पोखरा/ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको सभापतिमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । उनले ७१६ मत पाएका छन् ।
अध्यक्षका उम्मेदवार अनेरास्ववियुका अनुप न्यौपानेले ४४९, नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले ३४६ र अनेरास्ववियु (क्रान्तिकारी) का आदर्श महत क्षत्रीले १७८ मत पाए ।
सभापतिमा निर्वाचित धामी सिभिल चौथो वर्षका विद्यार्थी हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल समाजवादीमा आवद्ध धामी अध्यक्षमा भने एकल रुपमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका थिए । यसअघि उनी अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस इकाइ सचिव थिए । केही महिना अघिमात्र उनी अखिल समाजवादी प्रवेश गरेका थिए ।
सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का हरिकृष्ण खड्का ९ सय २१ मतसहित विजयी भए । अनेरास्ववियुका विनायक भुवाजीले ७ सय ४ मत पाए । कोषाध्यक्षमा पनि क्रान्तिकारीकै सशिस सापकोटा ६ सय ९९ मत ल्याएर बिजयी भए । अनेरास्ववियुका रोहितकुमार शाहले ५ सय ८७ मत पाए । सदस्यमा अनेरास्ववियुबाट अश्रान्त पहारी (९२६ मत), पूर्णिमा अछामी (८१५ मत), अंकित गैरे (७११), अमृत बस्नेत (७४०) र रुपेश पौडेल (६२२) मत ल्याएर बिजयी भए । सदस्यमा नेविसंघबाट सक्षम भण्डारी (७०३) र अखिल क्रान्तिकारीबाट तिकिता पाठक (६८२) मत ल्याएर सदस्यमा निर्वाचित भए ।





