व रहेको बताएका छन् । विद्यार्थीलाई यो सफलताको लागि बधाइ तथा शुभकामना उनले दिए ।

 

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले २०१९ सालमा पोखरालाई दुर्गम क्षेत्र भनेर कलेज खोल्न नदिएको स्मरण गर्दै अहिले यति धेरै विश्वविद्यालय, महाविद्यालय र विद्यालय हुँदा खुशी लागेका बताए । त्यतिबेला पोखराको जनसंख्या ५ देखि १० हजार मात्रै रहेकाले पोखरामा कलेज संचालन हुन नसक्ने तर्क केही रहेको उनले बताए । जोनले दीक्षित विद्यार्थीलाई घर परिवार, समाज र देशलाई सेवा गर्न सक्ने प्रेरणा मिलोस भन्दै शुभकामना र बधाई दिए ।
विश्वविद्यालयको २०औं दीक्षान्त समारोहमा स्नातक, स्नात्तकोत्तर, एमफिल र विद्यावारिधी गरेका ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->