पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले अब २४ सै घण्टा सेवा प्रदान गर्ने भएको छ। २०७९ भदौ २२ गते बहिरङ्ग सेवाको शुभारम्भ गरी सञ्चालनमा आएको अस्पताल २०७९ जेठ ७ गते विधिवत् उद्घाटन भएको थियो।
दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरूको सेवासहित सञ्चालनमा रहेको अस्पतालले २०८१ फागुन १६ गतेदेखि पूर्ण क्षमताका साथ २४ सै घण्टा सेवा विस्तार गरेको हो। अस्पताल प्रशासनका अनुसार बिरामीहरूलाई सहज, सरल र उच्चस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको हो।
अब अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, दन्त उपचार, प्रयोगशाला, एक्सरे सेवा तथा विशेष उपचार सेवाहरू उपलब्ध हुनेछन्। साथै, विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसारोग, छाला रोग, जनरल फिजिसियन, जनरल प्राक्टिसनर, बालरोग, प्याथोलोजी जस्ता रोगहरूको उपचार गराइनेछ। अनुभवी चिकित्सकहरूबाट दन्त उपचार सेवा समेत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ। सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आवश्यक जनशक्ति परिचालन गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जनाएका छन् ।





