पोखरा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा कांग्रेस र एमालेलाई गठबन्धन गरेर देखाउन चुनौती दिएका छन् । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो भनेका हुन् ।
‘अहिले कांग्रेस र एमालेको गठबन्धन रहेको र गत उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबिच गठबन्धन भएको उनले बताए । ‘उनीहरू (कांग्रेस र एमाले) २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु, उनीहरू मिलुन्’, उनले भने, ‘हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपिल छ । तपाईँहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।’ जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने उनले बताए । संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेको भन्दै उनले संविधान संशोधन नै गर्ने हो भने आफुहरु तयार रहेको जनाए । ‘तर, कसका लागि, कसको पक्षमा संविधान संसोधन गर्ने ? यो महत्त्वपूर्ण प्रश्न हो’, प्रचण्डले भने, ‘हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।’
आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको भन्दै उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएको दावी उनको थियो । बिचमा हाम्रो वर्गपक्षधरता कमजोर भएकाले अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा गएको र यसमा दह्रोसँग उभिने उनले बताए ।





