सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निसीखोलामा ‘मगर खाम भाषा’ को पढाइ सुरु

निसीखोलामा ‘मगर खाम भाषा’ को पढाइ सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’ को स्थानीय पाठ्यपुस्तक पढाउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नामक पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं. ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।

अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।

पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्यालयमा नेपाली भाषमा पढाइ हुने उनले बताए। अहिले कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको भन्दै शैक्षिकसत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउँछन । सोहीअनुसार पाठ्यपुस्तक छपाइको काम भइरहेको उनले जानकारी दिए।

न्यौपानेले भने, ‘निसीखोलामा विभिन्न जातजातिका बसाइ छ, यहाँ खासगरी वडा नं ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्नुहुन्छ, अन्य वडामा त्यो भाषा बोल्नुहुन्छ, अहिले हामीले लागू गरेको पाठ्यपुस्तकको विषयवस्तु सबै एउटै हो, वडा नं १, २, ३, ४ र ५ का बालबालिकाले नेपालीमै पढ्छन् भने दुईवटा वडाका विद्यार्थीले मगर खाम भाषामा पढ्छन् ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको र पाठ्यपुस्तक प्रत्येक वर्ष छपाइ गर्ने र लागू गर्दै जाने बताए। खाम भाषाको पुस्तक तयार गर्न मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उनको भनाइ छ । पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परे पनि काम समपन्न भएको उनले सुनाए।

पाठ्यपुस्तकमा निसीखोलाको जनजीवन, पर्यटन, परम्परा, संस्कृति, कृषि, पशुपालनलगायत विषयवस्तु समावेश गरिएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषा सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालेको बताए। पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि खाम भाषा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । गाउँपालिकाले भाषा संरक्षणका लागि विज्ञसमेत खटाएर पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन थालेको अध्यक्ष घर्तीमगरले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->