आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्डको १५७ किमी सडक स्तरोन्नति हुँदै, १९ अर्ब ७५ करोड लागत अनुमान

सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्डको १५७ किमी सडक स्तरोन्नति हुँदै, १९ अर्ब ७५ करोड लागत अनुमान


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८१, बिहिबार

पोखरा/ गण्डकी प्रदेशको राजधानी पोखरादेखि लुम्बिनी प्रदेशको रुपन्देहीको सुनौली नाकासम्मको सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–बुटवल सडक खण्डको स्तरोन्नति हुने भएको छ । राजमार्गको १८२ किमी मध्ये पोखरा–बुटवल १५७.९५ किमी सडक स्तरोन्नति हुने भएको हो ।

सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमाथि राय सुझावको आव्हान गर्दै बुधवार सार्वजनिक गरेको छ। आयोजना सम्बन्धी राय–सुझाव दिन चाहनेले २०८१ चैत १३ भित्र मन्त्रालय, सम्बन्धित पालिकाको कार्यालय र सम्बन्धित जिल्ला समन्वय समितिको कार्यालयमा पठाउन सक्ने भनिएको छ ।

आयोजनाको निर्माण अवधि ४ वर्ष तोकिएको छ भने दीर्घकालिन बिकल्पहरु (भायाडक्ट (पुलको पिलर जस्तै हुने संरचना) सहित, सुरुंग) समेत गरी १९ अर्व ७५ करोड ९० लाख भ्याटसहित बजेटको अनुमान गरिएको छ । पोखराको पृथ्वीचोकदेखि बुटवल उपमहानगरपालिका–३ गोलपार्कसम्म सडक स्तरोन्नति हुनेछ । रुपन्देहीको बुटबल उपमहानगरपालिका, पाल्पाको तानसेन नगरपालिका, तिनाउ, बगनासकाली, रम्भा र माथागढी गाउँपालिका, स्याङजाको गल्याङ, वालिङ, पुतलीबजार, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिका र पोखरा महानगरपालिका सडक बिस्तारबाट प्रभावित हुनेछन् । राष्ट्रिय राजमार्ग रहेको यो सडक स्तरोन्नतिका लागि सडक विभाग, बिकास सहायता कार्यान्वयन महाशाखा प्रस्तावक रहेको छ ।

यो सडकको चौडाई कुनै कुनै ठाउँमा निकै साँघुरो अर्थात् साढे ५ देखि ६ मिटरसम्म मात्रै पनि रहेकाले स्तरोन्नति आवस्यकता देखिएको हो । आयोजनाको मुख्य उद्देश्य सडक खण्डलाई कम्तिमा पनि ७ मिटर क्यारिजवे, सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर र १ मिटरको नालासहितको बाह्रैमास सूचारु रहने २ लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्नुका साथै सडकमा पर्ने पुलहरुको पनि आवस्यकता अनुसार मर्मत गर्नु रहेको छ । सडकको राइट अफ वे ५० मिटर (सडकको बीच रेखाबाट दायाँवायाँ २५ र२५ मिटर) तोकिएको छ ।

हाल यस सडकमा ३२५ पाइप कल्भर्ट, १६ आर्क कल्भर्ट, ४३३ स्याब कल्भर्ट र ३७ वटा पुल रहेकोमा तीनको पनि मर्मत गर्नुपर्ने प्रस्तावमा छ । २९८२ रुख र पोल कटान गर्नुपर्ने, ३५५ व्यक्तिगत घरधुरी, २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा, १५ वटा सार्वजनिक शौचालय, १६ वटा चौतारा, ४६ वटा बिजुलीको पोल, ७ वटा ट्रान्सफर्मर, १३ वटा मठ, मन्दिर र मस्जिद, र एउटा पानी टंयाकी प्रत्यक्ष प्रभाव पर्ने प्रतिवेदनमा छ ।
३८ ठाउँमा भायाडक्ट र ५ वटा सुरुङ र वाइपासको प्रस्ताव गरिए पनि बजेट लागत दोब्बर लाग्ने भएकाले हाललाई यी संरचना आयोजनामा समावेश भने गरिएको छैन् । प्रस्तावित आयोजनाका लागि ५४.१२५ हेक्टर जमीन आवस्यक पर्नेछ । जसमध्ये स्थायी रुपमा ५२.११ हेक्टर र अस्थायी रुपमा २.०१८ हेक्टर जमीन आवस्यक पर्छ ।

सडक स्तरोन्नतिका लागि विभिन्न समयमा पहल हुदै आएको थियो । तर सडक सीमामै सयौं घरहरु बनेकाले अहिलेसम्म काम अघि बढ्न सकेको थिएन । तर ढिलै भए पनि सडक स्तरोन्नतिको प्रक्रियामा जानु सकरात्मक कुरा रहेको बताउँछन् उद्योग वाण्ज्यि महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी । ‘सिद्धार्थ राजमार्ग एसियन हाइवेको एउटा पाटो बनाएर व्यापारिक करिडोरको परिकल्पना पनि गरिएको थियो’, मुल्मीले भने, ‘तर अहिले स्तरोन्नतिमात्रै गर्न लागिएछ । जे भए पनि निर्माणको कामले गति लिओस् ।’ सिद्धार्थ राजमार्गको स्तरोन्नतिसंगै कालीगण्डकी करिडोर पनि चलायमान हुने र कोरला नाकासम्म पुग्न सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->