पोखरा/ गण्डकी प्रदेश सभामा कांग्रेस सांसद मुनिन्द्रजंग गुरुङले काम नगर्ने ठेकेदारलाई पटकपटक म्याद थप्ने प्रक्रिया के हो ? भन्दै प्रदेश सरकारसंग प्रश्न गरेका छन् । प्रदेश सभाको विहीबारको बैठकमा शुन्य समयमा बोल्दै गुरुङले यस्तो प्रश्न गरेका हुन् ।
मनाङको नासों गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने दुधखोलामाथिको मोटरेबल पुल निर्माणका लागि ठेकेदार संजीवनी खड्गकृष्ण दी क्याराभान जेभीका ठेकदार चन्द्र थकालीले २०७३ साउनमा सम्झौता गरेको भए पनि अहिलेसम्म पुल नबनेको उनले बताए । ‘पुल निर्माणका लागि सम्झौता गरेको ८ वर्ष पुगे पनि पुल बनेको छैन’, सांसद गुरुङले भने, ‘पटकपटक म्याद थप गर्दा पनि पुल नबनेको र यसले स्थानीय, विद्यार्थी, गोरखाको मनास्लु क्षेत्रबाट लार्केपास गरी आउने पर्यटकलाई निकै सास्ती पुगेकोछ ।’ पुल नबन्नुको कारणबारे प्रभावित जनता र जनप्रतिनिधिले जति पहल गरे पनि ठेकेदारले वेवास्ता गरेको र सम्पर्कविहीन भएको गुरुङले बताए । उनले त्यो ठेकका तोडेर अर्को ठेक्काको प्रक्रियामा जान प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेसकै सांसद अशोककुमार श्रेष्ठले तनहुँ सदरमुकाम दमौलीदेखि घुमाउने घाट हुँदै चितवनको नारायणगढ निस्कने बैकल्पिक सडकको रुपमा रहेको बुद्धसिंह मार्ग छिटो निर्माणको माग गरे । अहिले दमौलीदेखी मुग्लिन हुँदै नारायणगढ जानेभन्दा बुद्धसिंह मार्ग २४ किलोमिटकर छोटो पर्ने भन्दै उनले बिसौं वर्षमा पनि सडक पुरा नभएको उनको भनाई थियो । माओवादी केन्द्रकी कुसुम बुढा पुनले अस्पताल बिकास समितिको अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख बनाउने कुरा बैज्ञानिक नहुने बताइन । उनले १७ वटा समितिको संयोजक रहने जिसस प्रमुखले अस्पतालमा कुर्सी राखेर दैनिक सेवा प्रवाह गर्न नसक्ने जिकिर गरिन् । यसले सेवाग्राहीलाई समस्या सिर्जना हुने भएकाले तत्काल गठन आदेश सच्चाउन माग गरिन् । माओवादीकै दमयन्ती रुचालले भारतको उडिसाको एक कलेजमा बुटवलकी प्रकृति लम्सालको रहस्यम मृत्यु भएको भन्दै घटनाको यथार्थका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराइन । कांग्रेसकी दिलमाया पौविले अन्तराजातिय प्रेम गरेका कारण २०५९ भदौ १७ गते रातीबाट बागलुङको निसीखोला–१ का दिलीप बिक हराएको र अहिलेसम्म नभेटिएको बताइन । उनले सर्लाहीमा भएको अन्तरजातिय विहेपछि भएको क्रुरता ६० लाख दलितमाििथको अन्याय रहेको बताइन । एमालेकी निर्मला थापाले पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा भएको बेलुन विस्फोटको घटनाको उचित छानविनको माग गरिन् ।
कांग्रेसका भोजराज अर्यालले गत असार र असोज महिनामा वर्षाका कारण क्षतविक्षत भएका नागरिकका घर, सामुदायिक भवन, विद्यालय भवन, खानेपानी, सिंचाई, उर्वर जमीन संरक्षणकालागि प्रदेश सरकारले केकस्तो कार्यक्रम अघि सारेको छ भन्दै जानकारीको माग गरे । कांग्रेसकै महेश भट्टराईले अघिल्लो सरकारका पालामा सामुदायिक भवन, क्बल र आमा समुहलाई ५ लाख रुपैयाँ बजेट बिनियोजन भएर बन्न सुरु भएका भवन अलपत्र बनेको बताए । भवनका पिल्लर मात्र ठडिएर बसेको भन्दै उनले भवन कि भत्काउनुस कि सम्पन्न गर्नुस भन्ने जनताको आवाज आएको भन्दै सम्बन्धित मन्त्रालयको ध्याानकर्षण गराए ।
माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले म्याग्दीमा ठेक्का लागेका वहुवर्षीय योजनामा बजेट अभावका कारण निर्माण व्यवसायीले काम छाड्ने अवस्था पैदा भएको भन्दै सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराए । साथै म्याग्दीको मंगला र बेनी सिमानाको फापरखेतमा संघ सरकारसंगको समन्वयमा पक्की पुल बनाउने प्रदेश क्याविनेटबाट निर्णय भएकोका अहिले के भइरहेको छ भनेर सरकारको ध्यानाकर्षण गराए । राप्रपाकी बिन्दु पौडेलले नवलपुरको त्रिवेणीधामदेखि चितवन राष्ट्रिय निकुन्जमा ८ किमी, दुम्कीबासबाट १८ किमी सडक अलपत्र परेको भन्दै कहिले सम्पन्न हुने हो भन्दै जानकारी मागिन् । एमालेकी सीताकुमारी सुन्दासले स्याङजाको हरिनास–४ स्थित मातृभूमी माविमा गत भदौ २२ को वर्षाले ठूलो क्षति भएको, तारजालीले घेरेर पठनपाठन भएको बताइन । योसहित अन्यत्रका स्कुलमा पनि समस्या रहेको भन्दै उनले यस्ता विद्यालयको संरषण र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् । माओवादी केन्द्रकी सुशीला सिंखडाले गोरखा जिल्लाको चुमनुब्रीमा होटल बन्द हुँदा पर्यटकलाई समस्या भएको भन्दै होटल खोल्ने वातावरण बनाउन माग गरिन् । एमालेका श्यामराजा महतले आन्तरिक स्रोतबाट व्यहोर्नेगरी काम भइरहेका पुल बाटोको बिल पास भएर योजनाका बारेमा सम्बनिधत मन्त्रालयमा गई कुरा गर्दा टिप्पणी नउठाउने र ठेकेदारले काम गर्न नसक्ने अवस्थाबारे जानकारी पाउन सकिएला की भन्ने प्रश्न गरे ।
माओवादी केन्द्रका हरिबहादुर भन्डारीले गत असोज २० मा परेको असीनापानीले म्याग्दीको बेनी–२ मा ४० परिवारको धानखेती पुरै क्षति भएको भन्दै यसबारे प्रदेश सरकार जानकार भए पनि कुनै वास्ता नगरेको बताए । उनले पीडित किसानलाई क्षतिपूर्ति दिन सरकारसंग माग राख्दै तनहुँको बन्दीपुर– ६ का वडाध्यक्षले सचिवलाइ कुटपिट गरेको घटनामा पीडितलाई न्याय दिनुपर्ने बताए ।





